सुदूरपश्चिमका २२ लाखले लगाए कोरोनाविरुद्धको खोप
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या कूल २२ लाख ३३ हजार आठ सय ३१ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पूर्ण मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका सात लाख ३२ हजार सात सय ८९ जना छन् । सबैभन्दा कम दार्चुलामा एक लाख १४ हजार ६ सय २८ ले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । यस्तै कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८, बैतडीमा दुई लाख ११ हजार छ सय ५२, अछाममा एक लाख ८३ हजार छ सय दुई, डोटीमा एक लाख ६१ हजार एक सय ३८, बझाङमा एक लाख ३७ हजार छ सय ११, डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ र बाजुरामा एक लाख २५ हजार चार सय ६८ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने दश लाख १५ हजार ३७ रहेको छ । प्रदेशमा कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ रहेको निर्देशनालयले जनाएको छ । बैतडीमा भने एकजनाले पनि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा नलगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो । जिल्लामा केही दिनमै चौथो मात्रा दिइने अभियान सञ्चालन गरिने लेखकको भनाइ छ । सुदूरपश्चिममा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने अभियन जारी रहेकाले खोप लगाउन बाँकी सबैलाई खोप लगाउन आग्रह गरिएको छ । सुदूरपश्चिममा विसं २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको अभियान सुरु गरिएको थियो । प्रदेशसमा हालसम्म ६ लाख ४६ हजार सात सय तीनजनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये ६१ हजार नौ सय ५५ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै छ । सङ्क्रमण देखिने अधिकांश भारतबाट फर्किएका यहाँ जोखिम बढ्दै गएको छ । प्रदेशका सबै सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको र अनिवार्य कोरोना परीक्षण गराएर मात्रै भित्रिन दिइएको छ । सङ्क्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले आग्रह गरेको छ । रासस
साधना लघुवित्तद्धारा आँखा चेकजाँच र स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
काठमाडौं । साधना लघुवितले आखा चेकजाँच तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजनामा गरिब, विपन्न, असहाय व्यक्तिहरुको लागि आँखा जाँच तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो । संस्थाले सनिबार बारा जिल्लामा शिविर संचालन गरेको थियो । कार्यक्रममा अध्यक्ष हसिना खातुन र डा सम्झना चौधरीको प्रमुख अतिथीमा किरण आँखामा संचालन भएको छ । यसैगरि वित्तीय संस्थाको केन्द्रीय कार्यालयको प्रतिनिधी नायब महाप्रबन्धक सिताराम पंडित, आदर्शकोतवाल वडा नं ६ को वडासदस्य रसुल देवान, शाखा प्रमुख राजकुमार तुरहा, आखाँ अस्पतालको कर्मचारीहरु, शाखा कार्यालयको कर्मचारीहरु, समाजसेवी लगायत आँखा चेकजाँच गराउने व्यक्तिहरु गरि करीब २७० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा विपन्न, गरिब, असहाय व्यक्तिहरुलाई फ्रि चेकचाँच तथा औषधीहरु समेत वित्तरण गरिएको थियो । शिविरमा २५० भन्दा बढि व्यक्तिहरुले आँखा चेकजाँच तथा परीक्षण गराउदाँ ५० जना व्यक्तिहरुलाई मोतियाबिन्दको अप्रेशन गराउनु पर्ने देखिएको थियो । स्वास्थय शिविरमा चेकजाँच भई मोतिया बिन्दको अप्रेशन गराउने व्यक्तिहरुलाई बित्तीय संस्थाको पहलमा आखाँ अस्पतालले फ्रि यातायात, खाना तथा बसाई फ्रि, औषधी तथा परिक्षण समेत फ्रि गरी समान्य खर्चमा आउने हप्तामा पहिचान भएका ५० जना व्यक्तिहरुलाई अस्पतालले अप्रेशन गरिदिने कुरा अस्पतालको प्रमुख डा.चौधरीले जानकारी गराएका थिए । वित्तीय संस्थाले हाल ३१ जिल्लामा ९३ शाखा कार्यालय मार्फत १ लाख ४ हजार जना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।
सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि
सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरे । गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौंको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । न्यूनतम एक हजार देखि बढीमा २० हजारसम्मको मासिक औषधि सेवन गर्ने बिरामी गाउँपालिकामा रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए । रासस