स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने मन्त्री बस्नेतको निर्णय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । बिहीबार पदभार ग्रहणपछि मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । यस्तै। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने पनि बताए । उनले अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि गरेका छन् ।
कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु
काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए । नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उनले बताए । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ । यसअघि यही वैशाख ३ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेशमा गत चैत महिनादेखि कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेको छ । सङ्क्रमण दर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो । खासगरी सीमा नाका हुँदै भारतबाट भित्रिने अधिकांश नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिने गरेको छ । कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले रोगको सङ्क्रमण थप बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । कोरोना भाइरसको समस्या देखिएयता बीचमा झण्डै एकवर्षसम्म सुदूरपश्चिममा यो रोगका कारण हुने मृत्यु दर शून्य थियो । सङ्क्रमण पुनःबढ्न थालेपछि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोपको मात्रा स्वास्थ्य संस्थामार्फत् लगाउन थालिएको छ । रासस
इसेवाले ल्यायो १ रुपैयाँमै ४ जनाको लागि स्वास्थ्य सेवा
काठमाडौं । इसेवाले एकमा ४ अफर ल्याएको छ । इसेवाले १ भन्दा कममा चारजना आफन्त र साथीभाईको पूर्ण हेल्थ केयर खरिद गर्न सकिने अफर ल्याएको हो । यस अफर अन्तर्गत दैनिक १ भन्दा कम रूपैयाँमै आफुसहित अन्य चार जना आफन्त तथा साथीभाईको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ । यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ । यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक १ भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरि आफुसहित साथीभाईलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाईलाई स्वास्थ्य तथा आइपर्ने दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफु, आफ्नो परिवार तथा साथीभाईलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने कम्पनीले जनाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा एक लाख भन्दा बढिको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रू पाँच सय छुट, फुल बडि चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । यस अफरमा गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण, बाँझपनको उपचारका जटिलता, मानसिक, जन्मजा, एचआइभी, रक्सी, आत्महत्या, वैकल्पीक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परिक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न सकिने छैन । यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ । साथै यो अफरमा ६० वर्ष भन्दा कम उमेर समुहका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सकिनेछ ।