दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ : वरिष्ठ आँखा रोग विशेषज्ञ
काठमाडौं । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् । मानिसको संवेदनशील अङ्ग मानिने आँखामा लाग्ने यस रोग डरलाग्दो नभए पनि हप्ता दिनसम्म आँखा हेर्न कठिनाइ गर्ने हुँदा मानिसको दिनचर्यामा असर हुने गरेको छ । छिट्टै एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले पनि यस रोगको सङ्क्रमणबाट धेरै जना प्रभावित बनेका छन् । अहिले आँखा पाक्ने रोग अधिकांशमा भाइरल इन्फेक्सनका रुपमा देखिएको चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार सामान्यतया रुघाखोकी जस्तै यो रोग दुई साताभित्र आफैँ निको हुने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सुमनशम्शेर थापा बताउँछन् । चौबिस वर्षदेखि जलविन्दु तथा मोतिविन्दुको विशेषज्ञका रुपमा काम गर्दै आएका डा थापा २३ वर्षसम्म तिलगङ्गा आँखा अस्पतालमा कार्यरत छन् भने अहिले राजधानीको थापाथलीस्थित एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रमा रही सेवा गरिरहेका छन् । प्रस्तुत छ, हाल देशभर सङ्क्रमणका रुपमा फैलिएको आँखा पाक्ने रोगका कारण, यसबाट बच्न अपनाउनुपर्ने सावधानीदेखि उपचारका बारेमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा थापासँग गरेको कुराकानीको सारसंक्षेप : केही समयदेखि देशभर आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ, यसको कारण के होला ? आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । बर्सातको मौसममा यो समस्या बढी देखिन्छ । अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै अस्पतालहरुमा पुगेका छन् । काठमाडौँलगायत धेरै भागमा आँखा पाक्ने रोग यो झरीको मौसमसँगै व्यापक रुपमा देखिएको छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ । यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्किटभाइटिस भनिन्छ भने आम भाषामा आँखा पाकेको भनिन्छ । यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलिन्छ । यो भाइरसको कारणले बिरामीको सम्पर्कमा आएको एक दुई दिनभित्रै अत्याधिक छिटो सङ्क्रमण हुने रोग हो । यस रोगका लक्षणहरु के के हुन त ? आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ । निरन्तर आँसु बग्छ र कचेरा जम्छ । कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ । आँखा बिझाउँछ । रोगका भाइरस आँखामा सङ्क्रमित भएपछि बिस्तारै आँखा रातो हुँदै जान्छ । आँखाको डिल सुन्निन थाल्छ । बिहान उठ्दा चिप्रा पर्छ । आँखा झिम्काउँदासमेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ । एउटामात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ । आँखा गोलभेँडाजस्तो रातो हुने, आँसु आउने, चिप्रा आउने, परेला सुन्निने, आँखामा बालुवा पसेजस्तो बिझाउने हुनसक्छ । यस भाइरसको कारण कतिपयलाई टाउको र घाँटी दुख्ने, ज्वरो आउने र कसैकसैलाई कानको अगाडिको भाग सुनिनेजस्ता समस्या पनि आउन सक्छ । यस रोगले आँखालगायत शरीरको अन्य भागमा पनि असर पुर्याउँछ कि ? आँखा पाक्ने रोग हेर्दा जति डरलाग्दो देखिए पनि आत्तिनु पर्दैन । यद्यपि यसको असर कसैकसैलाई दुई हप्तासम्म पनि रहनसक्छ । भाइरस कन्जङ्किटभाइटिसमात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन तर भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीमात्र नभएर नानीलाई पनि असर गर्न सक्छ । ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ । फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो । सङ्क्रमण निको भएपश्चात् प्रायः आँखामा नराम्रो असर नरहने भए पनि कसैकसैको आँखाको नानीमा केही मात्रामा असर रही दृष्टिमा न्यून असर पर्न सक्छ । यतिबेला आत्तिएर होइन, सजग रह्यौँ भने यस रोगबाट चाँडै नै मुक्ति पाउन सकिन्छ । रोग लागिसकेपछि कसरी छिटोभन्दा छिटो निको पार्न सकिन्छ ? सङ्क्रमित व्यक्ति भीडभाडमा नजाने, विद्यार्थी भए केही दिन स्कुल वा कलेज नजाने, चिकित्सकको सल्लाहबमोजिम औषधि हाल्ने, कालो चस्मा लगाउने जस्ता विधिहरु अपनाउनु पर्छ । सङ्क्रमितले आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । दिनमा दुई÷तीन पटक सफा पानीले आँखा सफा गर्नुपर्छ । नरम खालको कपडा प्रयोग गर्नुपर्छ । सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ । बिरामीले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूले प्रयोग नगर्ने वा गर्नै परे राम्ररी साबुनपानीले धोएर मात्र प्रयोग गर्नुपर्छ । यस रोगबाट कसरी बच्न सकिन्छ त ? धेरैलाई आँखा पाकेको बिरामीलाई देख्दा आफूलाई पनि सर्यो भन्ने भ्रम छ, त्यो होइन । बिरामीको आँखा हेरेर सर्दैन । हावा वा आमनेसामने बस्दैमा सर्ने रोग यो होइन । तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ । औषधि हालिदिने सहयोगीले राम्रोसँग साबुनपानीले हात धुनु पर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको स्थितिमा यसले चाँडो सङ्क्रमण गर्नसक्ने भएकाले पोसिलो खाना खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ । यो रोगको ध्यान दिनुपर्ने मुख्य कार्यमा बिरामीले आँखा नछुने, बिरामीलाई औषधि हाल्न वा अन्य कामले छोएमा राम्रोसँग हात धुने, चिकित्सकको निगरानीमा मात्र औषधिहरु प्रयोग गर्ने र अरूलाई यो रोग सर्न नदिन सजग हुने कार्य गर्नुपर्दछ । बिरामीलाई अलग्गै बस्ने, सुत्ने गर्नुपर्छ । घरबाहिर निस्कनु परेमा कालो चस्मा प्रयोग गर्न सकिन्छ । सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ । विद्यालयका बालबालिकामा छिटो सर्ने हुँदा अभिभावक र शिक्षक सचेत हुनुपर्छ । विद्यालय नै बन्द गर्नुभन्दा बिरामीलाई दुई/चार दिन विद्यालय नआउन भन्ने वा अलग्गै राख्न सकिन्छ तर ठूलो सङ्ख्यामा बिरामी बढेमा बन्द गराउनु पनि पर्नसक्छ । यतिबेला देशका कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने समाचारहरु पनि आएका छन् नि ? हो मैले पनि कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने गुनासो गरेको सुनेको छु । यो एकदमै नराम्रो कुरा हो । यसरी देशभरि नै सङ्क्रमणको रुपमा फैलिएको यस रोगबाट छिटोभन्दा छिटो मुक्ति पाउनका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बेलामा नाफाका लागि औषधि लुकाउने काम भएको छ भने त्यो निकै ठूलो अपराध हो । कसैले त्यस्तो गलत काम गरेको छ भने त्यस्ता मानवताविरोधी काम नगर्नुहोला । र राज्यले पनि यसमा निगरानी बढाएर गलत कार्य गर्नेलाई कारबाही गर्ने र साँच्ची नै औषधिको अभाव भएको ठाउँमा तत्काल औषधि पठाएर बिरामीलाई आश्वस्त तुल्याउनुपर्छ । अझै कति दिनसम्म यस रोगको सङ्क्रमण रहिरहन्छ ? यो मौसमसँग सम्बन्धित रोग हो । ह्युमडिटी कम भएपछि विस्तारै कम हुँदै जान्छ । सामान्यतः अझै दुई सातासम्म यसको सङ्क्रमण रहनसक्छ । यस रोगमा अस्पताल नै जानुपर्ने हो कि घरमै पनि उपचार गर्न सकिन्छ ? आँखा पाकेको लक्षण देख्नेबित्तिकै अघि भनेअनुसार सावधानी अपनाउँदै आँखाको उचित हेरविचार गर्नुपर्छ । चिसोले सेक्नु र आँखा धेरै रातो भएको खण्डमा साधारण खालको एन्टिबायोटिक थोपा लगाएर घरमै उपचार गर्न पनि सकिन्छ । आत्तिएर अस्पताल दौडिहाल्नुपर्ने वा अनेक औषधि प्रयोग गरिहाल्नु पर्दैन । तीनदेखि चार दिनपछि र अधिकतम पाँच दिनसम्म समस्या कम भएन भने अस्पताल जानु पर्छ । उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्शअनुरूप अन्य जटिलता पहिचान गर्न परीक्षण गराउनु पर्छ । आफूखुसी औषधि प्रयोग गर्नु भने हुँदैन, चिकित्सकको रायअनुसार औषधोपचार गराउनु पर्छ । नेपालमा आँखा रोगको समस्या कस्तो पाउनुहुन्छ ? नेपालमा आँखासम्बन्धी रोग एउटा क्रोनिक रुपमा र अर्को नसर्ने खालको पाइन्छ । उमेर बढ्दै जाँदा जलविन्दु र मोतिविन्दुको समस्या देखिन थाल्छ । मोतिविन्दुको समस्या त धेरै कम भएको छ । मधुमेह, रक्तचापका बिरामीमा पनि आँखाको समस्या धेरै छ । पछिल्लो समय जीवनशैलीका कारण कम उमेरमै यी समस्या बढ्न थालेको छ । आँखा रोग विशेषज्ञ र उपचार सेवाको अवस्था कस्तो छ नि ? नेपालमा औसत जनसङ्ख्याको अनुपातमा आँखा रोग विशेषज्ञको सङ्ख्या निकै न्यून छ । हाल करिब तीन सयको सङ्ख्यामा विशेषज्ञ छन्, जबकि एक हजारभन्दा बढी हुन आवश्यक छ । विशेषज्ञसहितका आँखा अस्पतालहरु पनि राजधानी बाहिर निकै कम छ । अस्पतालहरुमा रहेका प्राथमिक आँखा उपचार केन्द्रहरुको स्तरोन्नति गर्न सकिएमा र कम्तीमा महिनामा एकपटक विशेषज्ञहरुमार्फत केन्द्रमा नै शल्यक्रिया गर्न सकिएमा धेरै बिरामीले राहत पाउने थिए । यसतर्फ राज्यले ध्यान दिनु जरुरी छ । रासस
नर्भिक अस्पतालले भित्र्यायो थप तीन जना अनुभवी चिकित्सक
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको हो । नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ । सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्यूरोलोजिष्ट डा. निरञ्जन आचार्य, कन्सलट्यान्ट न्यूरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिष्ट डा. पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ । डा. आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ९ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्नेछन् । यस्तै, डा. कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ८ः४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा. भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः४५ देखि ८ः४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन् । थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।
‘बालबालिकालाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔं’ : विनिता पन्त (पोषणविद्)
बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटहरूसँग लड्न सक्छन् । तर, अहिलेपनि कर्णाली तथा सुदूरपश्चिमका बालबालिकाले उपयुक्त पोषण पाउन सकिरहेका छैनन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई कमजोर बनाउँछ । प्रस्तुत छ, सन्दर्भमा केन्द्रित रहेर अल्का हस्पिटलमा कार्यरत पोषणविद् (डाइटेसियन) विनिता पन्तसँग गरेको कुराकानी । हाम्रो शरीरका लागि पोषण किन चाहिन्छ ? हाम्रो शरीरका लागि पोषण एकदमै आवश्यक छ । पौष्टिक तत्वको प्रयोग हुने प्रकृया भनेकै पोषण हो । शरीरमा बन्ने विभिन्न कम्पाउण्डहरु हेमोग्लोविन, रगत, चिल्लो पदार्थका लागि पोषण चाहिन्छ । हाम्रो शरीरमा पौष्टिक तत्वको उपयोग हुनुपर्ने हुन्छ । यदी शरीरमा पौष्टिक तत्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गरिन्छ । शरीरलाई शक्ति प्रदान गर्न पोषणको भुमिका हुन्छ । शरीरका विभिन्न अगंलाई सरचारु गर्न पनि पोषण चाहिन्छ । पोषण भन्ने बित्तिकै सन्तुलीत खानाको राम्रो प्रवन्ध गरेको भनेर बुझिन्छ । शरीरका लागि कस्तो पौष्टिक आहारको आवश्यकता पर्छ ? हामीले सन्तुलित खानेकुरा खानुपर्छ । सन्तुलित आहार भन्ने बित्तिकै पाँच वटा खाद्य समूह भनेर बुझ्नुपर्छ । हामीले खाने अन्न समूह, दाल गेडागुडी समूह, फलफूल र तरकारी समूह, माछा मासु, दुध र अण्डा समूह र चिल्लो–गुलियो समूह । यी सबै खानेकुरा ठिक्क मात्रामा र शरीरको लागि आवश्यकता अनुसार (उचाई, तौल, उमेर, शारीरिक क्रियाकलाप) मिलाएर खायौँ भने शरीरमा प्रयोग हुने भयो । यी खानेकुराले न शरीरलाई दुब्लो हुन दिन्छ न त मोटो हुन दिन्छ । सन्तुलित खानेकुराको प्रवन्ध मिलाउनुलाई नै पोषण भन्छौं । शरीरमा पोषण कमी भएर कस्ता खालका बिरामीहरु आउने गर्दछन् ? नेपालको सन्दर्भमा स्वस्थ मान्छे अस्पतालमा आएर खानेकुराको परामर्श लिएको देखिँदैन । हामीकहाँ कस्तो अवस्थामा बिरामी आउनुहुन्छ भने बिग्रिसकेपछि, केही न केही नसर्ने रोगले छोइसकेपछि । धेरैजसो त मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, क्यान्सरको समस्या लगायत भइसकेपछि अस्पताल आउनुहुन्छ । आज भोलि अलिकति ट्रेण्ड बदलिएको छ, हामी कहाँँ मोटोपना समस्या भएकाहरु पनि आउनुहुन्छ । उहाँहरुको आवश्यकता अनुसार उहाँको रोग के हो ? उहाँले कस्तो खानेकुरा खाइरहनुभएको छ । उहाँको स्वास्थ्य चेकजाँचको रिपोर्ट के छ ? र, उहाँलाई के आवश्यकता पर्छ भनेर हामीले खानेकुराको परामर्श गर्छौं । जस्तैः काठमाडौंमा बस्नुहुन्छ वा गाउँमा गएर खेतिपाती गर्नुहुन्छ, के रोग छ ? त्यो अनुसार नै चाहिने आवश्यकता अनुसार पौष्टिक तत्व कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, विभिन्न भिटामिनहरु, खनिज पदार्थको मात्रा मिलाएर खानेकुरा दिएर पठाउँछौं । पोषणका कारणले कस्ताकस्ता रोगहरुले आक्रमण गर्छ ? अहिलेको अवस्था हेर्र्दा धेरै मानिसको जीवनशैली अस्तव्यस्त छ । सबै मानिसहरु व्यस्त हुनुहुन्छ । यो सँगसँगै मोटोपनको समस्या बढ्दो छ । मोटोपनको समस्याले गर्दा ल्याउने रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गाैलाको समस्याहरु यो चाहीँ हामी सँगसँगै आइरहेको हुन्छ । त्यसले गर्दापनि यो जोखिम बढीरहेको देखिन्छ । सामान्यतया न्युन पोषण भएर आउने एकदमै कम हुनुहुन्छ । कुपोषण भएका बालबालिकाहरु यहाँ आउने स्थिति पनि छैन होला । यहाँ त हामिकहाँ अधिक पोषण भएर आउनेहरुको संख्या धेरै छ । बच्चाबाट नै उच्च कोलेस्ट्रोल भएकाहरु आउने गरेका छन् । यस्तै, हामी कहाँ उच्च रक्तचाप, मधुमेह देखिएर आएकाहरु आउनुहुन्छ । कस्तो खाना खानुपर्छ ? बालबालिकाहरुलाई सकेसम्म बाहिरको खाने कुरा खान नदिऔं । जस्तोः जंकफुड, चाउचाउ, केक बाहिरको खानेकुरा सकेसम्म खान नदिऔँ । बिहानदेखि साँझको खानेकुरा घरमै बनाएको, घरमै पकाएको हुनुपर्छ । घरमा पाँच वटा खाद्य समूह खान आवश्यक छ । अन्न भनेर भन्दाखेरी बाहिरको चाउचाउ, ब्रेड, पप होइनकी घरमै बनाएको रोटी होला, चिउरा होला, पपकर्न होला, मकै होला बरु त्यसैलार्ई पकौडी बनाइदिनुहोस्, घरमै बनाइदिनुहोस्, स्वच्छ तेलमा बनाइदिनुहोस् । बच्चालाई खानेकुरा चिल्लो खानै दिन नहुने, तारेको खानै दिन नहुने होइन तर, घरमा बनाएको खानेकुरा बिहानदेखि साँझसम्म दैनिक रुपमा दिन सकियो भने बच्चा पक्कैपनि सुपोषित हुनसक्छ । खानेकुरा चाहीँ एकदमै धेरै खाने र अर्को कुरा बच्चाहरुको खेल्ने माहोल छैन, हाम्रो शारीरिक क्रियाकलाप नै एकदमै न्युन छ । त्यसले गर्दा घरकै खानेकुुरा खुवाए पनि ओभर इटिङ (धेरै खाना) छ भने त्यो पनि अर्को समस्या देखिएको छ । त्यसैगरी बच्चैदेखि आमाहरुले यति धेरै खुवाउनुहुुन्छ की दिनमा चाहिने भन्दा नचाहिने पौष्टिक तत्व खुवाउनुभएको हुन्छ । इनर्जी, प्रोटिनहरु चाहिने भन्दा एकदमै धेरै खुवाउनुभएको हुन्छ । त्यसकारणले गर्दा सानै उमेरबाट मोटोपनको समस्या बढ्दै आएको छ । अहिले म कहाँ आइपुुग्नुहुने प्रत्येक आमाहरुलाई मैले के सोध्ने गर्छु भने बच्चा जन्मदा कति तौलको थियो ? कति खुवाउनु हुन्थ्यो ? बेष्ट फ्रेडिङ खुवाउनुभएको हो वा फर्मुला मिल्क ? घरको खानेकुरा खुवाउनुभएको हो की बजारबाट किनेको ? त्यो बाटनै शुरु गरेर मैले काउन्सिलिङ गर्ने गर्छु । मोटोपनको समस्या फर्मुला मिल्क (दुध) बढी खुवाएको बालबालिकामा देखिएको छ । कुपोषणका कारण ख्याउटेपना, पुड्कोपनाको समस्या देखिएको छ, रोकथामका लागि के गर्नुपर्ला ? पुड्कोपनाको समस्या भनेको आमाको समस्याबाट नै जाने गर्छ । आमा, बुवामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्छ । त्यसका लागि मातृपोषण कार्यक्रम आवश्यक हुन्छ । त्यो सँगसँगै बच्चा आमाको गर्भावस्थामा रहँदा आमाले खानेकुरा कति सुुरक्षित छन् ? कति पौष्टिक तत्व पुगेको छ ? त्यसलार्ई एकदमै ध्यान दिनुपर्ने हुन्छ । बच्चा जन्मिसकेपछि खुवाउने खानेकुरा कस्तो छ ? आमाले सुत्केरी अवस्थामा कति खानेकुरा पाउनुभएको छ ? त्यो कुरालाई सरकारलेपनि ध्यान दिनुपर्ने हुन्छ । र, घरको परिवार वा सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिले पनि कसरी व्यवस्थापन गरिरहेको छ ? त्यसमा पनि भर पर्ने कुरा हो । सुरक्षित खानेकुराको पनि आवश्यक हुन्छ । आमामा पोषणको अभाव भयो भने कम तौलको बच्चा जन्मिने सम्भावना हुन्छ । समय नपुगि बच्चा जन्मिदा बच्चाको तौल, उचाई पुगेको हुँदैन । यसले गर्दा कुपोषण निम्त्याउँछ । कुपोषण सँगसँगै विभिन्न संक्रामक रोगहरु लाग्नसक्छ । र, यसले गर्दाखेरी बच्चालाई मृत्युको मुखसम्म पु¥याउन सक्ने सम्भावना हुन्छ । विद्यालय तहमा पोषण शिक्षाको आवश्यकता देखिन्छ । किन भने विद्यार्थीले शिक्षा पाए भने घरमा गएर अभिभावकलाई जानकारी गराउनुहुन्छ । खाद्यान्नको अभाव भएको ठाउँमा सरकारले खाद्य सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।