वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनलाइनबाट स्वास्थ्य सेवा दिन सुरु

काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीले मोबाइल नं ९८५१३४५७०१ र ९८५१३४५७०२ मा भाइबर, ह्वाट्स् एप वा इमोलगायतका माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्ने जनाइएको छ । फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृत खटिएका वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याका कारण बिरामी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको हो । बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ । आइतबार र शुक्रबार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराइने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

मापदण्ड विपरित चलिरहेका हेटौँडाका ३ अस्पताललाई कारवाही

काठमाडौं । हेटाैँडामा निजीक्षेत्रबाट सञ्चालनमा रहेका तीन अस्पताललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही सुरु गरेको छ । हेटौँडामा कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटाैँडा सिटी अस्पताल तथा सञ्चो अस्पताल हेटाैँडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनस्वास्थ्य ऐन तथा नियमावली विपरीत काम गरेको र तोकिएको मापदण्डको पालना नगरेको अनुगमनमा पाइएपछि सो कारबाही थालिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाको संयुक्त टोलीले गरेको अनुगमनको क्रममा तोकिएको मापदण्ड अनुसार नदेखिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकरी शर्मा तथा प्रशासकीय अधिकृत गुणराज न्यौपानेको नेतृत्वमा बेग्लाबेग्लै खटिएको संयुक्त अनुगमन टोलीले अस्पताल सञ्चालनमा कमजोरी देखिएपछि तीन दिनभित्र सुधार गरी आवश्यक प्रमाणसहित कागजात पेस गर्न निर्देशन समेत दिएको जनाइएको छ । मकवानपुर सहकारी अस्पतालले २५ शय्याको अस्पताल सञ्चालनको स्वीकृति विपरीत ३६ भन्दा बढी शय्या राखेको, पार्किङको तथा फोहरको व्यवस्थापन नगरेको, प्रयोगशाला सञ्चालन मापदण्डअनुसार नरहेको लगायतका कैफियत देखिएकोले कारबाही गरेको शर्माले बताए । त्यस्तै, हेटाैँडा सिटी अस्पतालले नवीकरण नगरी अस्पताल सञ्चालन गरेको, आकस्मिक कक्षमा तीन शय्याको स्वीकृति लिएर छ शय्या राखेर सञ्चालन गरेको पाइएको थियो । त्यसैगरी, कार्यालयका अनुसार सञ्चो अस्पतालले सञ्चालन गरेको प्रयोगशाला इजाजत नलिइ सञ्चालन गरेको र आकस्मिक कक्षमा म्याद गुज्रिएको औषधि प्रयोग गरेको र वार्षिक कर चुक्ता नगरेको पाइएपछि आवश्यक मापदण्ड पूरा गरेपछि सञ्चालन गर्ने निर्देशन जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । रासस

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा पाउने

सांकेतिक तस्बिर काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार सल्लाह, सुझाव र परामर्श दिनको लागि सो सेवा सञ्चालन गरिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते ‘टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको थियो । सोही कार्यविधिअनुसार आज विहान १० बजेबाट सो सेवा प्रारम्भ भएको बोर्डका सूचना अधिकारी राजन पौडेलले बताएका छन् । टेलिमेडिसिन सेवा लिन चाहनेले सार्वजनिक विदाका दिनमा बाहेक उपलब्ध हुने जनाइएको छ । सेवाका लागि नेपाली श्रमिकहरुले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्स एप र इमो मार्फत कल गर्नुपर्ने हुन्छ । श्रमिकको कललाई टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर आवश्यक सुझाव तथा प्रेस्किृप्सन अनलाइनमार्फत दिने जनाइएको छ । साथै आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने सचिवालयले जनाएको छ । टेलिमेडिसिन सेवा बीर अस्पतालले उपलब्ध गराउने छ ।