बढे डेङ्गुका बिरामी
धादिङ । धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् । बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो । पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ । धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन् । रासस
बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो । अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरूको पनि सेवा समाप्त हुने अवधि नजिक रहेकाले दैनिक स्वास्थ्य सेवा प्रवाहमा अप्ठ्यारो परेको गाउँपालिकाका अध्यक्ष अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘अस्पतालमा चिकित्सक अभाव र स्वास्थ्य सेवा प्रवाहमै समस्या आउने भएपछि स्वास्थ्य सचिवलाई भेटी चिकित्सकको माग गरेका हौँ’, उनले भने । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसहित छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा अस्पताल लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्टविहीन छ । दुई जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययनका लागि बिदामा छन् । हाल तीन मेडिकल अधिकृत कार्यरत छन् । छात्रवृत्तिका लागि गएका दुई चिकित्सकको दरबन्दी प्रदेशमा स्थानान्तरण गरी दुई चिकित्सक नियुक्तिका लागि मन्त्रालयसँग अनुरोध गरिएको अस्पताल व्यवस्थापन समितिका थापाले बताए । ‘अस्पतालबाट सबै विवरणसहित पत्र लेखेर मन्त्रालयमा पठाएपछि उनीहरूलाई प्रदेशमा स्थानान्तरणका लागि सहयोग गर्ने स्वास्थ्य सचिवबाट प्रतिबद्धता आएको छ, त्यसपछि त्यस ठाउँमा अर्को चिकित्सक नियुक्ति हुनेछ’, उनले भने । विसं २०२२ मा स्थापना भएको बन्दीपुर अस्पतालका भवन जीर्ण भएकाले भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन पनि मन्त्रालयसँग माग गरिएको छ । विसं २०७२ को भूकम्पका कारण पनि भवनमा थप क्षति भएकाले सेवा प्रवाहका कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । ‘स्थापनाकालदेखि निर्मित भवनबाट नै हालसम्म सेवा सञ्चालन भइरहेको र भवन जीर्ण भइसकेको अवस्था छ, नयाँ भवन निर्माण गर्नुपर्ने आवश्यकता छ’, उनले भने । यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग क्षयरोगी पहिचानका लागि जेनेक्सपर्ट उपकरण माग गरिएको छ । बन्दीपुर अस्पतालमा क्षयरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको र बन्दीपुरमै डिआर होम सञ्चालनमा रहेकाले क्षयरोगी पहिचानका लागि उक्त उपकरण आवश्यक भएको जनाइएको छ । बन्दीपुर अस्पतालमा तनहुँका अतिरिक्त गोरखा, लमजुङबाट पनि क्षयरोगी उपचारका लागि आउने गरेका छन् । रासस
चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो
चितवन । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उहाँले जानकारी दिनुभयो । फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो । कोरोना सङ्क्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेको अधिकृत ढकालले जानकारी दिए । कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमितमध्ये आठजना होम आइसोलेसनमा छन् भने एकजना अस्पतालमा उपचाररत छन् । सामाजिक दूरी कायम राख्ने, मास्क नियमित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, कोभिडविरुद्धको खोप लगाउनेजस्ता कार्य गर्न उनले अनुरोध गरे । जिल्लामा हालसम्म ३३ हजार ५६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पाँच लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप चार लाख ५८ हजार ११८ जनाले र बुष्टर डोज एक लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ । रासस