अस्पताल आउने सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति संघ
काठमाडौं । पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा अस्पतालमा आँखा जाच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । नेपाल नेत्रज्योति संघ अन्तरगतका आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्य सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको बताउँछन् संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र । ‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ’ डा. मिश्रले भने । देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको बताउछन् नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द । नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्य दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, किर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, बिराटनगर आँखा अस्पताल, बिराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ । आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरु देखिन्छन् । हरेक बर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ । देशैभरी यो समस्या फैलिएपछि अहिले कतिपय स्थानिय तहहरुले त बिद्यालय बन्दको निर्णय समेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्ने चिकित्सकको सुझाव छ । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी आषधीको प्रयोग गर्नु हुँदैन यसले थप जटिलता निम्त्याउन पनि सक्छ’ प्रा.डा लामिछानेले भने । समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउँछन् डा.लामिछाने । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको बस्तु तथा सामानहरुको प्रयोगबाट मात्र यो रोग सर्ने बताउँछन् उनि । यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्न सुझाव दिन्छन् उनि । कारागारका कैदिबन्दीमा पनि आँखा पाक्ने समस्या जिल्ला कारागार घोराहिमा रहेका कैदिबन्दीहरुका पनि आँखा पाक्ने समस्या तिब्र रुपमा फैलिएकोे छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालको सहयोगमा ४०२ जना कैदि बन्दि रहेको घोराही कारागारमा गरिएको निशुल्क आँखा जाँचमा ६३ जनामा आँखामा आँखा पाक्ने समस्या देखिएको बताउछन् राप्ती आँखा अस्पतालका निमित्त प्रशाशक, नेत्र अधिकृत सालीक राम गौतम । करिब ३–४ दिन पहिले तुलसीपुरबाट जिल्ला कारागार घोराहीमा आएका कैदि बन्दिको आँखा सामान्य रातो भएको देखिएको थियो त्यो आँखाको सङ्क्रमण रहेछ त्यो विस्तारै धेरैमा फैलिसकेको छ जिल्ला कारागार घोराहीका स्वास्थ्थकर्मी योगेन्द्र रिजालले बताए । सो आँखा जाँच कार्यक्रममा नेत्र अधिकृत लाल बहादुर चौधरि, नेत्र अधिकृत सालीक राम गौतम, टेक बहादुर चौधरी, पुर्ण बहादुर वली, किरण पौडेल, छेदुराम चौधरि र शसिकला चौधरीले आँखा जाँच गरका थिए सो अवसरमा नेपाल नेत्रज्योति संघ, दाङका कोषाध्यक्ष श्माम प्रकाश आचार्यको सहभागिता रहेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा. आचार्यको उम्मेदवारी
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारीबारे जानकारी गराएको हो । दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपालसहित ११ राष्ट्र छन् । उक्त पदमा नेपालबाट आचार्यसँगै बंगलादेशबाट पनि उम्मेदवारी परेको छ । परराष्ट्र मन्त्रालयले क्षेत्रीय निर्देशक पदमा आचार्यको उम्मेदवारी दर्ता गराउँदै नयाँ दिल्ली, ढाका, कोलम्बो र बैंककमा रहेका नेपाली राजदूतावासलाई समर्थन जुटाउनका लागि पत्राचारसमेत गरिसकेको छ । दक्षिण पूर्वी एसियामा नेपाल र बंगलादेशसँगै भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर–लिस्टे राष्ट्र छन् । आचार्यले ३० वर्षदेखि विश्वस्वास्थ्य संगठनअन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जम्मेवारीमा रही काम गर्दै आएका छन् । उनीसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव पनि छ । ‘दक्षिण पूर्वी एसियाअन्तर्गतका देशको प्राथमिक स्वास्थ्य सेवालाई सुदृढीकरण गर्दै सम्पूर्ण जनसङ्ख्यामा देखिएको स्वास्थ्य समस्याको मुख्य कारण पत्ता लगाउँदै त्यसको निवारणमा सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छु,’ डा आचार्यले भने, ‘त्यसबाहेक विश्वव्यापी प्राथमिक स्वास्थ्य सेवामा बलियो र समावेशी पहुँच स्थापित गर्दै दिगो विकासका लक्ष्य हासिल गर्नुलाई पनि प्राथमिकतामा राखेको छु ।’ साथै कोरोना महामारी, प्राकृतिक प्रकोपलगायतका विपद्बाट भविष्यमा उत्पन्न हुनसक्ने समस्या समाधानका लागि बलियो स्वास्थ्य सेवाको सुनिश्चितता उपलब्ध गराउनु पनि आफ्नो प्राथमिक रहेको उgको भनाइ छ । ‘विश्वव्यापी रुपमा सूचना प्रविधिका क्षेत्रमा भएको भइरहेको नवीनतम विकासलाई सार्वजनिक स्वास्थ्य सेवाका क्षेत्रमा अधिकतम प्रयोग गर्दै समता र समानताका आधारमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नु मेरो उद्देश्य हुनेछ,’ उनले भने । त्यसैगरी ‘वान डब्लूएचओ’ अभियानअन्तर्गत राष्ट्रिय–क्षेत्रीय–मुख्यालयबीचको प्रभावकारी सञ्चारमार्फत स्वास्थ्य सेवाको पहुँचलाई अधिकारमुखी, जनमुखी, लैङ्गिक उत्तरदायित्व बनाउनु आवश्यक रहेको उनको भनाइ छ । यसका लागि स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सशक्तीकरण, लैङ्गिक उत्तरदायित्व, समावेशीका लागि सरोकारवालाको सहकार्यमा जोड दिनुपर्नेमा उनले बताए । डा. आचार्यले आफूले विश्व स्वास्थ्य संगठनमा आबद्ध भई करिब तीन दशकयता विभिन्न जिम्मेवारीलाई कुलशतापूर्वक निर्वाह गरेको तथा आगामी दिनमा पनि क्षेत्रीय निर्देशकका रुपमा काम गर्न अब्बल भएकाले आफूले उम्मेदवारी दिएको बताए । ‘क्षेत्रीय निर्देशक आफैँमा ठूलो जिम्मेवारी हो, यसका लागि मैले प्राप्त गरेको अनुभव तथा ज्ञानका आधारमा मैले यस क्षेत्रमा धेरै काम गर्न सक्छु र यसका लागि मसँग स्पष्ट योजना र लक्ष्य पनि छ,’ उनले भने । उनले दिगो विकासले लिएका स्वास्थ्यसम्बन्धी लक्ष्य पूरा गर्न दक्षिण पूर्वी एसियाका सदस्य राष्ट्रका लागि बजेटसँगै जनशक्तिको पनि अभाव रहेको भन्दै त्यसतर्फ पनि काम गर्नुपर्ने बताए । दिगो विकासले स्वास्थ्य क्षेत्रको विकासका लागि लिएका लक्ष्य पूरा गर्नका लागि सन् २०३० सम्ममा विश्वव्यापी रुपमा एक करोड ८० लाख सबै प्रकारका स्वास्थ्य जनशक्ति आवश्यक छ । ‘कोरोना महामारीलगायतले हाम्रो स्वास्थ्य प्रणाली कुन अवस्थामा छ भन्ने देखाइसकेको छ, त्यसैले स्वास्थ्य क्षेत्रमा पूर्वाधारसँगै सेवालाई पनि थप बलियो बनाउनु जरुरी छ,’ डा. आचार्यले भने । दक्षिण पूर्वी एसियाका सदस्य राष्ट्रमा सरुवा रोगको नियन्त्रण तथा उन्मूलन गर्नु जरुरी रहेको तथा नसर्ने रोगहरुको बढ्दो सङ्क्रमण चुनौतीका रुपमा देखिएको उनले बताए । उनले यसका लागि जनतामा चेनता जगाउनेदेखि रोकथाम तथा उपचार क्षमतालाई बढाउनुपर्नेमा जोड दिए । आर्थिक रुपमा कमजोर समुदायमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच सुनिश्चितता पनि अहिलेको आवश्यकता भएको उनको धारणा छ । ‘स्वास्थ्य सेवा सुदृढीकरण लागि पशुपन्छी, खाद्यान्न, वातावरण र स्वास्थ्य क्षेत्रलाई जोडेर ‘वान हेल्थ अप्रोच’ बनाएर जानुपर्ने आवश्यकता छ,’ उनले भने । रासस
डेंगुले यो वर्ष नेपालमा ७ जनाको मृत्यु
काठमाडौं । नेपालमा सातहजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए । सोमबार काठमाडौंमा भएको कार्यक्रममा डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताए । उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जति बेलापनि डेंगु सर्न सक्ने बताए । हाल सम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए । ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । निजिस्वास्थ्य संस्थाको रेकर्ड हामीसंग नभएको हुन सक्छ । डेंगुको पहिलो केस नेपालमा २०६१सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ । सन् २०१९र सन् २०२२ मा महामारीको रुप लिएको थियो । जुलाईमा धेरै केस देखिन्छ । यस्तै सात जनाको मृत्यु भएको छ ।जतिपनि विरामीको मृत्यु भएको छ । डेंगीले मात्रै मृत्यु भएको छैन, आइसोलेटेडडेंगीका कारण मृत्यु भएको छैन । कतिपय विरामीहरु किड्नीका हुनुहुन्थ्यो । कतिपयलेडायलायसीस गराइरहनुभएको थियो । कतिपय विरामी सुगरको हुनुहुन्थ्यो’ डा.मरासीनिले भने । स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निशुल्क हुने गरेको बताए । डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । सचिव डा.पोखरेलले भने, ‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र, यो निशुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हो । टेष्टमा शुल्कको एकरुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ । प्राइभेट अस्पतालहरुसँग पनि समन्वय गरेर टेष्टमा एकरुपता ल्याउने कोसीसमा छौं । कहिँ पाँच सयपचास रुपैंया कहिँ नौ सय रुपैंया पनि छ । नेपाल सरकारका केहि अस्पतालमा डेंगुलागेको शंका लागेमा गर्नुपर्र्ने टेष्ट केहि निशुल्क पनि गरिरहेका छौं ।’ शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए । उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताए । ‘डेंगुका चार वटा सेरोटाइप मध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन गर्यो भने कमसेकम पनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । डेंगीलागे पनि गम्भिर नभएसम्म अस्पतालमा नआएको देखिएको छ । डेंगुका गम्भिर विरामीमात्रै अस्पतालमा आएकाले विरामीको चाप कम देखिएको हुनसक्छ । डेंगी उल्लेख्य रुपमा बढेको छैन ।’ नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।