सर्लाहीमा आठ वर्षदेखि एम्बुलेन्स प्रयोगविहीन हुँदा सास्ती
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित हुलाकी सडक छेउमा सरकारी एम्बुलेन्स अलपत्र रहेको करिब आठ वर्ष भयो । सोही वडामा रहेको ईश्वरपुर स्वास्थ्य चौकीको सरकारी एम्बुलेन्स हुलाकी सडक छेउमा करिब आठ वर्षदेखि अलपत्र हुँदासमेत सरोकारवाला निकाय मौन छ । देश सङ्घीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै अलपत्र अवस्थामा छाडिएको छ । ना१झ ९६८ नंको एम्बुलेन्समा स्थानीय सरकारको नजर पुगेको छैन भने सेवाग्राहीहरु महँगो भाडा तिरेर निजी एम्बुलेन्सको प्रयोग गर्न बाध्य भएका छन् । भारत सरकारको सौजन्यमा खरिद भएको उक्त एम्बुलेन्स सोही चौकीको एम्बुलेन्स सञ्चालन समितिमार्फत सञ्चालनमा हुँदै आएकामा थानीय तहका पूर्वजनप्रतिनिधि र समिति बीचको विवादका कारण बेवारिसे भएको हो । समितिको खातामा करिब सात लाख रुपैयाँ बचत रहे पनि एम्बुलेन्स मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ । एम्बुलेन्स मर्मत गरी सञ्चालनमा ल्याउन आफूहरुले पूर्व नगरप्रमुखसँग पटक पटक आग्रह गरे पनि उनले वास्ता नगरेका नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले बताए । उनका अनुसार लामो समय भैसकेकाले अब मर्मत गरेर पनि एम्बुलेन्स प्रयोगमा ल्याउन सकिने अवस्था छैन तर समितिको खातामा करिब सात लाख रुपैयाँ रकम रहेकाले त्यसको सट्टामा अर्को एम्बुलेन्स खरिद सकिन्छ । तत्कालीन नगरप्रमुख मनोजकुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाका नाममा आउने भए मर्मत गर्ने नत्र नगर्ने बताएपछि सरकारी एम्बुलेन्स थन्किएको एम्बुलेन्स सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताए । पूर्वनगरप्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण १० लाख रुपैयाँको लागतमा अर्को एम्बुलेन्स खरिद गरी वडा नं ३ को भक्तिपुर स्वास्थ्य चौकीमा पठाएका थिए । उनका अनुसार सो एम्बुलेन्स मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताका नाममा रहेका कारण समस्या भएको भएको थियो । पन्ध्र वटा वडा रहेको उक्त नगरपालिकामा पाँचवटा स्वास्थ्य चौकी, सात वडा सामुदायिक आधारभूत स्वास्थ्य केन्द्र र एउटा नगर अस्पताल गरी १३ वटा सरकारी स्वास्थ्य संस्थामा एउटामात्र सरकारी एम्बुलेन्स रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाभित्र करिब २० वटा निजी एम्बुलेन्स छन् । नगरपालिकाको एउटा मात्र सरकारी एम्बुलेन्स हुँदा यहाँका बिरामी निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य भएका स्थानीय सुरेश साफीले बताए । उनका अनुसार नगरपालिकाका १५ वटा वडामध्ये १३ वटा वडामा सरकारी स्वास्थ्य संस्था छन्। निजी एम्बुलेन्स लिएर जाँदा महँगो रकम तिर्नुपरेको छ । नगर स्वास्थ्य शाखाका अनुसार नगरबाहिर उपचारका लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरू स्थानीय तहहरुसँग एम्बुलेन्स माग्नुपर्ने बाध्यता छ । समयमै एम्बुलेन्स नपाउँदा बिरामीहरुको अकालमै ज्यानसमेत जाने गरेको स्थानीयवासीले बताए । रासस
तनहुँका दुई स्वास्थ्य केन्द्र गाभिने
तनहुँ । तनहुँको भानु नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र र भानु सामुदायिक स्वास्थ्य केन्द्र गाभिने भएका छन् । नगरपालिकाको एघारौँ नगरसभाले दुवै स्वास्थ्य संस्थालाई गाभेर एकै स्थानबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो । दुवै स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई एकै ठाउँमा परिचालन गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । नगरसभाले योजना कार्यक्रमको संशोधन तथा सोका लागि बजेट रकम रकमान्तर गर्ने विषयलाई पारित गरेको नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले जानकारी दिए । नगरपालिकाले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्भेक्षणको प्रतिवेदन, २०७९ स्वीकृत गरेको छ । भानु–२ मा गरिबसँग विश्वश्वर कार्यक्रमअन्तर्गत कार्यरत सामाजिक परिचालक जानुका बस्नेतको पाँच हजार रुपैयाँ प्रोत्साहन भत्ता थप गरेको छ । त्यसैगरी, स्वास्थ्यतर्फका तीन प्राविधिक करारका कर्मचारी बन्दना कार्की, पुष्पाञ्जली जोशी र रश्मा पौडेलको सोही तहका अन्य कर्मचारीसरह हुने गरी मासिक पारिश्रमिक बीस हजार रुपैयाँ कायम गरेको छ । बेरुजु नियमित गर्ने पारित गरेको छ भने प्रवक्तामा ईश्वरबहादुर घिमिरेलाई तोकेको नगरप्रमुख त्रिपाठीले बताए । रासस
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
काठमाडाैं । बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालका चिकित्सक डा. सुनिल केस्वानी, डा. सन्दीप मिस्त्री र डा. अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एन्टिबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् । आज पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए । भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो । नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो । आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएकी थिइन् । हरिकलाको उपचारका क्रममा बिहीबार नै निधन भएको थियो । नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।