बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै
झापा । झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईँले भवनको शिलान्यास गरे । हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतले नयाँ भवन बनाउन लागिएको हो । भवन समयमै निर्माण गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उहाँले बताउनुभयो । १५ करोड ३४ हजार रुपैयाँको लागतमा बन्न लागेको सो भवन निर्माणको जिम्मा विभाष इन्टरनेशनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाडौँले लिएको छ । भवन २०८१ फागुनभित्र निर्माण गरिसक्नुपर्ने छ । भवन निर्माणपछि बिर्तामोड नगर अस्पताल १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति हुनेछ । नगरपालिकाका इञ्जीनियर नरेन्द्र श्रेष्ठका अनुसार यहाँ यसअघि पाँच करोड ५० लाख रुपैयाँको लागतमा १५ शय्याको भवन निर्माण गरिएको थियो । नगर अस्पतालमा हाल चार चिकित्सक कार्यरत छन् । यहाँबाट दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन् । कनकाईमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा प्रतिबन्ध झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । यही जेठ १७ गते सम्पन्न २५औँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्दै कनकाई नगरपालिकाले आगामी साउन १ गतेदेखि नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो । नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत सुर्तीजन्य पदार्थको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । ‘गुट्खा, सुर्ती, पराग, चुरोटलगायतको खोल–ठुटा यत्रतत्र फालिँदा वातावरण प्रदूषणसँगै नगर नै कुरुप देखिन थालेको छ’, उनले भने । कनकाईका सबै राजनीतिक दलले समेत स्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने यस्ता वस्तुको बिक्री–वितरणमा निषेध लगाउन ऐक्यबद्धता जनाएका छन् । दलका प्रतिनिधिहरूले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्ने नगरको निर्णयमा सहमति जनाउँदै हस्ताक्षर गरेका छन् । रासस
नुवाकोटमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सफलताका साथ सम्पन्न गरेको छ । ॐ हस्पिटल, गरिमा बिकास बैंक र यशोदादेबी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा बेलकोट फाँटिपौवा स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा संचालित शिविरमा बेलकोट गढी नगरपालिकाले समेत सहकार्य गरेको थियो । पूर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता अर्जुन नर्सिङ केसीले उद्घाटन गरेका शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहिहरु लाई निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो । वेलकोटगढी वरपरका ग्रामिण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवा लगायतका विषयहरुमा २५ जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गरेको हो । ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परिक्षण शिविरमा वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौं स्थित ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने व्यवस्था गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता अर्जुन नर्सिङ के.सी.ले नुवाकोटलाई प्रथमिमतामा राखेर विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेकोमा ॐ हस्पिटल परिवारलाई धन्यवाद ज्ञापन गरे । ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले ॐ अस्पतालको स्थापनाकालदेखी नै आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा यस किसिमका स्वास्थ्य शिविर संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने प्रतिवद्धता ब्यक्त गरे । एकदिवशिय शिविरमा चर्म तथा यौन रोग, हाडजोर्नीमा, दन्त चिकित्सा सेवा, सामान्य चिकित्सा, छाती तथा फोक्सो, मुटुरोग, स्त्री तथा प्रसुती, महिला सम्बन्धि क्यान्सर परिक्षण लगायतका विधामा आठसय भन्दा बढी विरामीले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जसले तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
बाँकेमा सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक–२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गर्ने नीति ल्याएको बताए । सिकलसेल भएका बिरामीले जीवनभरी औषधि खानुपर्ने बाध्यता छ । कम आयस्रोत भएकालाई औषधि किन्न समेत अप्ठेरो भएकाले सो नीति अघि सारिएको गाउँपालिकाले जनाएको छ । ‘आगामी आवदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ, बीमाबापतको शुल्क पालिकाले तिर्छ’, उनले भने । राप्तीसोनारीका चार वटा वडामा नमूना परीक्षणमा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । पछिल्लो पटक वडा नं ६ कमैयाडाँडामा छ सय ३१ जनाको नमूना जाँच गर्दा दुई रोगी र ३६ जना बाहक फेला परेका छन् । वडा नं २ कचनापुरमा चार सय ८७ जनाको नमूना जाँच गर्दा तीन रोगी र ४४ जना बाहक फेला परेका छन् । गतवर्ष वडा नं ३ र ४ मा दुई हजार एक सय ९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र दुई सय ९१ जना बाहक फेला परेका थिए । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञलाई वडास्तरमा पु¥याएर स्थानीयलाई सचेत बनाउने काम गरिरहेको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वलीसहितको टोलीले रोगीलाई परामर्शसमेत दिने गरेको छ । चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन । जसमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ । तर, आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून रहने बताइएको छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग भएकाले रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भएको चिकित्सकको भनाइ छ । बाँकेमा रहेका अधिकांश पालिकाले यसलाई उच्च प्राथमिकतमा राखेर बजेट विनियोजना गरेका छन् । रासस