विपन्नलाई महाकाली अस्पतालमा पिसिआर परीक्षण निःशुल्क

कन्चन्पुर । महाकाली प्रादेशिक अस्पतालमा कमजोर आर्थिक अवस्थाका व्यक्तिको पिसिआर परीक्षण निःशुल्क गरिएको छ । अस्पतालको सामाजिक विकास एकाइबाट सेवा पाउने विपन्न परिवारका व्यक्तिहरुको पिसिआर जाँच निःशुल्क गरिएको हो । यसबाहेक अन्यलाई पिसिआर जाँचको शुल्क आधा घटाइएको छ । यसअघि एक हजार शुल्क लिने गरिएकामा अहिले यसलाई घटाएर ५०० बनाइएको छ । अस्पताल व्यवस्थापन समितिको केही दिनअघि बसेको बैठकबाट पिसिआर जाँच शुल्क हेरेफेर गरिएको हो । कमजोर अवस्थाका व्यक्तिलाई जाँच निःशुल्क गर्न आग्रह हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सामाजिक विकास एकाइबाट सेवा लिने सबै सेवाग्राहीको निःशुल्क र अन्यलाई ५०० शुल्क लिने गरी निर्णय गरिएको बताए । ‘आर्थिक रुपमा कमजोर अवस्थाका बिरामीले शुल्क तिर्नु पर्दैन । अन्यले पनि ५०० मात्रै तिर्नु पर्छ’, उनले भने, ‘यसबाट सेवाग्राहीलाई फाइदा हुन्छ ।’ अस्पतालको सामाजिक विकास एकाइबाट आर्थिक रुपमा कमजोर भएका समुदाय, अपाङ्गता भएका व्यक्ति, एकल महिला, सीमान्तकृत, पछाडि पारिएका समुदायका व्यक्तिलाई निःशुल्क रुपमा सेवा दिने गरिएको छ । कोरोना भाइरस महामारीको पहिलो लहर फैलिएपछि गतवर्ष अस्पतालमा पिसिआर मेसिन जडान गरिएको थियो । भीमदत्त नगरपालिकाले अस्पतालका लागि पिसिआर मेसिन खरीद गरेको थियो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा पहिलोपटक भीमदत्तले मेसिन खरीद प्रक्रिया अघि बढाएको थियो । त्यसपछि अन्य तह पनि मेसिन खरीदमा लागेका थिए । कोरोना सङ्क्रमित बिरामीको पिसिआर जाँचका लागि कैलालीको धनगढी जानु पर्ने बाध्यता हटाउन अस्पतालमा मेसिन जडान गरिएको थियो । पिसिआर जाँचबाट आउने शुल्क पिसिआर सञ्चालनमा खर्च हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए । ‘मेसिन सञ्चालन र व्यवस्थापनमा यो शुल्क खर्च हुन्छ’, उनले भने । महाकाली अस्पतालमा हालसम्म तीन हजार ९४६ जनाको पिसिआर जाँच गरिएको छ । त्यसमध्ये दुई हजार जनामा सङ्क्रमण देखिएको छ । रासस

सङ्क्रमण घटेसँगै बाँकेका अस्पतालमा शय्या खाली

राँझा । कोरोना संक्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका श्यया खाली भएका छन् । लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० श्ययामध्ये ५२ श्यया खाली छन् । अठहत्तर बिरामी भर्ना भएकामा ७० सिकिस्त छन् । यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल श्ययामध्ये १३ श्यया र युनाइटेड अस्पतालका १५ श्ययामध्ये १० श्यया खाली भएका छन् । बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । रासस

मंगलबारदेखि काठमाडाैं महानगरकाे प्रत्येक वडामा खोप केन्द्र संचालन गरिने

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक/एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो । उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करीब १ लाख व्यक्ति लावान्वीत भएका थिए ।