ग्यालेरी टेस्ट : अब एक रगत परीक्षणबाट ५० प्रकारको क्यान्सर पहिचान गर्न सकिने
काठमाडौं । क्यान्सर विश्वव्यापी रुपमा बढ्दो घातक समस्या मध्ये एक हो । जसको कारणले हरेक वर्ष लाखौं मानिसको ज्यान जाने गरेको छ । समयमा नै समस्याको पहिचान गर्न सकेमा क्यान्सरबाट हुने मृत्युदर घटाउन सकिने अनुसन्धानकर्ताहरुको भनाइ छ । यसका लागि लक्षणहरु पहिचान गरी समयमा नै जाँच गराउनु आवश्यक हुन्छ । क्यान्सरको अनुसन्धानको विषयमा वैज्ञानिकहरुले ठूलो सफलता हासिल गरेका छन् । ल्यान्सेट जर्नलमा प्रकाशित रिपोर्टमा अनुसन्धानकर्ताहरुले रगतको ग्यालेरी टेस्टका विषयमा जानकारी दिएका छन् । जसको सहयोगमा ५० प्रकारको क्यान्सर पत्ता लगाउन सकिन्छ । यो खोजलाई क्यान्सरलाई समयमै निदान गर्ने दिशामा ठूलो सफलताको रुपमा हेरिएको छ । अनुसन्धानको शुरुवाती चरणमा यसको उत्तम देखिएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । ग्यालेरी रगत परीक्षण वैज्ञानिकहरुले यस रगत परीक्षणको विधिलाई ग्यालेरी रगत परीक्षणको नाम दिएका छन् । इङ्ल्यान्ड र वेल्समा यो रगत परीक्षण क्यान्सर भएका व्यक्तिहरुमा गरिएको थियो । त्यस्ता करिब पाँच हजार व्यक्तिमा परीक्षण गर्दा प्रत्येक तीन मध्ये दुई जनामा क्यान्सरको सही पहिचान भएको उल्लेख गरिएको छ । यस परीक्षणबाट आगामी दिनमा क्यान्सरको जोखिम सजिलै पत्ता लगाउन सकिने र क्यान्सरका कारण हुने मृत्युदरलाई कम गर्न सहयोगी हुने वैज्ञानिकहरुको अपेक्षा रहेको छ । के भन्छन् अनुसन्धानकर्ता ? ग्यालरी ब्लड टेस्टका प्रमुख अनुसन्धानकर्ता मार्क मिडलटनले मिडिया रिपोर्टलाई क्यान्सर अझै पनि गम्भीर र जटिल समस्या भएको बताएका छन् । बिमारीलाई कुन प्रकारको परीक्षण चाहिन्छ भनेर एकैपटकमा स्पष्ट हुन सकिँदैन । उनका अनुसार सो प्रकारको रगत परीक्षणले क्यान्सरका लक्षणहरु सजिलै पहिचान गर्न सकिन्छ । क्यान्सर रिसर्च युकेका डा. डेभिड क्रस्बी भन्छन्, ‘अध्ययनको निष्कर्षले यो बताएको छ की परीक्षणको प्रयोगले क्लिनिकल मूल्यांकन गर्न मद्दत गर्न सक्छ, यद्यपी यसको धेरै पक्षहरुको विषयमा अनुसन्धान भइरहेको छ, यो परीक्षण क्यान्सरको निदानमा महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौं ।’ एजेन्सीको सहयोगमा ।
१० प्रतिशत शय्यामा निःशुल्क उपचार अनिवार्य गर्न मन्त्रालयको परिपत्र
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई १० प्रतिशत शय्यामा बिमारीहरुको निःशुल्क उपचार गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले अस्पतालहरुलाई परिपत्र जारी गर्दै कुल शय्याको १० प्रतिशत निःशुल्क छुट्याउन भनेको हो । स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेबारिसे बिमारीको लागि कुल शय्याको १० प्रतिशतमा निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने भनि उल्लेख भएको भन्दै मन्त्रालयले सो व्यवस्था कार्यान्वयन गराउन जेठ १९ गते मन्त्रीस्तरीय निर्णय गरेको जनाएको छ । नेपाल सरकारको निकायबाट जारी भएको गरीब परिचयपत्र र वडा कार्यालयको सिफारिसको आधारमा उक्त सेवा प्रदान गर्नुपर्ने मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र
कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत
सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत रहेको देखिएको छ । तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन् । तीमध्ये छ दशमलव चार प्रतिशत अर्थात् ५४ हजार पाँच सय ४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै दुई सय १८ शिशुको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा पाँच वर्षमुनिका पाँच सय ८६ बालबालिकाको मृत्यु भएको छ । यसैबीच, राष्ट्रिय जनगणनाको तथ्याङ्कमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ । गत वर्षसम्म आठ लाख ५२ हजार तीन सय ५२ बच्चा जन्मिएकामा ५२ दशमलव दुई प्रतिशत अर्थात् चार लाख ४४ हजार नौ सय १२ छोराको जन्म भएको छ । त्यस्तै, ४७ दशमलव नौ प्रतिशत अर्थात् चार लाख आठ हजार दुई सय ६३ छोरीको जन्म भएको छ । यहाँका महिलाहरु अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर नघटेको सरोकारवालाहरु बताउँछन् ।