कानेगुजी सफा गरिरहनुपर्दैन : डा. प्रधानांग
काठमाडौं । डाक्टर जेपी प्रधानांगले सामान्यतया कान सफा गरिरहनुनपर्ने बताएका छन् । उनले कान सफा गर्ने भनेको कानको बाहिरी भाग मात्र भएको बताएका छन् । सामाजिक सञ्जालमा सूचनामूलक सामग्री सेयर गर्दै डा. प्रधानांगले लेखेका छन्, ‘कानभित्र कानेगुजी बनिरहेको हुन्छ, प्राकृतिक रुपमा आँफै निस्कन्छ, सफा गरिरहनुपर्दैन ।’ कानेगुजी फोहोर नभई कानको प्राकृतिक संरक्षण भएको, कानेगुजीमा एन्टिसेप्टिक गुण हुने र त्यसले विभिन्न जीवाणु र ढुसीबाट हुनसक्ने संक्रमणबाट बचाउने डा. प्रधानांगले उल्लेख गरेका छन् । साथै कानेगुजीले किरा र धुलोलाई छेकेर समेत कानलाई बचाउने उनको तर्क छ । केही व्यक्तिहरुमा कानेगुजी अत्याधिक मात्रामा बन्ने र बिस्तारै पुरै कान भरिएर समस्या दिन सक्ने अवस्थामा कानेगुजी नरम गर्ने थोपा केही दिन राखेर चिकित्सकको निगरानीमा कान सफा गर्नुपर्ने उनले सुझाव दिएका छन् । डा. प्रधानांग वीर अस्पतालको नाक, कान घाँटी विभागमा सिनियर मेडिकल अफिसरको रुपमा कार्यरत छन् ।
जर्मन पर्वतारोही नर्भिकको उपचार सेवाको प्रशंसा गर्दै विदेशी मिडियामा छाइन्
काठमाडौं । केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् । नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् । सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आएकी थिइन् । यो पटकको उनको उद्देश्य थियो सगरमाथा आरोहणको । तर, ४००० मिटरको उचाईबाट अगाडि बढ्दै गर्दा उनलाई लेक लाग्यो । स्वास्थ्यमा अनपेक्षितका समस्या एकाएक देखिए । लुक्लाबाट अगाडि बढेको केही दिनपछि उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो । उनले यसअघि पनि नेपालमा हिमालहरुको आरोहण गरिसकेको थिइन् । यसपटक सजिलै हिमाल चढ्ने उच्च आत्मविश्वाससहित आएकी मार्टिनालाई स्वास्थ्यले साथ दिएन । उनलाई हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो । मार्टिनाले लेखेअनुसार त्यहाँ उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहअनुसार थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । ‘काठमाण्डौको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो । मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो । सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो। डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो ।’ उनले स्मरण गर्दै भनेकी छिन्–‘त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सा¥यो । केही दिनपछि औषधि आयो र ज्वरो कम भयो । खान र पिउन मुश्किलले सक्ने भएँ ।’ उनले नर्भिकको उपचार–पद्दति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार ‘अविश्वसनीय’ रहेको भनेकी छिन् । ‘नर्भिकका डाक्टरहरुद्वारा गरिएको चिकित्सा उपचार अविश्वसनीय थियो र नर्सिङ स्टाफको सहानुभूति र हेरचाह महान थियो । मेरो हेरचाह गर्न, मलाई सान्त्वना दिन र मलाई अँगालो हाल्न एक नर्स लगभग चौबीसै घण्टा त्यहाँ तैनाथ हुन्थिन् ।’ उनले भनेकी छिन्–‘बिरामी भएर बेडमा लडिरहँदा निराश थिएँ । तर, नर्भिकका डाक्टर र नर्सको मीठो व्यवहारले मेरो दिमागमा सकारात्मक सोंचको विकास हुन थाल्यो । आफ्नै घरमा बसेर उपचार गरिरहेको जस्तो लाग्न थाल्यो । अर्को शब्दमा भन्दा नर्भिकका डाक्टर र नर्स मेरा लागि भगवान बने ।’ उनी नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी थिइन् । सो अवधिमा पूर्ण रुपमा ठीक भएपछि उनी जर्मनीका लागि उडेकी थिइन् । उनलाई लिन नेपालमा उनका भाई आएका थिए । हाल घरमै थप स्वास्थ्य लाभ गरिरहेकी मार्टिनाले फेरि पनि आफूलाई नेपाल भ्रमणमा जाने उत्कट इच्छा रहेको समेत सो क्रममा बताएकी छिन् । ‘मसँग नेपाल र यात्राको सकारात्मक सम्झनाहरू छन् । म त्यहाँ चौथोपटक पक्कै जान्छु। मलाई अग्लो हिमाल चढ्नु पर्दैन ।’ उनले लेखेकी छिन्–‘नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्रहरू पनि छन् ।’
आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं : मन्त्री गिरी
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्ने बताएका छन् । सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गिरीले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने बताउँदै उनले सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको जानकारी दिए । ‘अहिलेको १ लाखकाे बीमाले केही हुँदैन, यसले कोही यहाँ आउँदैनन्, जस्तोसुकै दीर्घ रोग लागोस् त्यसको निःशुल्क उपचार हुनेगरी त्यसको आधार निर्माण गर्नुपर्छ, आउने आर्थिक वर्षको बजेटसम्म पुग्दा कम्तिमा ५ लाख सम्मको बीमा गर्नेगरी त्यसको आधार निर्माण गर्छौं,’ उनले भने । उनले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भएपनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताएका छन् ।