पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडाैं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ । पहाडी भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव सात डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव शून्य र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियस छ । रासस

इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण

काठमाडाैं । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरे । सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्र स्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताए । अस्पतालका निर्देशक डा शाक्यले कोभिडका कारण लगभग १० महिना आर्थिकरुपमा थला परेको अस्पतालले सामग्री पाउँदा थप आवश्यक सेवा दिन सक्ने भएको जनाए । एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ । त्यस्तै इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ ।

निजी क्षेत्रले खाेप भित्राउन पायाे अनुमति, ७ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रलाई खोप भित्राउने अनुमति दिएको छ । सरकारले २० प्रतिशत नागरिकलाई निशुल्क खोप प्रदान गरेपछि मात्र निजीलाई खोप भित्राउने अनुमति दिने बताउँदै आएको थियो । तर सिरिम इन्स्टिच्युट अफ इन्डियासँग अग्रिम भुक्तानी भएकाे १० लाख डोज खाेप समेत समयमा नआउने भएपछि सरकारले निजि क्षेत्रलाई खोप भित्राउने अनुमति दिएको हो । सरकारले गत फागुन ५ गते प्रति डोज ४ डलरका दरले सिरिम इन्स्टिच्युट अफ इन्डियासँग सम्झाैता गरेकाे थियाे । औषधी व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै निजीहरुको खाेप भित्राउन अनुमतिका लागि इच्छुकलाई ७ दिनभित्र अनुमति दिन भनेकाे छ । विज्ञप्तीमा मुनाफा कम्तीमा १० प्रतिशत कायम हुनेगरी लागत विवरण उल्लेख गर्नुपर्ने भनिएकाे छ ।