मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

काठमाडाैं । मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधन समेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम सुरु भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमबारदेखि तीनदिने मर्म चिकित्सासम्बन्धी तालिम सुरु गरेको हो । आयुर्वेद स्वास्थ्य संस्थाका ३० कविराज र वैद्यलाई सोमबारदेखि तालिम शुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवललाई जानकारी दिए । प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधनसमेत हुने गरेको छ । कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन् । यही विषयमा जानकारी गराउन मर्म चिकित्सासम्बन्धी तालिम सुरु गरिएको हो । दुवै हातमा ११/११ गरी २२ वटा मर्मस्थान हुन्छन् । यसैगरी गोडामा पनि ११/११ गरी २२ नै मर्मस्थान हुन्छन् । यसैगरी पेट र छातीमा १२ मर्मस्थान हुन्छन् । ढाडको भागमा १४ मर्मस्थान हुन्छन् । घाँटीभन्दा माथि ३७ मर्मस्थान हुन्छन् । तिनलाई ऊध्र्वजत्रुगत मर्म भनिन्छ । यसैगरी मानव शरीरमा सधः प्राणहर मर्म १९ वटा हुन्छन् । दुर्घटना वा चोटपटकका क्रममा यहाँ आघात परे घटनास्थलमै मानिसको निधन हुनसक्छ । यस्ता मर्मस्थान टाउकामै सातवटा रहेको कार्यकारी निर्देशक यादवले बताए । यसैगरी घाँटीमा आठ यस्ता मर्मस्थान छन् । गुदा क्षेत्रमा एउटा यस्तो मर्मस्थान छ । शरीरमा क्लान्तर प्राणहर मर्म ३७, विशल्यघ्न तीन, वैकल्य कर ४४ र रुजाकर नामका मर्मस्थान आठवटा हुन्छन् । मर्मस्थानमा प्राणको बास हुने भएकाले आघातका क्रममा मृत्युसमेत हुने गरेकाले चिकित्सकमार्फत मानवसमुदायलाई जानकारी गराउन लागिएको हो । यससम्बन्धी ज्ञान भएमा स्नायु प्रणालीका कारण शरीरमा लाग्न सक्ने रोगबाट बच्न सकिने भएकाले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ । गुर्जोको उपयोगिता र विशेषता पनि सिकाइँदै तालिममा मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने वनस्पति गुर्जोको उपयोगिता, विशेषता र महत्वसमेत सिकाइएको छ । तालिममा सातै प्रदेशका गरी ३० आयुर्वेद स्वास्थ्यकर्मीको सहभागिता छ । तीनदिने तालिम उद्घाटन समारोहमा आयुर्वेदिक वनस्पति गुर्जोका विषयमा विशेष छलफल भएको छ । कार्यक्रममा गुर्जोबाट बनेको औषधि धुलो र चियासमेत वितरण गरिएको छ । कार्यक्रममा गत वर्ष चैतदेखि कोरोनाबाट बच्न गुर्जोको धुलो र चिया लिएर हिँडेका अभियानकर्मी कमलबहादुर राजलवटले उपयोगिता, विशेषता र महत्वका बारेमा जानकारी गराएका थिए । उनले कार्यक्रममा सहभागी ५० जनालाई औषधीय गुणले युक्त गुर्जोका सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योगगुरु किशोर जोशीले तालिमका सहभागीलाई योग गराउका थिए । आयुर्वेद र योगलाई नागरिकको स्वास्थ्य सुधारका लागि उपयोग गरिने केन्द्रले जनाएको छ । आयुर्वेदका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई योग शिक्षकका रूपमा पनि जिम्मेवारी दिनेगरी तालिम दिनुपर्नेमा जोड दिइएको थियो । यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घ बनेपा शाखाको ४१औँ वार्षिक साधारणसभाको अवसर पारेर करिब ५०० जनालाई गुर्जोको धुलो र चिया खुवाइएको उनले जानकारी दिए । विसं २०७७ वैशाखदेखि चलाएको गुर्जोको बेर्ना वितरण हालसम्म एक लाख ५० हजारभन्दा बढीकहाँ पुगिसकेको छ । पाँच हजारभन्दा बढी कोरोना पोजिटिभ भएकालाई गुर्जोको चिया खुवाउने, धुलो औषधि वितरण भएको छ । गुर्जोको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्ने, शरीरमा बल प्रदान गर्ने, शरीरको विकारलाई बाहिर निकाली स्वस्थ बनाउने काम गर्छ । गर्भवती महिला र पाँच वर्षभन्दा मुनिका बालबालिकाले भने गुर्जोबाट बनेका परिकार सेवन गर्न नहुने जनाइएको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उनले बताए । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडीबुटी एवं वनस्पति भए पनि तिनको सदुपयोग हुनसकेको छैन । कतिपय जडीबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधि नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ । यसले ठूलो धनराशि विदेशिने गरेको छ । आयुर्वेदिक औषधि बनाएर बिक्री वितरण गरे त्यो पैसा स्वदेशमै बस्नेछ । आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाइ छ । आयुर्वेद औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको भनाइ छ । यस वर्ष वर्षात्का सयमा वाग्मती नदी किनारमा पनि हजारौँको सङ्ख्यामा गुर्जोको बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी राजलवटले उपलब्ध गराएकाे बिरुवा वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी विभिन्न स्थानका सफाइ अभियानकर्मीले रोपेका छन् । उपत्यकाका धेरै स्थानमा एक घरमा एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी निःशुल्क वितरण भएको छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्न पुग्ने गरी वितरण गर्ने गुर्जो अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । शनिबार र बिदाका दिन छुट्टी नमनाई अभियानकर्मी राजलवट निःशुल्क गुर्जो वितरण गर्दै हिँड्छन् । माग गर्ने जतिलाई निःशुल्क गुर्जोको बिरुवा दिन तयार रहेको उहाँले सार्वजनिक घोषणा गर्दै आएका छन् । यस वर्ष पनि वर्षात्मा गुर्जोको बिरुवा रोप्नलाई वितरण गरिने अभियानकर्मी राजलवटले बताए । यसका लागि धुलिखेलमा बेर्ना रोपिएको छ । रासस

दोस्रो चरणको खोप आजदेखि, प्रधानमन्त्रीबाट सुरु गरिने

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनेछन् । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ । यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उनले बताए । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सुचना कार्यक्रम सुरु

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेका छन् । सोही दिन चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गरेका थिए । प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य हो । यस पहल अन्तर्गत एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पुर्वाधार निर्माण गरी हस्तान्तरण गर्दैछ । धुलिखेल अस्पतालका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुँदैछ । अस्पतालले कार्यक्रमलाई सफलता पुर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमन लगायतका कामहरु पनि गर्नेछ । पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम संचालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजार भन्दा बढि घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्दछ । कार्यक्रम संचालनमा आएपछि स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाउनेछन् । अबको चार वर्षमा यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना रहेको छ । कार्यक्रमको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, ‘स्वास्थ्य क्षेत्र हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीमा प्रमुख प्राथमिकतामा रहेको छ । स्वास्थ्य सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने मात्र नभई तत्काल जीवन रक्षा गर्न सक्ने यो कार्यक्रमका लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्न पाएकोमा गौरव गर्दछौं । यो सहकार्य बहुआयामिक छ किनकी यो डिजिटल डिभाइड घटाउने हाम्रो आकांक्षासँग मिल्दो छ । स्वास्थ्य सेवा केन्द्रहरुले गुणस्तरीय सेवामा स्थानिय समुदायको पहुँच सहज बनाउँदै जीवन रक्षा गर्ने साथै उनीहरुको स्रोत र समय बचत गर्न योगदान गर्ने आशा लिएका छौं ।’ धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, ‘प्रविधिको प्रयोगमार्फत दुरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि हो । यस परियोजनामा पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) पनि समावेश गरिएकोले यो यस प्रकारको पहिलो र नयाँ कार्यक्रम हो । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले खुला हृदयका साथ सहकार्य गरेकामा हामी धेरै खुसी छौं । चाँडै भन्दा चाँडै हाम्रा स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन उपकरणहरु जडान गरी सेवा प्रदान गर्न हामी उत्साहित छौं ।’ टेलिमेडिसिन हस्तान्तरण र केन्द्रको उद्घाटनको अवसरमा बोल्दै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. राम कण्ठ मकाजु श्रेष्ठले भने, “यस नवीन कार्यक्रमले ज्ञानलाई पनि हेर्न सकिने बनाउन सकिन्छ भनेर सिद्ध गरेको छ । स्वास्थ्य सेवामा पहुँच नभएकाहरुसम्म पुग्न अनि हाम्रो २५ वर्षअघि देखिको परिकल्पना अनुसार ग्रामीण र दुर्गम भेगका जनताका घरदैलोमा नै सेवा प्रदान सबल बनाउने यो सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौं ।” यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पिएचपी) गरी दुई क्षेत्रमा केन्द्रित भई संचालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसंग सिधै सम्पर्क स्थापित गराई स्थानिय जन समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेछ । पिएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले पर्सनलाईज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धि नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् । पिएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरु भन्दा बाहिर समेत लाने उदेश्यका साथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो । एनसेलले साउन २०७६ मा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ ।