खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार

फाइल फाेटाे काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छिन् । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिंगालाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्दै राजदूत खतिवडाले नेपालको पछिल्लो अवस्था र खोप योजनाका बारेमा विस्तृतमा जानकारी गराएकाे बताए । राजदूत खतिवडाले अमेरिकी सरकारसँग नेपालले अष्ट्राजेनिका खोप अधिकतम प्राप्त गर्ने अपेक्षा राखेको समेत मासिंगालाई बताएका थिए । अमेरिका र नेपालबीच लामो समयदेखि द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै उहाँले कोरोना भाइरस विरुद्धको लडाइँमा पनि अमेरिकाको महत्वपूर्ण सहयोगको अपेक्षा नेपालले गरेको बताए । साथै उनले नेपाल सरकारले जोन्सन एण्ड जोन्सनको खोप जानसिन इन्फेक्सियस डिजिज एण्ड भ्याक्सिन्स फर्मास्यूटिकल्स कम्पनीसँग खरीद गर्ने योजनमा रहेको मासिंगालाई जानकारी गराएका थिए । राजदूत खतिवडासँगको भेटमा मासिंगाले अमेरिकी सरकारले खोपको प्रक्रियालाई तदारुकताका साथ अगाडि बढाउने बताए । भेटमा उनले नेपालमा कोरोना भाइरसले पारेका क्षतिका विषयमा गहिरो सहानुभूति राख्दै कोभ्याक्स अन्तर्गतकाे खोप कोभ्याक्स र द्विपक्षीय सम्झौताअनुरूप नेपालले प्राप्त गर्ने अंश सम्भव भएसम्म छिटो उपलब्ध गराउने बताएका थिए । रासस

जनकपुरधामको प्रादेशिक अस्पताल सुधारका लागि उच्चस्तरीय समिति गठन

धनुषा । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ । अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढेपछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्थाबारे जानकारी लिन सरोकारवालासहित अस्पतालका वरिष्ठ चिकित्सकलाई बैठकमा बोलाएका थिए । मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिलेसम्म र कसरी सुध्रिने भन्ने प्रश्नको जवाफ माग्नु भएपछि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) लगायतका चिकित्सकले अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपायबारे आ–आफनो धारणा राखेका थिए । चिकित्सकहरुले दिएको सुझावहरु सङ्कलन गर्दै अस्पतालको समग्र सुधारका भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकको सल्लाहमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ । चार दिन समयसीमा पाएको समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठानअन्तर्गत गएपछि गरिनुपर्ने संरचनागत परिवर्तनलगायत अन्य सुविधालाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ । बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, सचिव यमप्रसाद भुषाल, समाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सञ्जय सिंहसहित समितिका पदाधिकारी, आपूर्ति महाशाखाका निर्देशक डा प्रमोदकुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक झा, अस्पतालका मेसु डा प्रमोद यादवसहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रासस

सबै सरकारी अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले सबै सरकारी अस्पतालमा पत्रकारहरुलाई उपचार नि:शुल्क गरिने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यससँगै पत्रकार महासंघका सदस्य रहेका सबै पत्रकारले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने भएका छन् ।