थप ६ हजार ४९१ जनाले जिते कोराना, पौने ७ लाखले लगाए दोश्रो मात्राको खोप
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ४९१ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । यससँगै नेपालमा ४ लाख ४७ हजार ४४६ जनाले कोरोनामुक्त भएका छन् । जुन कूल संक्रमितमध्ये ७९.७ प्रतिशत निको भएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ६६२ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार १७ हजार ४८० जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै, हालसम्म पोजेटिभ केशहरू कूल ५ लाख ६१ हजार ३०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ११४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ३८६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ६ लाख ८९ हजार ५१६ जनाले दोश्रो चरणको खोप लगाएका छन् ।
नर्भिकले घोषणा गर्यो सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’, रेट कति ?
काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ । कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको हाे। अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको हो । योसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीहरुले पनि कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर पाएका छन् । नर्भिक अस्पतालले २ प्रकारका प्याकेज घोषणा गरेको छ । सस्तोदर रेटको प्याकेज ७५०० रूपैयाँमै उपलब्ध गराइने अस्पतालले जनाएको छ । यो प्याकेजअन्तरगत बिरामीको सिबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ । यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ । यस्तै, चेस्ट एक्स रेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ । सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार ५०० रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक पनि गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ । यस्तै, सोझै अस्पतालमै आएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ । नर्भिक अस्पतालले केही दिनअघि मात्रै कोभिडपछि बिरामीमा विभिन्न समस्या देखिने क्रम बढेको निश्कर्षसहित त्यस्ता बिरामीलाई लक्षित गरी ‘पोस्ट कोभिड क्लिनिक’को सुरुवात गरिसकेको छ । सोही क्लिनिकमा बिरामीहरुले प्याकेजअन्तगरतको सेवा पाउनेछन् । नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ । पछिल्लो समय मृत्यदर पनि बढ्दो छ । कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्छने । यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल जान उनले सुझाव दिएका छन् ।
सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन निमाण
काठमाडौं । लितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो । ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग गर्न सम्भव नभएका मानिसलाई दृष्टिगत गरी सुनाकोठीस्थित पोषण पुनस्र्थापना गृह र बागडोलस्थित ज्यापू समाजको भवनमा विना शुल्क आइसोलेशनको सुविधा दिइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘मुलुकमा हाल कोरोनाको सङ्क्रमण दर घट्दै गएकाले मात्रै यी दुई ठाउँमा कोभिडका बिरामी राख्ने व्यवस्था गरेका छौँ, यदि बिरामी दर बढ्दै गएमा पाटनढोकास्थित पाटन माविमा समेत आइसोलेशनको व्यवस्था गर्ने सोच अघि बढाइसकेका छौँ ।’ उक्त गृहमा ५० र समाजमा ११० गरी कूल १६० क्षमताको आइसोलेशन कक्षबाट बिरामीलाई निःशुल्क सुविधा दिइरहेको महर्जनले जानकारी दिए । गृहमा आज मात्रै ३५ जनाले उपचार सेवा लिइरहेका नेपाल युथ फाउण्डेशनका कार्यकारी निर्देशक राजु धमलाले जानकारी दिए । उनले भने, ‘यहाँ चार हाई डिपेनडेन्सी युनिट (एचडियु) को व्यवस्था गर्नाका साथै अक्सिजनसहित दुई मेडिकल अफिसर तहका चिकित्सका साथमा आवश्यक स्वास्थ्यकर्मीले सेवा गरिरहनुभएको छ, हिजोसम्म करीब ११० ले उपचार सेवा लिएर गइसके ।’ उक्त स्थानमा आउने बिरामीमध्ये कसैलाई आइसियु सेवा आवश्यक परेमा कार्यालयको एम्बुलेन्समार्फत अस्पतालसमेत पु¥याइदिने गरिएको छ । यसैगरी, ज्यापु समाजमा हाल ३३ बिरामीले उपचार सेवा लिइरहेका ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । त्यसैगरी सो ठाउँमा उपचार गर्न आउने बिरामीमा मनोसामाजिक त्रास भेटिँदा परामर्शदाताको व्यवस्थासमेत गरिदिएको महानगरपालिकाले जनाएको छ । यसअघि गृहले मुलुकमा पहिलो लहरको कोरोना महामारी भित्रिँदा खाडी मुलुकबाट स्वदेश फर्कने महिलाका स्वास्थ्यलाई ख्याल गरी क्वारेन्टिनको सुविधा दिइएको धमला बताउँछन् ।