उमेर अनुसारको यौनशिक्षा आवश्यक : यौनरोग विशेषज्ञ

काठमाडौं । यौन रोग विशेषज्ञहरुले आम मानिसहरुलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा बोल्दै यौन रोग विशेषज्ञ डा.सुवोधकुमार पोखरेलले विद्यार्थीलाई यौन व्यवहारको बारे उमेर अनुसारको शिक्षा दिनुपर्ने बताएका हुन् । डा.पोखरेलले मानवीय यौनिकता बहुआयामिक विषय भएको बताउनु भयो । उहाँले यौन मनोविज्ञानका विभिन्न पक्षबारे कृतिमा समेटिएको बताए । यौन उर्जाको केन्द्र भएको डाक्टर पोखरेलको भनाइ छ । यौन समस्याको बारेमा समयमा नै बुझाउन नसके यसले दुर्घटना निम्त्याउन सक्ने बताए । नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुअलीटिका संस्थापक अध्यक्ष समेत रहेका डा.पोखरेलले भने, ‘एउटा व्यक्तिलाई शारीरिक रुपमा तन्दुरुस्त हुन सेक्सुअल फिटनेस चाहिन्छ । मानसिक रुपमा स्वस्थ हुनका लागि स्वस्थ यौन जीवन उसको परिवारका लागि परिवेशका लागि उसको समुदाय र राष्ट्रकै लागि आवश्यक छ । यौन एउटा उर्जाको केन्द्र मानिँदै आएको छ । यौन भनेको उर्जा संकलन गर्ने पनि हो र उर्जालाई क्षय गर्ने माध्यम पनि हो । स्कुलका विद्यार्थीहरुदेखि यौनको बारेमा यौनसँग संवद्ध सामाजिकताको बारेमा उनीहरुको यौन व्यवहारको बारेमा आवश्यक उमेर अनुसारको शिक्षा दिइनुपर्छ भन्ने हाम्रो मान्यता हो । जस्तो महिनावारी के हो ? हार्मोन के हो ? सेनेटरी प्याडको प्रयोग किन गर्ने ? कसरी गर्ने ? हस्तमैथुन के हो ? स्वप्न दोष के हो ? विपरित लिंगी प्रतिको आकर्षण के हो ? लगायतका विषयमा बुझाउन जरुरी छ । समयमा बुझाएनौं भने दुर्घटना हुनसक्छ । ’ विद्यार्थीहरुलाई स्वप्न दोष, विपरित लिंगी प्रतिको आकर्षण, हार्मोन, सेनेटरी प्याडको प्रयोगका बारेमा जानकारी गराउन आवश्यक रहेको बताए ।

प्रोबायोटिक आहारले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ

काठमाडौं । प्रोबायोटिक्सले उमेर बढ्दै जाँदा स्मरणशक्ति र सोच्ने क्षमतालाई कमजोर हुनबाट रोक्न सक्छ। नयाँ अनुसन्धानमा यस्तो खुलासा भएको हो । अनुसन्धानले प्रोबायोटिक आहार लिँदा अल्जाइमर र डिमेन्सिया जस्ता रोगको असरलाई पनि कम गर्न सकिने बताएको छ । राम्रो ब्याक्टेरियालाई प्रोबायोटिक्स भनिन्छ। ब्याक्टेरिया वा भाइरस सुन्दा यस्तो लाग्छ कि हामी रोगको बारेमा कुरा गर्दैछौं, तर हरेक ब्याक्टेरियाले हामीलाई हानि गर्दैन। कतिपय ब्याक्टेरिया हाम्रो स्वास्थ्यको लागि मित्र हुन् भने केहीले हानि पु¥याउँछन् । दुबै प्रकारका ब्याक्टेरियाहरूले हाम्रो श्वासप्रश्वास र पाचन प्रणालीमा चेक एन्ड ब्यालेन्सको काम गर्छन् । यदि तपाईंले कुनै रोगको कारण एन्टिबायोटिक चक्की धेरै खानुभएको छ भने प्रोबायोटिक्स यसको क्षति कम भूमिका खेल्छ। प्रोबायोटिक्सलाई खाना तथा पोषण पुरकको रुपमा लिन सकिन्छ । शोधकर्ताहरूले परिणाममा पुग्न ५२ देखि ७५ वर्ष उमेरका १६९ जना व्यक्तिहरुलाई तीन महिनाको प्रोबायोटिक ल्याक्टोब्यासिलस रम्नोसस जीजी (एलजीजी) उपचार दिएका थिए। जसका कारण सहभागीहरुमा संज्ञानात्मक कमजोरीका लक्षणहरु कम भएको देखिएको थियो। संज्ञानात्मक हानि हुँदा मानिसहरूमा सम्झने क्षमता कमजोर हुने र एकाग्रतामा समेत कमि हुन जान्छ । अनुसन्धानले पत्ता लगाएको छ कि संज्ञानात्मक कमजोरीका लक्षणहरू कम गर्ने प्रभाव माइक्रोबायोम अर्थात् पेटमा हुने ब्याक्टेरियामा पनि पर्न पुगेको देखिन्छ । पेटको माइक्रोबायोमले हाम्रो शरीरको रगतमा चिनी नियन्त्रण गर्ने, भिटामिन र अन्य हर्मोन उत्पादन गर्ने, कोलेस्ट्रोल सन्तुलन गर्ने र क्यालोरी नियन्त्रण गर्ने जस्ता कामहरु गर्छ । यसबाहेक बाह्य सूक्ष्मजीवहरू विरुद्ध लड्ने र हाम्रो स्नायु प्रणाली तथा मस्तिष्कलाई जानकारी दिनु पनि हो । प्रोबायोटिक खाना त्यो हो जसमा अत्याधिक मात्रामा जीवित ब्याक्टेरिया पाइन्छ । दही र अचारमा प्रोबायोटिक ब्याक्टेरिया अत्याधिक मात्रामा पाइन्छ । बजारमा पुरक आहारको रुपमा पनि प्रोबायोटिक खाना पाइन्छ । यस्ता आहारले पाचन प्रणाली, प्रतिरक्षा प्रणाली, हार्मोन सन्तुलन, सुगर नियन्त्रण र निद्राको लागि सहयोग पुर्याउँछ । एजेन्सीको सहयोगमा ।

केरा पकाउन रसायन र विषादीको प्रयोग, स्वास्थ्यका लागि हानिकारक

फाइल फाेटाे चितवन । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ । उनका अनुसार चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको हो । केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बाेनेट बढी प्रयोग गरेको पाइएको छ । प्राविधिक सहायक सिम्खडाका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ । चितवनमा प्रायः गरेर केरालाई क्वारेन्टिनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताए । पैतीस प्रतिशतभन्दा कम रोकावट आएमात्र केरा खानयोग्य हुन्छ । अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने फल हो । तर कहिलेकाहीँ केरा स्वास्थ्यका लागि हानिकारक पनि सावित हुनसक्छ । यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुनसक्ने चिकित्सक बताउँछन् । भरतपुर अस्पतालका डा गोविन्द कँडेलले धेरै परिमाणमा इथालिन र क्याल्सियम कार्बाेनेटजस्ता औषधि प्रयोग गरेर पकाइएको केरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने बताए । यस्तो केरा खाएमा पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको धेरै दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने उनको भनाई छ । गर्भवतीलाई यस्तो केरा खुवाएमा पेटमा रहेको बच्चालाई समेत असर गर्न सक्छ । कृषि विज्ञका अनुसार केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ । कर्बोहाइड्रेड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ । आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ । केरालाई विषादीरहितभन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक–दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुने चिकित्सक बताउँछन् । खानुअघि एक घण्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ ।