पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

काठमाडौं । मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई भेन्टिलेटरबाट निकालिएको छ । जोशीको अवस्थामा सुधार आएको र उनी आफैंले सास फेर्न थालेपछि उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जानकारी दिएको छ । उनको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि उनले सामान्य रुपमा सास फेर्न थालेका छन् । ‘यो भनेको अनपेक्षित सुधार हो ।’ डा. झाले भने- ‘जोशीको स्वास्थ्यमा यति चाँडै यति राम्रो सुधार होला भन्ने लागेको थिएन ।’ सोमबार बिहानदेखि उहाँलाई मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो । अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको हो । सुरुवातमा मष्तिष्कघातका कारण उनको बायाँ भागमा प्यारालाइसिस भएको आशंका गरिएको थियो । तर, बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका छन् । तर, प्यारालाइसिस नै नभएको भनेर भनिहाल्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाई छ । बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिएको थियो । यहीकारण पनि जोशीलाई चाँडै भेन्टिलेटरबाट निकाल्न सकिएको डा. झाले बताए ।

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

टीकापुर । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ । मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउँछन् । ‘महिनावारीको समयमा केही साथीलाई पेट दुख्ने समस्या हुन्छ, कसैलाई स्यानिटरी प्याड चाहिएको हुन्छ, विद्यालयमै प्याड पाइन्छ तर साथीहरु शिक्षकसँग माग्न सक्नुहुन्न’, छात्रा जिसीले भनिन्, ‘कक्षाकै एकजना छात्रालाई प्याड वितरणको जिम्मा दिएको भए साथीहरुले माग्न सक्थे । शिक्षक तथा शिक्षिकासँग म महिनावारी भएँ, मलाई प्याड दिनुस् भन्न सकिँदैन ।’ छात्रा आशिका महतो किशोरीमा महिनावारी मात्रै नभएर अन्य खालका समस्या पनि हुने गरेकाले खुलेर समस्या भन्ने वातावरण नभएको बताउँछिन् । ‘किशोरावस्थामा अन्य शारीरिक परिवर्तन, मानसिक तनाव हुन्छ’, आशिकाले भनिन्, ‘कुनै साथीलाई महिनावारीको समयमा दुखाइ हुन्छ, यस्तो बेला विद्यालयमा आराम कक्ष भएको भए राम्रो हुन्थ्यो । कोही साथी घरबाटै तनाव बोकेर आउँछन् । उनीहरुका लागि विद्यालयको वातावरण रमाइलो हुन आवश्यक छ ।” किशोरी सामुदायिक विद्यालयमा छोरीको सङ्ख्या धेरै हुने भएकाले भएका शौचालय पनि किशोरीका लागि पर्याप्त नभएको बताउँछन् । कक्षा ९ मा अध्ययनरत किशोरी सुष्मा विक एकैपटक शौचालयमा चार/पाँच जना छिनुपर्ने बाध्यता रहेको बताउँछिन् । ‘शौचालयमा पानी छ तर छोरीहरुका लागि केही मात्र शौचालय छन् । हामी ६०० छोरी छौँ, अनि शौचालय सफा होला त ?’, सुष्माले भनिन्, ‘महिनावारीको समयमा यी शौचालय प्रयोग गर्न कठिन हुन्छ । महिनावारीको समयमा प्याड व्यवस्थापन कहाँ गर्ने ? पोको पारेर घर ल्याएर फाल्नुपर्ने बाध्यता छ ।’ यद्यपि शिक्षिका भने छोरीहरुले आफूलाई समस्या खुलेरै बताए सहयोग गर्ने गरेको बताउँछन् । महिनावारी वा अन्य समस्या भए खुलरै आउन शिक्षिका बेवना केसी आग्रह गर्छिन् । ‘हामी महिला भएकाले छोरीहरुका समस्या कस्ता हुन्छन् भन्ने ज्ञान छ । उनीहरुलाई हरेक कक्षामा समस्या खुलेर भन्न भन्छौँ’, शिक्षिका केसीले भनिन्, ‘भएका सुविधा दिन, उनीहरुका कुरा सुन्ने, उनीहरुका मनमा गलत कुरा नखेलुन् भनी सचेत छौँ ।’ शिक्षिका पद्मा बम आफूले किशोरीसँग साथीजस्तै व्यवहार गर्ने गरेको बताउँछिन् । ‘उनीहरुका लागि आराम कक्ष, खाजा खाने छुट्टै ठाउँ आवश्यक छ । सामुदायिक विद्यालयमा धेरै सुविधा छैनन्’, उनी भन्छिन्, ‘छोरीहरुलाई महिनावारीको समयमा साइकल चलाएर विद्यालय आउन कठिन हुन्छ । कसैलाई रगत बढी बगेर कक्षामा बस्नै गाह्रो हुन्छ । उनीहरुका यस्ता समस्या समाधानका लागि अभिभावकसँग पनि छलफल गर्ने गरेकी छु ।’ शिक्षिका माया पोखरेल आफूले किशोरीका समस्या बुझेर किशोरीसँग सम्बन्धित क्रियाकलापमा कक्षा लिने गरेको बताइन् । ‘महिनावारीमा सरसफाइ, यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम गरिरहेकी छु’, पोखरेलले भनिन्, ‘किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरुलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन् ।’ विद्यालयलाई छात्रामैत्री बनाउन आफूले पहल गर्ने मोती मावि मोतीनगर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरी बताउँछन् । ‘छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ । हामी सहज वातावरण बनाउन क्रियाशील छौँ’, अध्यक्ष गिरीले भने, ‘अब छोरीहरुका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौँ । हामी विद्यालयमा स्वास्थ्य सचेतनाका लागि पनि गाउँपालिकासँग पहल गर्छौँ ।’ नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा (५) मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । संविधानमा भनेजस्तै शिक्षा आर्जन गर्न छोरीहरुका लागि विद्यालयमा हुनुपर्ने सुविधा भने पुगेको छैन । छोरीहरुको सिकाइ उपलब्धि बढाउन छोरीहरुका लागि छोरीमैत्री वातावरण हुनुपर्छ । कैलालीका अधिकांश विद्यालय किशोरीमैत्री बन्न सकेको देखिँदैन । जानकी गाउँपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख धर्मानन्द कपाडी छोरीहरुका लागि विद्यालयमा पर्याप्त सुविधा दिन नसकेको बताउँछन्। ‘लिकासँग बजेट अभावका कारण हामीले शौचालय, स्यानिटरी प्याडबाहेक अन्य सुविधा दिन नसकेको अवस्था छ । आउँदा दिनमा सबै विद्यालय किशोरीमैत्री बनाउने अभियानमा छौँ’, उनी भन्छन्, ‘शिक्षा पाउनु सबैको अधिकार हो । पढाइका लागि विद्यालयको वातावरण सबैका लागि सजिलो हुन आवश्यक छ । अझ छोरीहरुका लागि थप सुविधा आवश्यक पर्छ । छोरीका लागि घर र विद्यालय दुवै ठाउँमा विशेष वातावरण चाहिन्छ भन्ने कुरामा हामी गम्भीर छौँ । हरेक विद्यालयमा जनचेतना जगाउने खालका कार्यक्रम गर्ने तयारी छ ।’ कैलालीको टीकापुर नगरपालिकाले भने छोरीहरुका समस्या समाधानका लागि सामुदायिक विद्यालयमा साथी शिक्षा कार्यक्रम लागू गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा एक पुरुष, एक महिला शिक्षक, एक छात्र र एक छात्रालाई साथी शिक्षकको तालीम दिएर परिचालन गरेको छ । उनीहरुले विद्यालयमा किशोरावस्थाका समस्या समाधानका लागि छलफल चलाउने, सम्झाउने लगायतका काम गर्ने गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्धन उपशाखा संयोजक बलबहादुर रावलले बताए । ‘हामीले स्वास्थ्य संस्थालाई पनि किशोरकिशोरी मैत्री बनाएका छौँ । हरेक स्वास्थ्य संस्थामा महिलाका लागि महिला र पुरुषका लागि पुरुष स्वास्थ्यकर्मीको व्यवस्था छ’, संयोजक रावलले भने, “किशोरावस्थामा आएका परिवर्तन र स्वास्थ्य समस्या उनीहरुले खुलेर भनुन् र उपचार सेवा लिउन् भन्ने उद्देश्य हो । यो सेवा हरेक साताको शुक्रबार १ बजेदेखि ३ बजेसम्म दिइन्छ ।’ नगरपालिकाले साथी शिक्षक तथा शिक्षिकालाई समस्या भएकालाई उपचारमा ल्याउन, मनो समस्या भएकालाई मनोसामाजिक परामर्शदातासम्म पुर्याउने काम पनि गर्ने गरेको जनाएको छ । रासस

निर्माणाधिन ११३ वटा स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

काठमाडौं । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका हुन् । स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरु निर्माणाधिन अवस्थामा छन् । स्वास्थ्य संस्थाहरुको काम सम्पन्नताको आधारमा वित्तीय हस्तान्तरणको रुपमा रकम पठाउने गरिन्छ। अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको र त्यसमध्ये यसअघि २ अर्ब ६९ करोड रुपैयाँ २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको जानकारी दिए । अर्थ मन्त्रालयले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको थियो । र, सोही अनुसार गत मंसीर १५ गते ३ सय ८ वटा स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो ।