मंगलबार १७७ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो । असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढे

तनहुँ । दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा. दिवस ढकालले जानकारी दिए । दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । सङ्क्रमणजन्य रोग भएकोले एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएकोले सुरक्षित हुन होम आइसोलेशनमा बस्ने र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए । उनले भने,’पानी उमालेर खान र आराम गर्न सुझाब दिइएको छ ।’ टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकोले सफा खाने पानी पिउन र स्वास्थ्यकर खाना खाना आग्रह गरेको उनले बताए ।

पुष्पताराले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई दियो एएमएल इसुजु

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनले बीरगंजको परवानीपुरस्थित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताललाई एएमएल इसुजु बस हस्तान्तरण गरेको छ । असहाय, गरीब तथा सेवाबाट बञ्चित बिरामीहरुलाई यातायातको सहज बनाउन फाउण्डेशनले उक्त बस हस्तान्तरण गरेको हो । साथै उनीहरुको दृष्टि प्रदान गर्न सहयोग हुनेमा सेवा फाउण्डेशन विश्वस्त रहेको यस फाउण्डेशनका संरक्षक मनोज केडियाले बताए । साथै, उनले सो अस्पताल बीरगंजलाई उपचारमा अझ गुणस्तर कायम गरी बढीभन्दा बढी आँखा बिरामीहरुको उपचार सहज र सरल रुपमा गराउन तथा सेवा सुविधाहरुको पहुच बिस्तार गरी हरेक बिरामीहरुलाई उपचार पश्चात खुशीको सास फेर्ने र पिश्व हेर्ने दृष्टि प्रदान गर्न आग्रह गरेका छन् । फाउण्डेशनका अध्यक्ष तारचन्द केडियाले यो एएमएल इसुजु बसद्धारा आम सेवाग्राहीलाई सेवा लिन सजिलो हुने आम आँखा उपचार गर्न आउने मानिसहरुले यसको सेवा पाउन सजिलो हुने बताएका छन् । पुष्पतारा केडिया सेवा फाउण्डेशन बिशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ५ बर्ष अगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको छ । विशुद्य समाजिक सेवा भावले महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्धारा स्थापित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल नारायणी अंचलकै जेठो आँखा अस्पताल ई.स. १९७५ सालमा स्थापना भई हालसम्म अन्बरत सेवा दिदै आएको र यस अस्पतालले नेपालकोमात्र होईनकी भारतिय आँखा रोगीहरुलाई सेवा दिदै नेपालको अन्धोपन निवारणमा उल्लेखनिय योगदान पुरयाएको छ ।