यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्रमणका कारणले एक/एक सङ्क्रमितको ज्यान गएको छ । सङ्क्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा सङ्क्रमण देखिएको छ । शून्य दशमलव पाँच प्रतिशतमा रहेको सङ्क्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित काठमाडौं जिल्लामा रहेका छन् । शून्य सङ्क्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दास भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताउँछन् । ‘भारतमा दैनिक सङ्क्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्,’ उनले भने, ‘ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक सङ्क्रमण देखिएको छ । ती मानिसले नै सङ्क्रमण सारिरहेका छन् ।’ उनका अनुसार भारतमा सङ्क्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले सङ्क्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि सङ्क्रमण फैलिएको बताइन्छ । नेपालमा पनि अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको सङ्क्रमित भेटिएको छ । उनले बिएफाइभ प्रजातिको सङ्क्रमण फैलिने उच्च दर रहेकाले अहिले सङ्क्रमित बढेको बताए । महाशाखाका निर्देशक डा दासले सङ्क्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् । अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए । रासस

सिभिल बैंकका ग्राहकलाई बिराट मेडिकल कलेजमा विशेष छुट

काठमाडौं । सिभिल बैंकका ग्राहकले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका हुन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन । हाल सिभिल बैंकको १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटीएम रहेका छन् । साथै बैंकले हालसम्म करीब ९५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । यस्तै आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।