काठमाडौंका अस्पतालहरुले विपन्न बिरामीलाई १० प्रतिशत काेटामा निःशुल्क उपचार गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनम रहेका अस्पतालहरुले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शैया छुट्याएर अनिवार्य निःशुल्क उपचार गर्नुपर्ने भएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) बमोजिम अस्पतालहरुले सो सेवा उपलब्ध गराउनुपर्ने भन्दै महानगरले निर्णय गरेको हो । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँच योग्य बनाउन काठमाडौं महानगरपालिकाको निर्णय गरेको बताएका छन् । महानगर प्रमुख बालेनले अस्पतालहरुले लक्षित वर्गलाई प्रदान गरेको निःशुल्क सेवाको विवरण टाँस गर्ने र महानगरमा प्रत्येक महिनाको १० गते बुझाउनुपर्ने बताएका छन् । साथै उनले मापदण्ड कार्यान्वयन नगर्ने र विवरण नबुझाउनेलाई नियमअनुसार कारबाही गर्ने समेत बताएका छन् । ‘लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारवाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ’, महानगर प्रमुख बालेनले भनेका छन् ।
मानिसले कम्तीमा चार हजार ५०० वर्षदेखि चुम्बन गर्दै आएको एक अध्ययनको दावी
एजेन्सी । मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ । यस पुस्तकले ईसापूर्व २५०० देखि नै ‘प्राचीन मेसोपोटामिया र इजिप्टमा ओठमा चुम्बन गरिएको थियो’ भन्ने कुराको प्रमाण प्रस्तुत गरेको छ । मनोरञ्जनात्मक अभिव्यक्तिको रूपमा ओठमा चुम्बन गर्ने अभ्यासको सुरुवातले रोगहरूको फैलावटलाई कसरी असर गर्न सक्छ भनेर ट्रोएल्स प्यान्क अर्बोलले आफू र सह–लेखक सोफी लुन्ड रासमुसेनले अनुसन्धान गर्न थालेको बताए । अर्बोल कोपेनहेगन विश्वविद्यालयमा प्राचीन अध्ययनका पुरातत्वविद् हुन् । लुन्ड रासमुसेन अक्सफोर्ड विश्वविद्यालयका जीवविज्ञान विशेषज्ञ हुन् । पछिल्लो अध्ययनले ईसापूर्व १५०० तिर भारतको एक स्रोतलाई ‘यौन–रोमान्टिक चुम्बन’ को प्रारम्भिक सन्दर्भका रूपमा उद्धृत गरेको छ । सन् १९८० को दशकमा नै प्रमाण सङ्कलन भइसकेको भए तापनि अन्य क्षेत्रमा यो सूचना कहिल्यै नअपनाइएको उनले बताए। उपलब्ध हजारौं प्राचीन ‘क्युनिफॉर्म’हरूमा उनीहरूले रोमान्टिक चुम्बनको अपेक्षाकृत कम सन्दर्भहरू भेट्टाएको बताएका छन् । उनीहरूले भनेका छन्, ‘प्राचीन कालमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू छन् ।’ अध्ययन गरिएका सन्दर्भ सामग्रीहरूमा ‘चुम्बन विवाहित दम्पतीहरूले गर्ने कुरा हो’ भनिएको तर ‘अविवाहित व्यक्तिको प्रेममा पर्दा चुम्बनलाई यौन इच्छाको भागको रूपमा लिइन्छ’ भनेर पनि लेखिएको सङ्केतहरू भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धाताहरूले ‘मैत्रीपूर्ण–अभिभावकीय चुम्बन’ र ‘मनोरञ्जनात्मक चुम्बन’ लाई भिन्नरूपले हेर्ने गरिएको पनि बताएका छन् ।
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त श्ययाको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौंमा अस्पतालको शय्याको खोजीमा हिँड्दा हिँड्दाहिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ’, उनले भने, ‘सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा श्ययामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।’ अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न निर्देशन दिएका छन् । मन्त्री बस्नेतले वैदेशिक भ्रमणलाई वैज्ञानिक र व्यवस्थित बनाउन निर्देशन दिए । उनले चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धिबारे विवरण माग गरे । ‘विदेश भ्रमण मन्त्रालयमा रोगकारुपमा देखिएको छ । दुर्गममा खटिएका व्यक्ति कहिले अवसर नपाउने तर विषयविज्ञका नाममा पटक–पटक विदेश भ्रमणमा जाने देखिएको छ,’ उनले भने । सकेसम्म वैदेशिक भ्रमण कम गर्ने र जानैपरे औचित्य पुष्टि गरेर मात्र स्वीकृत दिने उनको भनाइ छ ।