डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए । उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे । ‘दैनिक डेङ्गुको सङ्क्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ’, निर्देशक डा. मरासिनीले भने, ‘डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ।’ नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो । सुनसरीमा सात हजार सङ्क्रमित डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ। महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । यस्तै मोरङ एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौँमा एक सय ९६, दार्चुलामा एक सय ९४, सङ्खुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कोशी प्रदेशमा बढी डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् । यस्तै बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७, लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । रासस
सासु कोषबाट उपचार सुविधा लिनै सकस : तोकिएको अस्पतालमा पालो पाइँदैन, निजीमा गए सुविधा आउँदैन
काठमाडौं । सामाजिक सुरक्षा कोषमा चार वर्षदेखि योगदान गर्दै आएका एक युवा उपचारका लागि गत बिहीबार वीर अस्पताल पुगेका थिए । उनी आफ्नो उपचार खर्च सामाजिक सुरक्षा कोषले बेहोर्नेमा ढुक्क थिए । डाक्टरलाई स्वास्थ्य जाँच गराए र पुर्जीमा लेखिएको औषधी किन्न अस्पतालकै फार्मेसीमा गए । तर, डाक्टरले भने अनुसारको औषधि फार्मेसीमा रहेनछ । उनले नियमित सेवन गर्नुपर्ने औषधी वीर अस्पतालको फार्मेसीमा नपाएपछि उनले अस्पताल बाहिरको निजी फार्मेसीबाट औषधी किन्नपुर्याे। ‘अस्पतालको फार्मेसीमा औषधि रहेनछ, बाहिरको फार्मेसीमा औषधी किन्नु मेरो बाध्यता थियो । तर, औषधीको विल सामाजिक सुुरक्षा कोषबाट भुक्तानी भएन’, ती युवाले समस्या सुनाए । सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्ताको उपचारको लागि विभिन्न अस्पतालसँग सम्झौता गरेको छ । तर, ती अस्पतालमा डाक्टरले सिफारिस गरेअनुसारको औषधी भने पाइँदैन । सामाजिक सुरक्षा कोषमै आवद्ध अर्का एक युवाले पनि सरकारी अस्पतालको सेवा प्रवाह बारे गुनासो गरे । ‘कोषमा आवद्ध भएको त्रिबि शिक्षण अस्पतालमा मैले नियमित उपचार गर्दै आएको छु, केही समयदेखि मेरो पेटमा समस्या आयो र इन्डोशकोपी गर्नुपर्ने भयो । तर, अस्पतालले एक महिना पछाडिको मिति दियो’, ती युवाले भने, ‘समस्या अहिले छ, एक महिनासम्म बाँच्छु वा बाँच्दिन ठेगान छैन । अस्पतालले दिएको समय कसरी पर्खनु ?’ त्रिबि शिक्षण अस्पतालमा समय लाग्ने भएपछि उनले ग्रान्डी अस्पतालमा गएर भोलिपल्टै उपचार गरेको बताए । ‘टिचिङमा समय नपाएपछि ग्रान्डीमा गएर भोलिपल्टै उपचार गरें । तर, मेरो स्वास्थ्य उपचारमा सामाजिक सुरक्षा कोषबाट हुनुपर्ने भुक्तानीमा समस्या भइरहेको छ’, ती युवाले भने । यी दुई प्रतिनिधि उदाहरणले सामाजिक सुरक्षा कोषबाट स्वास्थ्य उपचारको सहायता पाउन कति कठिन छ भन्ने देखाउँछ । अहिले सामाजिक सुरक्षा कोषले स्वास्थ्य उपचारको खर्च अस्पतालले नै कटाउने र कोषसँग भुक्तानी लिने व्यवस्था मिलाएको छ । तर, यो व्यवस्थामा योगदानकर्ताले भने हैरानी मात्रै भोगिरहेका छन् । सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल अस्पतालको फार्मेसीमा औषधी नपाएको, उपचारको समय ढिलो पाउने गरेको जस्ता गुनासो आउन थालेको स्वीकार्छन् । कोषबाट स्वास्थ्य उपचारको खर्च दावी गर्न नपाएका योगदानकर्ताले कोषको भूमिकाप्रति प्रश्न उठाएका छन् । ‘वार्षिक १ लाख रुपैयाँ बराबरको उपचार खर्च कोषले बेहोर्ने भनिएको छ । पहिला बिल पेस गरेपछि भुक्तानी हुन्थ्यो । अहिले अस्पतालले नै छुट दिने व्यवस्था गरिएको छ । तर, न त अस्पतालमा भनेको समयमा उपचार हुन्छ न त औषधी नै पाइन्छ’, ती युवाले भने । कोषसँग आवद्ध नभएको निजी अस्पतालमा उपचार गर्दा र औषधी किन्दा कोषले भुक्तानी गर्न नमानेको उनीहरुले बताएका छन् । निजी क्षेत्रका श्रमिकका लागि भनेर सञ्चालनमा ल्याइएको कोषबाट श्रमिकले नै सहजरुपमा सुविधा नपाएको उनीहरुको गुनासो छ । ‘निजी अस्पताल र फार्मेसीबाट उपचार लिनुपर्दा सामाजिक सुरक्षा कोषले सुविधा दिएको अनुभूति नै हुँदैन’, सेवाग्राहीहरु भन्छन् । सामाजिक सुरक्षा कोषका निर्देशक नेपाल भने डाक्टरको सिफारिस अनुसार निजी फार्मेसीमा किनिएको औषधीको विलमा भने भुक्तानी हुने गरेको दावी गर्छन । ‘हामीले अस्पतालको फार्मेसीमा सबै प्रकारका औषधिहरु हुनुपर्ने भनेका छाँै, यदी कुनै अस्पतालमा औषधि भेटिएन भने डाक्टरको सिफारिसअनुसार फार्मेसीको बिल हामी लिन्छौं’, उनले भने । काठमाडौंमा सञ्चालित सरकारी अस्पतालमा बिरामीको चाप उच्च छ । सामान्य उपचारका लागि जाँदा समेत समयमै उपचार पाउन सकिने अवस्था छैन । एक्सरे तथा अल्ट्रा साउण्ड गर्नुपर्ने बिरामीले पनि महिनौ दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता छ । तोकिए बमोजिम सेवा नदिए सम्झौता रद्द अस्पतालसँग भएको सम्झौता अनुसार योगदानकर्ताले उपचार नपाए कोषले सम्झौता रद्द गर्ने बताएको छ । ‘हामीले औषधी उपचारको खर्च सेम डे रिर्भसमेन्ट (उही दिन भुक्तानी) गर्दै आएका छौँ, सम्झौता अनुसारको सुविधा नदिएर दुःख दिने काम भयो भने हामी तुरुन्तै कारबाहीमा उत्रन्छौँ’, नेपालले भने । ‘अहिले हामीकहाँ अस्पतालले दुःख दियो भन्दै योगदानकर्ताले गुनासो गर्नुभएको छ, उहाँहरुको गुनासो आउनासाथ मैले सम्बन्धित अस्पतालमा सम्पर्क गरेर सहजीकरण गर्ने गरेको छु’, उनले भने । ६० अस्पतालसँग सम्झौता कोषले सातै प्रदेशमा रहेका ६० वटा अस्पतालसँग स्वास्थ्य सेवा प्रवाहका लागि सम्झौता गरेको छ । कोषले सम्झौता गरेका सरकारी तथा निजी लगानीका अस्पतालमध्ये बागमति प्रदेशभित्र २७ वटा अस्पताल कोषमा आवद्ध छन् । सुरुवाती चरणमा ६० अस्पतालसँग सम्झौता गरेको कोषले अन्य अस्पतासँग सम्झौता गर्दै जाने बताएको छ । कोषका प्रवक्ता विवेक पन्थीले काठमाडौंमा सञ्चालित निजी क्षेत्रका ठूला अस्पतालसँग सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘हामीले पहिला नै सम्झैता गर्न आउनुस भन्दा उहाँहरु आउनुभएको थिएन, अहिले उहाँहरु आफै आउने तयारीमा हुनुहुन्छ, अबको केही दिनमा नै नाम चलेको ठूला अस्पताल कोषमा आवद्ध हुन्छन’, उनले भने ।
विभिन्न ८ स्थानमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिजले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ । लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल , वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई ११५ जना विभिन्न स्वयंमसेवकहरुद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब १५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए । श्रावणको सोमबार देशभर महादेवको विभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफनो कम्पनीको वार्षिक कार्यक्रम अन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्रगत गरिएको कम्पनीले जनाएको छ ।