आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउदैँ विज्ञप्ति निकालेर प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन–प्रसारण गरेका थिए । वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका र सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पर्यटन विभागले हरेक आरोही दलको आरोहण गतिविधि, घटना र महत्वपूर्ण समाचारका लागि हरेक समूहका लागि एक÷एक सम्पर्क अधिकृत खटाइएको छ । उनीहरुले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।’ आधिकारीक निकायबाट कुनै जानकारी प्राप्त नभएको अवस्थामा सरकारी निकायसँग समन्वय र सम्पर्क नगरी भ्रमपूर्ण र पर्वतारोही, पर्वतारोहीका परिवारमा त्रास फैलाउने गरी अपुष्ट सूचना प्रकाशन नगर्न तथा आधिकारिक निकायबाट प्रमाणित सूचना मात्रै प्रकाशित गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध पनि गरेको छ । साथै प्रतिकूल अवस्थामा रहेका पर्वतारोही र पदयात्रीलाई उद्धार गरी सुरक्षित गन्तव्यमा पुरयाइ आवश्यक व्यवस्थापन गर्न पर्यटन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा कोभिड सङ्कट सहजिकरण एवम् समन्वय एकाइ गठन गरिएको मन्त्रालयले जनाएको छ । वसन्त यामको सगरमाथा आरोहण शुक्रबार साँझ कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जना शेर्पा समूहले रोप फिक्सिङ (सगरमाथामाको चुचुरोमा डोरी टाँग्ने) गरेपछि औपचारिक रुपमा व्यवसायिक आरोहण सुरु भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । यस पटकको आरोहणमा कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोडेर सगरमाथाको २५ औँ पटक आरोहणको विश्वकीर्तिमान कायम गरेका छन् ।
बागलुङकाे धवलागिरि अस्पतालमा शय्या र अक्सिजनको अभाव
बागलुङ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्ष (आईसियू)मा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् । कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ । चिकित्सकीय सेवा पनि न्यून जनशक्तिका भरमा छ । तत्काल शय्या नथप्ने हो भने नयाँ आउने बिरामीले उपचारै नपाउने स्थिति छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले भने, ‘शय्यासँगै अक्सिजनको पनि अभाव छ, यसरी नै सङ्क्रमित बढेमा अवस्था चिन्ताजनक हुने देखिन्छ ।’ उनका अनुसार पछिल्लो समय भर्ना भएका अधिकांश बिरामीलाई उच्च मात्रामा अक्सिजन दिनुपर्ने अवस्था छ । ‘अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक ३५ देखि ४० सिलिण्डरसम्म अक्सिजन व्यवस्थापन भएपनि त्यो अपुग छ’, मेसु पाखरेलले भने, ‘चौबीसै घण्टा सङ्क्रमितलाई हाइ फ्लो अक्सिजन दिएर उपचार गरिरहुनपर्छ ।’ अस्पतालको प्लान्टले नधानेपछि अक्सिजन भर्न सिलिण्डर पोखरा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सङ्क्रमितलाई अक्सिजन दिन सिलिण्डरकोसमेत अभाव देखिएको छ । श्वासप्रस्वासको समस्या लिएर आउने सङ्क्रमित बढेसँगै अक्सिजन अपुग हुन थालेको हो । अस्पतालले यथाशक्य चाँडो पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा सघाउन गण्डकी प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग माग गरेको छ । अघिल्लो वर्ष आइसोलेसन कक्षमा ५० शय्या पु¥याउने भनिएपनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । ‘अस्पताल भवनको सि ब्लक निर्माणमा ढिलाइ हुँदा पनि समस्या भएको छ, आइसोसेलन क्षमता बढाउन अन्यत्र संरचना नै छैन’, मेसु पोखरेलले भने । अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीकोसमेत कमी छ । दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृत र दश नर्स दिनरात नभनी उपचारमा खटिएका छन् । गम्भीर लक्षणसहित अस्पताल आउने सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल शैय्या, अक्सिजनलगायतका स्वास्थ्य उपकरण र सेवा थप्नुपर्ने आवश्यकता देखिन्छ । अस्पतालमा जम्मा तीन शय्याको सघन उपचार कक्ष (आईसियू) र दुई वटा भेन्टिलेटर छन् । स्थानीय तहमा भएका कोभिड अस्पतालमा सामान्य अवस्थाका सङ्क्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामस्थित धवलागिरि अस्पतालमै ल्याउनुपर्ने बाध्यता छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । कोरोनाका कारण जिल्लाका १४ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरले जानकारी दिए । बिहीबार मात्र धवलागिरि अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएको थियो । पछिल्ला दिनमा जिल्लामा कोरोना सङ्क्रमण तीव्र बनेको छ । आजै थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण बढ्दै गएपछि आजैदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालनामा स्थानीय प्रशासनले कडाइ गरेको छ । स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका कामलाई अघि बढाएका छन् । रासस
कांग्रेसको पर्वत पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाइँदै
फाइल फाेटाे पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताएका छन् । सुविधासम्पन्न यो भवनमा ५० शय्यासम्म राखेर सङ्क्रमितको उपचार गर्न सकिने उनको भनाइ छ । सदरमुकाम कुश्माबजारकै मुख्य भागमा रहेकाले यो भवनमा अस्पताल बनाउँदा सवैलाई सहज हुने जोशीले बताए । पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी अस्पताल हटाएपछि अहिलेसम्म कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन । रासस