डाक्टर सन्दुक रुइत विश्वका १ सय प्रभावशालीको सूचीमा
काठमाडौं । आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । विश्वको चर्चित पत्रिका ओप्थामोलोजिस्टले डा रुइतलाई सन् २०२२ को विश्वका प्रभावशाली १ सय व्यक्तिको सूचीमा समावेश गरेको हो । म्याग्जिनले डा रुइतलाई सोधेको ३ वटा प्रश्न र त्यसको जवाफ म्याग्जिनको साइटमा प्रकाशन गरेको छ, जहाँ उनले विगत १० वर्षमा आफु स्लिट ल्याम्प र अप्रेटिङ माइक्रोस्कोपसँग बाँचेको बताएका छन् । त्यस्तै, आगामी ५ वर्षमा एआई प्रविधि बलियो बन्ने र गुणस्तरको लागि सत्यनिष्ठा र सम्बन्धित काममा केन्द्रित हुने कुराले गुणस्तर प्राप्त हुने उनले नयाँ पुस्तालाई सुझाव दिएका छन् । ओप्थामोलोजिस्टले वार्षिक रुपमा विश्वका एक सय प्रभावशालीको सुची प्रकाशन गर्ने गर्दछ । सन् २०२२ को १ सय प्रभावशाली व्यक्ति मध्ये अमेरिकाकी ओप्थामोलोजिस्ट प्राध्यापक पल अस्टिन चान्डलर पहिलो भएकी छन् ।
पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था हुनुपर्छः स्वास्थ्यमन्त्री खापुङ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन् । सोमवार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढीरहेको बताए । उनले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने लक्ष्य सरकारको रहेको बताए । मन्त्री खापुङले वृद्धवृद्धाहरुको माग आँखा र दाँतको उपचारका लागि धेरै हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरेर सरकार अघि बढेको बताउँदै सरकारले निर्माण गर्ने पालिकाका अस्तालमा आयुर्वेदिक चिकित्साको पनि छुट्टै सेवा हुन आवश्यक रहेको जानकारी गराए । मन्त्री खापुङले सरकार जनताको स्वास्थ्यको क्षेत्रमा संवेदनशील रहेको उल्लेख गर्दै सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी रहेको बताए । ‘वैद्यखाना आयुर्वेदको कुरा चलेको छ । मैले सुनेको थिएँ, त्यहाँ १३५ थरिका औषधि उत्पादन हुन्छन् भन्ने अझ त्यहाँ २४५ को संख्यामा औषधि उत्पादन हुन्थे भन्ने कुरा छ । नेपालमा सिंहदरबार वैद्य खाना धेरै पुरानो हो । अहिले त्यसको हालत दुःख लाग्दो छ । नाजुक छ । त्यसको नेतृत्व भर्खरै चेन्ज भएको छ । नेपाल चिकित्सक आयुर्वेद संघका अध्यक्ष नै गएका छन् । अब आश छ यो राम्रो हुनेछ । त्यसमा सरकारको तर्फबाट के गर्नुपर्छ । छलफल गरौँ । धेरुै सुधार गर्नुपर्ने अवस्थाहरु छन् । स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ । सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ । अहिले हामी संघीयताको अभ्यासमा छौँ । प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ । प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ । योजना छ । त्यो योजना अनुसार नै सरकार अघि बढीरहेको छ । सम्भावना भयो भने एउटा स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ, माग त्यस्तो छ । एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ । यसमा सहयोग गर्न सरकार तयार छ ।’ मन्त्री खापुङले भने । मन्त्री खापुङले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवद्र्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको बताए । उनले वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको बताए । रासस
ट्रमा सेन्टरले साउनदेखि २४ घण्टा विशेषज्ञ सेवा दिने
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले २४सै घण्टा बिरामीलाई विशेषज्ञसहिताको सुविधा उपलब्ध गराउने भएको छ । आगामी साउनदेखि बिरामीलाई २४सै घण्टा विशेषज्ञसहितको सुविधा उपलब्ध गराउने सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवले जानकारी दिए । ‘हामीसँग धेरै विशेषज्ञ चिकित्सक छन्’, उनले भने, ‘आफ्नै आन्तरिक स्रोतबाट ती विशेषज्ञ चिकित्सकबाट २४सै घण्टा बिरामीलाई उपचार गर्दछौँ ।’ अस्पतालमा अहिले १०० भन्दाबढी विशेषज्ञ चिकित्सक छन् । ती चिकित्सकलाई पालैपिलो ड्युटीको समय मिलाइनेछ । यस्तै उक्त सेन्टरले अब आफैँ बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्ने भएको छ । यसअघि वीर अस्पतालबाट बिरामी र कुरुवाका लागि खानाको व्यवस्था गरिँदै आइएकामा अबदेखि सेन्टरबाट नै खानाको व्यवस्था गर्न थालिएको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद जोशीले बताए । उनका अनुसार सेन्टरमा दैनिक १५० बिरामीलाई दुई छाक र तिनका कुरुवालाई एक छाक खाना उपलब्ध गराइनेछ । यस्तै सेन्टर अप्रेशन थिएटर र फार्मेसी पनि सञ्चालनको तयारीमा छ । शल्यक्रिया गर्न बिरामीलाई सजिलो होस् भनेर शल्यक्रिया कक्ष नजिक नै सेन्टरले अप्रेशन थिएटर र फार्मेसी सञ्चालन गर्न थालेको पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा जोशीले जानकारी दिए । डा. जोशी हालै ट्रमा सेन्टरबाट धनगढीस्थित गेटा मेडिकल कलेजमा निर्देशकरुपमा सरुवा भएका छन् । ‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा यस्तै सेन्टरले ‘ओरल म्याक्सिलो फेसियल सर्जन’ सेवा पनि सुरुआत गरेको छ । दाँतको माथिल्लो र तल्लो भागको शल्यक्रिया गरेर उपचार गर्नका लागि यस्तो सुरु गरिएको उनले जानकारी दिए । दाँतमा धेरैजसो अग्लो ठाउँबाट खसेर यस्तो समस्या आउने गर्दछ । उक्त सेवाका लागि दुई विशेषज्ञ दन्त चिकित्सकको टोली रहेको छ । यसैगरी अस्पतालले ‘वन स्टेप क्राइसिस म्यानेजमेन्ट’ सेवा पनि सुरु गरेको छ । बिरामीको उपचारदेखि पुनःस्थापनासम्मका लागि सेन्टरले उक्त सेवा सुरु गरेको हो । विसं २०७१ देखि सञ्चालनमा आएको ट्रमा सेन्टरमा दैनिक ४५० बिरामी उपचारका लागि आउने गर्दछन् । घाइतेको उपचार गर्नका लागि स्थापना गरिएको सेन्टरमा २०० शय्या, ११ सघन उपचार कक्ष (आइसियु), ३२ आकस्मिक शय्या रहेको छ । रासस