खोटाङमा ६ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै
खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । वि.सं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ । दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । ‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन’, उनले भने । हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ । ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ’, न्यौपानेले भने । निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्यचौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ । निर्माण कम्पनीको लापरवाहीले निर्माणाधीन स्वास्थ्यचौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्यचौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ । ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ । ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो । ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा. युवराज पौडेलले बताए । रासस
छत्रपाटी चिकित्सालयमा काठमाडौंका वृद्धवृद्धाहरुले अप्रेसन सहितको उपचार निःशुल्क पाउने
काठमाडौं । काठमाडौं स्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा काठमाडौं महानगरभित्र वृद्ध भत्ता बुझ्ने सबै वृद्धवृद्धाहरुले निःशुल्क उपचार पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का अनुसार महानगर र चिकित्सालयबीचमा भएको सम्झौताअनुसार परिचयपत्रको आधारमा सम्पूर्ण सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । प्रमख शाहका अनुसार चिकित्सालयमा वृद्धवृद्धाहरुले विभिन्न प्रकारका अप्रेसन सहित २९ प्रकारका सेवा निःशुल्क प्राप्त गर्न सक्छन् । निःशुल्क प्राप्त गर्न सकिने सेवाहरु निम्न रहेका छन् । २४ सै घण्टा आकस्मिक सेवा ल्याप्रोस्कोपीक शल्यक्रिया सर्जरी फिजिसियन / इन्टरनल मेडिसिन नाक, कान, घाँटी रोग स्त्री रोग पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी) चर्म तथा यौन रोग बाल रोग अल्ट्रासाउण्ड टि.एम.टी/हल्टर अडियोग्राम टिम्पानो मिटर इको मनोचिकित्सा २४ सै घण्टा प्याथोलोजी, डिजिटल एक्सरे, पिसाब नलीको पत्थर चिरफार नगरीकन शल्यक्रिया आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया हाड, जोर्नी र नशा रोग जनरल हेल्थ चेकअप ईण्डोस्कोपी र कोलोन्स्कोपी दन्त रोग मुटु रोग ड्रेसिङ्ग ई. सी. जी. स्त्री रोग शल्यक्रिया र हार्डजोर्नी शल्यक्रिया ।
औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल
काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकालले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले विभागको प्रमुखमा हेरफेर गर्दै ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। विभागमा महानिर्देशक रहेका भरत भट्टराई रहेका थिए । लामो समयदेखि मन्त्रालयमा भूमिकाविहिन रहेका ढकाल साढेदुईवर्ष पछि पुनः विभागको जिम्मेवारीमा फर्किएका हुन् ।