नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा शुरु

काठमाडौं । नेपाल एपीएफ अस्पतालमामा बैशाख २७ गते देखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको बुधबार उद्घाटन गरे । सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्य प्रति चासो राख्दै डायलाईसिस र मृगौला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि शुरु भएको डायलाईसिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधिकरणमा महत्वपुर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपाल एपीएफ अस्पताललमा आईसियु तथा भेन्टीलेटरको सुविधा रहेको भएतापनि आपतकालिन अवस्थामा विरामीलाई डायलाईसिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र विरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यता लाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहने समेत बताए । महानिरीक्षक अर्यालले अस्पतालमा डायलाईसिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रीत परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयबासी लगायत आम सर्वसाधारण तथा विपन्न नागरिकहरुले पनि सेवा पाउने नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पुर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । उनले नेपाल एपीएफ अस्पतालको सेवा विस्तार कार्यमा संगठनलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने संघिय प्रादेशिक तथा स्थानीय निकायहरु साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाहरु लगायत सरोकारवाला निकायहरुलाई हार्दिक धन्यवाद दिए । धन्यवादको क्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रुपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल ६ बेड क्षमताको डायलाईसिस सेवा सञ्चालनमा ल्याई आगामी दिनमा अन्य सेवा सुविधाहरु समेत विस्तार गरिदै लगिने बताए । डायलाईसिस सेवा संचालनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट ४ थान र शहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १ थान डायलाईसिस मेसिन प्राप्त भएको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष एवं पदाधिकारीहरु, स्वास्थ्य सेवा विभागका महानिर्देशक, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख, सशस्त्र प्रहरी अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थित रहेको थियो ।

नेपालगञ्जमा आयुर्वेद उपचारको आकर्षण बढ्दै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्ट्रेकाकी सुमित्रा सुवेदीलाई थाइराइड र ग्यासट्रिकले सताउन थालेको धेरै वर्ष भयो । उनले धेरै औषधि गर्नु पनि भयो तर, समस्या कम नभएपछि आयुर्वेदिक औषधि खान सुरु गरिन् । उनले आयुर्वेदिक औषधि खान थालेको चार महिना भएको छ । ‘अरू औषधि जति खाए पनि काम गरेन, महँगो भए पनि आयुर्वेदिक औषधिको ‘साइडइफेक्ट’ छैन’, उनले भने, ‘स्वास्थ्यचौकीले २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क दिने भएकाले राहत भएको छ ।’ नेपालगञ्जमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको चासो बढ्न थालेको छ । आयुर्वेद उपचारको महत्व, विश्वसनीयता र प्रभावकारितापछि बिरामीमा आयुर्वेद उपचार पद्धतिप्रतिको चासो बढेको पाइएको हो । बाँके आयुर्वेद केन्द्रका प्रमुख डा अनिलकुमार चौधरीका अनुसार कोरोना महामारीपछि आयुर्वेद सेवा लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । ‘कोरोनाअघि आयुर्वेद सेवाबारे नागरिकमा चासो थिएन, सरकारले पनि यसलाई खासै महत्व दिएको अवस्था थिएन’, डा चौधरीले भने, ‘कोरोना महामारीपछि भने आयुर्वेदको महत्व जनमानसमा ह्वात्तै बढ्यो, सरकारले पनि विभिन्न कार्यक्रम गरी जनमानसमा आयुर्वेदप्रतिको भरोसा बढायो ।’ कोरोनापछि सङ्घ र प्रदेश सरकारले विभिन्न कार्यक्रमका माध्यमबाट जनतासँग प्रत्यक्ष भेटेर आयुर्वेद उपचारको महत्वबारे जानकारी दिनेदेखि क्वारेन्टिनमा बसेका बिरामीलाई निःशुल्क औषधि वितरण गरी स्वास्थ्यलाभ भएको हुँदा अहिले आयुर्वेद उपचार गराउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको डा चौधरीले जानकारी दिए । विपन्न वर्गका महिलाले बच्चा जन्माइसकेपछि खानपानको कमीले गर्दा बच्चालाई आमाको दूध नपुगेको अवस्थामा स्तनपान सेवाअन्तर्गत दूधवद्र्धकका लागि कुरिलोको चूर्ण र दशमूल तेल निःशुल्क उपलब्ध गराइरहेको छ । सरकारी दरमा ल्याब सेवा पनि सञ्चालनमा ल्याइएको छ भने नसर्ने रोग र दीर्घ जीवनका लागि बिहान ५ देखि ६ः३० बजेसम्म योग कक्षा पनि सञ्चालन भइरहेको छ । केही वर्षअघिसम्म पाँचदेखि १० जना उपचारका लागि आउने गरेकामा अहिले भने दैनिक ५० देखि ६० बिरामी उपचारका लागि आउने गरेको वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले जानकारी दिए । प्रदेश सरकारमार्फत पाँच करोड रुपैयाँको लगानीमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुन लागेको छ । त्यसमा आयुर्वेदका आठवटै अङ्गका विशेषज्ञसहितको सेवा प्रदान गरिने उद्देश्यले प्रदेश सरकारले अस्पताल निर्माण गर्न लागेको हो । डा रेग्मीका अनुसार अधिकांश बिरामी पाइल्स, फिसर, फिस्टुला, बाथ, आँखासम्बन्धी रोग, पेटसम्बन्धी रोग, नसारोग, महिलाको सेतो पानी बग्नेलगायतका बिरामी उपचारका लागि आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । पछिल्लो तथ्याङ्कानुसार आव २०७७/७८ मा २२ हजार छ सय ६९ ले आयुर्वेदको सेवा लिएका थिए । त्यसमध्ये महिला १० हजार नौ सय ३४ रहेका थिए भने ११ हजार सात सय ३५ पुरुषले आयुर्वेदको सेवा लिएका छन् । त्यस्तै आव २०७८÷७९ मा ३५ हजार दुई सय ६८ ले सेवा लिएका छन् । त्यसमध्ये १७ हजार तीन सय ८२ महिला र १७ हजार आठ सय ८६ पुरुषले आयुर्वेद सेवा लिएका छन् । आयुर्वेद केन्द्रमा उपचारका लागि बाँकेका मात्र नभएर बाहिरी जिल्ला र भारतको बहराइजबाट पनि बिरामी आउने गरेको डा रेग्मीले बताए । दैनिक बिरामीको सङ्ख्या वृद्धि भएपछि अहिले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएको छ । केन्द्रले न्यून शुल्कमा विभिन्न सेवा प्रदान गर्ने गरेको छ । रासस

घुर्ने बिरामीका लागि वीर अस्पतालमा निद्रा प्रयोगशाला, दिनको ३ हजार रुपैयाँ

काठमाडौं । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँलाई ठूलै समस्या बनेकाे होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौंको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर तपाइँको उपचार गरिने छ । मानिसमा आएको पछिल्लो जीवनशैलीका कारणले घुर्ने समस्या देखिने गरेको छ । मोटोपन, खानापान र फेरिएको जीवनशैलीले मानिसमा राति सुत्दा घुर्ने समस्या हुने गरेको छ । मानिसमा उच्च रक्तचाप, मोटोपना, मधुमेह, हृदयघात कोलस्ट्रोल रोगसँगै घुर्ने रोगको समस्या पनि बढिरहेको छ । चिकित्सकले राति एकदमै घुर्ने व्यक्तिलाई उपचारका लागि स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर उपचार गर्ने गरेका छन्  । घुर्ने समस्या भएका बिरामीलाई यस प्रयोगशालामा परीक्षणका लागि राति सुताइन्छ । बिरामीसँगै कुरुवा पनि सुत्ने गर्दछन् । राति बिरामीलाई राखेर निद्राको परीक्षण गरिन्छ । ‘राति बिरामीको शरीरमा लिडहरु जोड्छौँ । राति सुतेको बेला त्यो व्यक्तिको गहिरो  निद्रा कति छ भनेर सफ्टवेयरमा रेकर्ड गर्दछौँ’, उनले भने, ‘कति टक घु¥यो, घुर्दा कतिपटक श्वास रोकियो, कतिपटक बिउँझियो जस्ता सबै रेकर्ड गर्दछाैं । त्यो चेकजाँचमा उसको घुराइ नरम कडा के हो भनेर हामीले छुट्टाएर औषधि उपचार गर्दछौँ ।’ निद्रा प्रयोशालामा घुराइको मापन गरेपछि उपचार विधि अवलम्बन गरिन्छ । कडा घुराइका सिप्याप थेरापीबाट उपचार गरिन्छ । सिप्याप थेरापीमा बिरामीलाई मास्क लगाएर सुत्छ, राति सास पनि रोकिँदैन, घुराइ पनि हुँदैन, अक्सिजन पनि कम हुँदैन ।  ‘सिप्याप थेरापीबाट उपचार गर्दा केही दिनमा नै बिरामीको घुराइ बन्द हुन्छ, निद्रा राम्रा पर्छ, दिउँसो निद्रा लाग्दैन । उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा हुन्छ,’ उनले भने, ‘अहिले वीर अस्पतालमा उपचारमा आउने धेरै बिरामीलाई हामीले सिप्याप थेरापीबाट उपचार गर्ने गरेका छौँ ।’ नेपाली बजारमा सिप्यापको मूल्य एक लाख २० हजार रुपैयाँ पर्दछ । सबै चिकित्सकले बिरामीले सिप्याप थेरापी किन्न नसक्नेलाई डेन्टल डिभाइस प्रयोग गर्न आग्रह गर्दछन् ।  सिप्याप थेरापी बिरामीले घरमा नै प्रयोग गर्न सक्दछन् । डा श्रेष्ठ वीर अस्पतालमा आएका प्रायःजसो सबै बिरामीलाई सिप्याप थेरापी प्रयोग गर्नुपर्ने खालका रहेको बताउँछन् । ‘अस्पतालमा आएकामध्ये धेरैजसो बिरामी कडा घुराइ समस्या देखिएको छ’, उनले भने, ‘त्यस्ता बिरामीलाई सिप्याप थेरापी प्रयोग गरेर उपचार गर्ने गरिन्छ ।’  अस्पतालमा युवा अवस्थाका बिरामी धेरै आउने गरेको उनको भनाइ छ । निजी अस्पतालमा एक रातको १४ देखि २० हजार तिर्नुपर्दछ तर वीरमा एक रातको तीन हजार शुल्क तोकिएको छ । निजी अस्पतालमा १०–१२ वर्षदेखि नै स्लिप ल्याब रहेको छ । वीर अस्पतालमा भने चार महिनादेखि सञ्चालनमा ल्याइएको छ । निजीभन्दा वीर अस्पतालमा सस्तो भएपछि धेरै बिरामी आउने गरेका छन् । अस्पतालमा रहेको निद्रा प्रयोगशालामा उपचार गर्न बिरामीले पालो भने कुर्नुपर्ने हुन्छ । एउटा मात्र प्रयोगशाला सञ्चालनमा रहेकाले बिरामीले पालो कुर्नुपर्ने हुन्छ । घुर्ने बिरामीका लागि सञ्चालनमा ल्याइएको वीरको स्लिप ल्याब हप्ताको एक दिन मात्र सञ्चालन गरिएको इन्चार्ज बिनिता पौडेल बताउँछिन् । ‘एउटा मात्र प्रयोगशाला रहेको छ । त्यो पनि हप्तामा एकपटक मात्र चल्ने हुँदा छ बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ,’ उनले भनिन् । उनका अनुसार प्राविधिक पनि नभएर प्रयोगशालालाई दैनिक सञ्चालन गर्न समस्या भएको छ । दक्ष प्राविधिक नहुँदा नर्स पौडेललाई नै तालिम दिएर सिकाइएको छ । ‘बिरामीको शरीरमा राखिएको लिडहरु परीक्षण गर्नुपर्दछ । शरीरमा लगाइएको लिडबाट बिरामी गहिरो निद्रा कति सुत्यो, कति घु¥यो, अक्सिजन कति बढ्यो, कति घट्यो र श्वास कतिपटक रोकियो भन्ने थाहा हुन्छ’, उनले भनिन्, ‘त्यसका लागि बिरामीको अवस्था कस्तो भनेर रातभरि कम्प्युटरमा हेर्नुपर्दछ । म एकजनामा मात्र प्राविधिक भएकाले दैनिक प्रयोगशाला सञ्चालन गर्न सकेका छैनौँ ।’ रिपोर्टकै आधारमा कडा, मध्यम र सामान्य कस्ता खालको घुर्ने समस्या छ भनेर थाहा हुने र सोहीअनुसार उपचार गरिने उनको भनाइ छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले घुराईसम्बन्धी रोग बढ्दै गएपछि निद्रा प्रयोगशाला राखिएको बताए । उनले जनशक्ति थप गरेर हरेक दिन सञ्चालन गर्ने व्यवस्था मिलाइने बताए । वीर अस्पतालका छाती तथा निद्रा रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठले मोटोपनका कारण मानिसमा घुर्ने समस्या बढिरहेको बताए । उनले मोटोपन भएको व्यक्ति घुर्ने, घुर्दा श्वास रोकिने, आत्तिने, बेलाबेलामा उठ्ने जस्ता समस्या पनि देखिने गर्दछ । धेरै घुर्ने मानिसमा राति सुतेको बेला श्वासै रोकिएर बुउँझिने, गहिरो निद्रा नपर्ने र दिउँसो धेरै निद्रा लाग्ने जस्ता समस्या देखिने गर्दछ । घुराइसम्बन्धी यस रोगलाई ‘आब्स्ट्रोक्टिव स्लिप एप्निया’ (कडाइ घुराइसम्बन्धी रोग) भनिन्छ । यस्तै घुराइ गर्दा गहिरो निद्रा नपरेपछि दिउँसो काम गर्ने ठाउँमा निदाइदिने, गाडी, स्कुटर वा बाइक चलाउँदा चलाउँदै निदाउने हुन्छ । कडा खालको घुर्ने रोग हुँदा राति बारम्बार पिसाब लागिरहने, बिहान उठ्दा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुने, घाँटी खसखस हुने जस्ता समस्या लिएर अस्पताल आउने गरेको उनी बताउँछन् । डा श्रेष्ठका अनुसार मोटो मानिसको घाँटीमा बोसो बढ्छ र हावा जाने नली साँघुरिन्छ । त्यस्ता व्यक्ति गहिरो निद्रामा हुँदा घाँटीको मसलहरु आराम गर्छन् र हावाको नली साँघुरिँदै जाँदा बन्द हुन्छ । यसले गर्दा बिरामीलाई श्वास फेर्न गाह्रो भई घुर्ने गर्छन् । उनका अनुसार कडा घुर्ने रोग ९० देखि ९५ प्रतिशत मोटो व्यक्तिलाई देखिने गरेको छ ।  तर पाँचदेखि दश प्रतिशतमा जन्मजात घाँटीमा र चिउडीको बनावट बिग्रिएर पनि सानैबाट घुर्ने समस्या देखिने गरेको छ । विश्वमा छदेखि २० प्रतिशत मानिसहरु घुराइ समस्याका बिरामी भएका छन् । नेपालमा छ प्रतिशतमात्र मान्ने हो भने १८ देखि २० लाख मानिस कडा घुराइ रोगबाट ग्रसित गरिएको आङ्कलन गरिएको उहाँको भनाइ रहेको छ  । मानिसले घुर्नेलाई सामान्य लिने गरेको पाइएको भन्दै तर अहिले घुर्ने रोगका रुपमा देखिएको उनी बताउँछन् ।  ‘मानिसहरुले घुर्नेलाई सामान्य रुपमा लिएका छन् तर त्यसो होइन । धेरै कमलाई मात्र घुर्ने रोग हो भनेर थाहा छ । कडा घुराइ ज्यान जान पनि सक्छ । त्यसैले घुर्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन,’ उनले भने । अस्पतालमा आउने प्रायःजसोमा कडा किसिमका घुर्ने रोगका बिरामी हुने गरेको उनी बताउँछन् । ‘अस्पतालमा प्रायः जसो राति धुराइका कारणले गहिरो निद्रा नपरेर दिउँसो निद्रा लाग्ने, मोटोपना, उच्च रक्तचाप नियन्त्रण गर्न नसक्ने खालका छन्’, उनले भने । कडा घुराइका बिरामीले समयमा उपचार नगरे ज्यान जान पनि सक्ने उनको भनाइ छ । घुर्नेसम्बन्धी कडा रोगका बिरामीलाई उच्च रक्तचाप, मधुमेह, भविष्यमा हृदयाघात, मस्तिष्काघात, अचानक सुतेको बेला मृत्यु हुने र प्यारालासिस हुने सम्भावना अन्य व्यक्तिभन्दा दुईदेखि तीन गुणा बढी हुने उनी बताउँछन् । ‘घुर्ने बिरामीमा राती श्वास र अक्सिजन रोकिने हुन्छ । कडा भएपछि अक्सिजन रोकिएपछि मुटुको चालमा गडबडी आउँछ । त्यसपछि अचानक हृदयघात, मृत्यु हुने जस्ता सम्भावना हुने गर्दछ’, उनले भने । गहिरो निद्राका लागि सुत्ने समय एउटै हुनुपर्दछ । सुत्नअघि चुरोट, मादकपदार्थ सेवन, कफीजस्ता वस्तुको सेवन गर्नुु हुँदैन । ती पदार्थले हाम्रो मस्तिष्कलाई उत्तेजित बनाएर निद्रा लाग्न दिँदैन । यस्तै, सुत्ने कोठाको तापक्रम पनि मिलेको हुनु पर्दछ । तनावका कारणले पनि निद्रा लाग्दैन । रासस