नुवाकोटको खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालन
नुवाकोट । नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको ला आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरिएको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार केन्द्रबाट आँखासम्बन्धी ससाना प्रकृतिका शल्यक्रियासहित आँखा जाँच, मोतियाबिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराइएको छ । आँखाको स्वास्थ्य जाँच गराउन यसअघि नुवाकोटको सदरमुकाम विदुर तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता केन्द्र सञ्चालनमा आएसँगै अन्त्य भएको र यसबाट बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए । केन्द्रमा हाल नेत्र सहायक, अप्टिकलको सुविधा सहित आवश्यक औषधि र चस्मा सेवा उपलब्ध छ । केन्द्र सञ्चालनको लागि फर्निचरसहितको बन्दोबस्ती तादी गाउँपालिकाले मिलाएको हो । एक वर्षसम्मको लागि केन्द्रको आर्थिक व्यवस्थापन तिलगङ्गा आँखा प्रष्तिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको दायित्व हुने र त्यसपश्चात् सम्बन्धित तादी गाउँपालिकालाई हस्तान्तरण गरिने समझदारी भएको छ । नुवाकोटमा यसअघि सामुदायिक आँखा केन्द्रको समन्वयमा लिखुको चौघडा र दुप्चेश्वर गाँउपालिकाको समुद्रटारमा ग्रामीण आँखा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा रहेको छ । रासस
दर्ता नै नभएका चिकित्सकलाई अस्पतालहरुले इन्टर्नसिप दिने गरेको काउन्सिलको आरोप
काठमाडौं । परीक्षण दर्ता विना अस्पतालहरुले चिकित्सकहरुलाई इन्टर्नसिपमा राख्ने गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । माघ १३ गते एक प्रतिवेदन सार्वजनिक गर्दै काउन्सिलले परीक्षण दर्ता विना नै स्नातक तहका चिकित्सकहरुको इन्टर्नसिप गराउने गरिएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । काउन्सिलले विद्यमान ऐन, नियमावली, निर्देशिका इन्टर्नसिप गाइडलाईन र काउन्सिलको नियम विपरित इन्टर्नसिप गराउने जिम्मेवारलाई नियम उल्लंघन गरेवापत ७ दिनमा स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा कारवाही गर्ने जनाएको छ । काउन्सिलले गरेको कारवाहीको विषयमा सम्बन्धित मेडिकल कलेज वा प्रतिष्ठानको तालुकवाला निकाय र चिकित्सा शिक्षा आयोगलाई जानकारी दिने जनाएको छ । तर, काउन्सिलले के कति सिप परिक्षण बिनाका व्यक्तिहरुलाई कुन अस्पताल वा मेडिकल कलेजहरुले परीक्षण दर्ता बिना इन्टर्नसिपमा राखिरहेका छन भन्ने विषयमा भने खुलाएको छैन । त्यस्तै अनुमति बिना चिकित्सा कार्यक्रम सञ्चालन गरिएको विषयमा पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई लेखी पठाउने काउन्सिलले जनाएको छ ।
बागलुङको निसीखोलावासी स्वास्थ्य बीमाबाट वञ्चित
बागलुङ। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमाबापतको रकम समयमा भुक्तानी नगर्दा सर्वसाधारण बीमा सुविधाबाट वञ्चित भएका छन् । सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन गाउँपालिकाले बीमाबापतको रकम समयमै भुक्तानी नदिँदा बीमा कार्यान्वयनमा नआएको हो । बीमाका लागि फाराम भरेर बसेका निसीखोलावासी बीमा सुविधा उपभोगबाट भने वञ्चित छन् । गाउँपालिकाले पहिलो चरणको ६४ लाख बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अघि बढ्नसकेको छैन । गत असारमा सम्पन्न दशौँ गाउँसभाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो । पाँच हजार चार सय घरधुरीका लागि निःशुल्क बीमा गर्न राजस्व बाडफाँडबाट दुई करोड बजेट विनियोजन गरेको थियोे । स्वास्थ्य बीमाको लागि पालिकाले पहिलो चरणमा नौ हजार एक सय ८५ जनाको विवरण सङ्कलन गरिसकेको छ । विवरण सङ्कलन भएका नागरिकले फागुन १ गतेदेखि सेवा लिनुपर्नेमा बीमाको रकम भुक्तानी नहुँदा कार्यान्वयनमा ढिलाइ भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घ, प्रदेश र पालिकाको आन्तरिक स्रोतको राजस्व बाँडफाँटबाट बीमा गर्ने निर्णय गाउँसभाले पारित गरेको थियो । भुक्तानी भएको तीन महिनाबाट नागरिकले स्वास्थ्य बीमाको सेवा लिन पाउँछन् । प्रदेश र सङ्घबाट आउने राजस्व बाँडफाँट शीर्षकमा बजेट राखिएकोमा बजेट प्राप्त नहुँदा कार्यान्वयनमा समस्या भएको गौतमको भनाइ छ । गाउँपालिकाले असोज, कात्तिक र मङ्सिरमा रकम भुक्तानी गरेको भए फागुन १ गतेदेखि नागरिकले बीमाको सेवा लिन पाउने थिए । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार चन्दले पहिलो चरणमा परिवारको विवरण आए पनि विशेष विवरण नआएको प्रतिक्रिया दिए । ‘प्रदेश र सङ्घीय सरकारबाट थोरै बजेट प्राप्त हुँदा योजनामा बाँडफाँट गर्न गाह्रो भयो, एक हप्तामा राजस्व बजेट हेरेर भुक्तानी गछौँ’ चन्दले भने । रासस