‘वर्ल्ड हेल्थ डे’को दिन नर्भिकले प्रोस्टेट उपचार प्याकेजमा ३० प्रतिशत छुट दिने
काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस (वर्ल्ड हेल्थ डे) को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ । यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन (पिएसए) को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ । शनिबार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । अस्पतालको अनुसार कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् ।
बेदकोटमा १५ शय्याको अस्पताल भवन निर्माण हुँदै
कञ्चनपुर । सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि बेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवन निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा नौ करोड ७४ लाख रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो । अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी सुरु भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए । ‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन’, उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई तोकेता ग¥यौँ, साइड क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’ उहाँका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईवटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसारे दुई वर्षभित्रै निर्माणकार्य सक्ने गरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हटेर जाने बताइएको छ । नगरपालिकामा हालसम्म दुईवटा स्वास्थ्यचौकी, दुईवटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चलनमा छन् । रासस
म्याग्दीमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
गलेश्वर । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट-३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए । स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट बिरामी आउने गर्दछन् । दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अतिआवश्यक एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको उनले बताए। स्वास्थ्य केन्द्रका डा विजय शर्माले भने, ‘एक्सरे मेसिन प्रयोग नहुँदा समस्या भएको छ, विद्युत् आपूर्ति गरी सञ्चालनको पहल भइरहेको छ।’ उनका अनुसार स्पेपलाइजर ५० केभीएको मेसिन मालिका गाउँपालिकाले खरिद गर्ने सम्झौता भएको छ । एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधरसमेत केन्द्रमा कार्यरत छन् । लायन्स क्लबले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोकाको उपस्थितिमा ती मेसिन हस्तान्तरण गरिएको जनाइएको छ ।