पुरानो मेडिकल कलेज मिर्गौला प्रत्यारोपण प्रकरण : चार जना दोशी ठहर, १५ जनालाई सफाई

काठमाडौं । जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्ष अघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोशी ठहर गरेको छ । अदालले सोही मुद्धामा परेका बाँकी १५ जनालाई सफाइ दिएको छ । न्यायाधीश धर्मराज पौडेलको इजलासले गत २५ माघमा सुनाएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाई दिएको हो । को- को भए दोशी ठहर र को-कोले पाए सफाई ? ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र लुईटेलका अनुसार सो मुद्दामा एक नाबालकसहित कुल १९ जना आरोपित रहेकोमा चार जनालाई कसुर ठहर हुने फैसला भएको छ । दोशी ठहर हुनेहरुमा नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई , दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास रहेका छन् । यस्तै नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राईलाई दोशी ठहर गरेको छ । सूचना अधिकारी लुइटेलले बाँकी १५ जना मध्ये एक जना प्रतिवादीको मृत्यु भएकाले उनको मुद्दा खारेजी भएको र अन्य १४ जनाले यस अभियोगबाट सफाइ पाएको बताए । को को ले पाए सफाई ? कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का मानव अङ्ग प्रत्यारोपण स्वीकृत समितिका सदस्यहरुले यस अभियोगबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा समितिका संयोजक डा. बालकृष्ण कालाखेती, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का प्रमुख संचालन अधिकृत डा. सुप्रभात श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का कानूनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले रहेका छन् । यस्तै  सो कलेजमा कार्यरत डा. भूषण तिमिल्सिना, डा. राकेश बर्मा, ललितपुर महानगरपालिका वडा न – ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन,  जिल्ला प्रसाशन कार्यालय ललितपुरका नबराज केसी र राम कुमार केसीले पनि सफाई पाएका छन् । घटना कसरी थाहा भयो ? पुरानो मेडिकल कलेजमा २७ जेठ २०७६ मा भएको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सो प्रत्यारोपण गैर कानूनी रहेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसार पसार ब्यूरो बबरमहलले २७ असार २०७७ मा विशेष अपरेसन नै चलाएर प्रत्यारोपणसंग जोडिएका चिकित्सक, वडाध्यक्ष देखि बिरामीसम्मलाई नियन्त्रणमा लिएको थियो । व्यूरोले सुरुमा मानव बेच बिखनसम्बन्धि कसूरमा मुद्दा चलाउने तयारीका अनुसन्धानलाई अगाडी बढाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले अभियोजनको क्रममा सो मुद्दा मानब बेच बिखनसम्बन्धि कसूरमा चल्न नसक्ने भन्दै मानवको अंग प्रत्यारोपण सम्बन्धि कसूरबाट चलाउन पर्ने बताएको थियो । त्यसपछि उजुरीकर्ता समेत प्रतिवादी हुने भनि अभियोजन सम्बन्धि निर्क्योल गरे पश्चात अनुसन्धान गर्ने कार्यालय ललितपुर जिल्ला प्रहरी परिसरमा स्थानान्तरण भई १९ साउन २०७७ का दिन जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो । मानव अङ्ग प्रत्यारोपण (नियमित र निषेध) गर्ने ऐन, २०५५ अनुसार दायर मुद्दाको फैसला गत २५ माघमा भएको थियो । न्यायाधीश धर्मराज पौडेलको इजलासबाट भएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाई दिएको हो । अदालतले सो मुद्दामा उजुरीकर्ता बबरमहल २२ संकेत राखी अनुसन्धान अघि बढाइएकोमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरबाट अभियोजनको क्रममा प्रतिवादी कायम भएका र नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई , दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास र नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राई ठहर गरेको छ । नक्कली कागजात खडा गरेर विदेशमा रहेको व्यक्तिको विवरण भरी फरक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको भन्दै प्रहरीको मानब बेच बिखन तथा ओसार पसार ब्यूरो बबरमहलले बेनामी उजुरी परेपछि मानब बेच बिखन तथा ओसार पसार सम्बन्धि कसूरमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा आफ्नो विशेष अपरेशनमा पक्राउ नपरेका फरारप्रतिवादीहरु बबरमहल २८ र गीता देवी बतास साथै ब्युरोले तोकेको उजुरी कर्ता बबरमहल २२ नै दोषी ठहर भएको छ । मुद्धामा सफाइ पाएकाहरुले न्याय पाएको अनुभूति गरेको भन्दै गम्भीर प्रकृतिको यस्तो मुद्दाका सम्बन्धमा अनुसन्धानरअभियोजन गर्ने प्रहरी अधिकारीहरु अझ बढी व्यवसायिक, कुशल निपूर्ण एवं चनाखो हुनु पर्ने सुझाव दिएका छन् ।

कन्चन्पुरमा पहिलाेपटक देखियो ‘अफ्रिकन स्वाइन फिभर’

दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको जानकारी दिए । ‘यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृतावस्थामा भेटिएको थियो’, उनले भने, ‘चोटपटक नलागेको र जीउ सुन्निएको अवस्थामा देखेपछि परीक्षण गरिएको हो ।’ उनका अनुसार काठमाडौंको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । निकुञ्जभित्र सङ्क्रमण देखिएपछि अन्य जनावरमा समेत सङ्क्रमणको जोखिम बढेको छ । गत माघमा कञ्चनपुरका बङ्गुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको हो । यसको उपचार नभएकाले यो रोग लागेपछि पशुमा ठूलो नोक्सानी पुग्न सक्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका बरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले बताए । ‘यो रोग कञ्चनपुरमा पहिलोपटक देखिएको हो यसको कुनै उपचार छैन’, उनले भने, ‘कञ्चनपुरको बेदकोटमा सुरुमा देखिएको हो अहिले अन्य ठाउँमा पनि बङ्गुर मर्न थालेका छन् ।’ अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखा पर्ने पशु चिकित्सक बताउँछन् । रासस

‘बुस्टर डोज’ लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए । उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ । पचपन्न वर्षभन्दा माथिका उमेर समूह, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षभन्दा माथिका (दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका) लाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई पनि खोप लगाउन भनिएको छ । यस्तै कोभिड–१९ को सङ्क्रमण भएकाले पनि सङ्क्रमण भएको एक महिनापछि बुस्टर डोज लगाउन सक्ने जनाइएको छ । यसअघि स्वास्थ्य कार्यालय काठमाडौँको समन्वयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पतालबाट बुस्टर डोजको खोप लगाइरहेको छ । जर्मन सरकारले उपलब्ध गराएको बुस्टर डोजका लागि मात्र प्रयोग हुने ‘बाइभ्यालेन्ट’ खोप करिब १५ लाख मात्रा खोप नेपाल आएको छ । मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा बुस्टर डोजको खोप लगाउन जान आग्रह गरेको छ ।