डेङ्गुबाट एक जनाको मृत्यु
चितवन । डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।
डेङ्गु परीक्षणका लागि ६ सय रुपैयाँ लाग्ने
भरतपुर । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम ६ सय तोकिएको हो । महानगरप्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताए । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरे । जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने आठ सय रुपैयाँ लिँदै आएकोमा अब छ सय रुपैयाँमात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।
पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क
कास्की । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ । मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण सम्बन्धी समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए । व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालले जनाएका छन् । अस्पतालमा आजदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधिसमेत वितरण गरिने छ । बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । आँखा समस्याका बिरामीका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा इलिया श्रेष्ठले बताइन् । पोखरा महानगरले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधवारदेखि शुक्रवारसम्म महानगर मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ । विद्यालय सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।