क्यान्सर केयर फाउन्डेसनलाई म्यामोग्राफी जडान आयोजना हस्तान्तरण
काठमाडौं । नेपाल क्यान्सर केयर फाउन्डेसनले ललितपुरमा सञ्चालन गरेको महिला क्यान्सर सेन्टरमा स्थापित म्यामोग्राफी मेसिन जडान आयोजना फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । म्यामोग्राफी मेसिन जडान आयोजना जापान सरकारको सहयोगमा सम्पन्न भएको हो । जापान सरकारले जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रम (ग्रान्ट एसिस्टेन्स फर ग्रासरुट्स ह्युम्यान सेक्युरिटी प्रोजेक्ट्स (जिजिपी) अन्तर्गत फाउन्डेसनको महिला क्यान्सर सेन्टरमा मेसिन जडान गरेको हो । म्यामोग्राफी मेसिन जडान आयोजना हस्तान्तरण गर्न सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत किकुता युताकाले सन् २०१९ को अन्त्यमा सम्पन्न आयोजना २०२० को मार्चमै हस्तान्तरण गर्ने योजना रहे पनि कोरोना महामारीले पर सरेको बताए । जापानको सहयोगमा नयाँ म्यामोग्राफी उपकरण उपलब्ध भएपछि केन्द्रको स्तन क्यान्सर स्क्रिनिङमा उल्लेख्य सुधार आएको उनले बताए । पछिल्लो एक वर्षमा यो मेसिन प्रयोग गरेर पाँच सयभन्दा बढी स्तन क्यान्सर परीक्षण गरिएको र व्यावहारिक प्रयोगमा यो निकै उपयोगी देखिएको जानकारी आफूले पाएको पनि उनको भनाइ थियो । भाइरस परीक्षण र खोपमार्फत रोकथाम गर्न सकिने पाठेघरको क्यान्सर स्क्रिनिङमार्फत प्रारम्भिक रूपमा पहिचान गर्न र त्यसपछि उपचार गर्न यो मेसिन अन्यन्तै महत्वपूर्ण मानिन्छ । कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तले गैरनाफामूलक फाउन्डेसनको क्यान्सरविरोधी लडाइँलाई उक्त मेसिन बरदान साबित हुने बताए । फाउन्डेसनका महासचिव डा. सरिता घिमिरेले विशिष्टीकृत सेवा न्यूनतम शुल्क वा निःशुल्क उपलब्ध गराउन सके क्यान्सरबाट बचाउन सकिन्छ भन्ने मान्यता बोकेर सन् २०१४ मा स्थापित संस्था विभिन्न दाताको सहयोगले यहाँसम्म आएको बताइन् । फाउन्डेसनले सातवटै प्रदेशमा पुगेर जनचेतनामूलक कक्षा सञ्चालन गरेको र सचेतनामूलक भित्तेपात्रो, ब्रोसरबाट आफैँले स्तन क्यान्सर पत्ता लाउने विधि गाउँगाउँ पुर्याइरहेको पनि उनले जानकारी दिइन् ।
सरकारद्वारा देशभरका औषधि पसलहरुको अनुगमन शुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ। औषधि पसलहरु मापदण्ड विपरित चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो । २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको बताए । मिश्रले भने, ‘केहि फार्मेसीहरुको दर्ता प्रमाणपत्र नविकरण नभएको पाइएको छ। विभागमा दर्ता नभएका औषधिहरु पनि फार्मेसीमा राखिएको देखियो । त्यसता औषधिहरु स्याम्पलसहित फिर्ता लिएका छौं । जसको नाममा औषधि पसल दर्ता भएको छ, उहाँ फर्मासिस्टहरु अनुपस्थित रहेको पाइयो । केही औषधि पसलमा कष्मेटिक औषधि पनि बिक्री वितरणका लागि राखेको पाइयो । त्यो हटाउन लगाएका छौं। केही औषधि पसलमा औषधि पसल सञ्चालक र फर्मासिस्ट नै नभएको पनि देखियो । उहाँहरुलाई समय दिएर औषधि व्यवस्था विभागमा उपस्थित हुन भनेका छौं ।’
खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मीलाई मन्त्रालयले हाजिरमा रोक लगाउँदै
काठमाडौं । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो । आइतबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने छ । अन्यत्र दरबन्दी भई वीर अस्पतालमा ९१ जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पताल प्रशासनले उनीहरूको हाजिरी काटिदिएको छ । साउन १ गते उनीहरूको हाजिर काटिदिएकोमा कार्यसम्पादन मूल्याङ्कन फाराम भर्नका लागि भन्दै साउन २ गतेबाट हाजिर गर्न दिइएको थियो । उनीहरूमध्ये ७१ जनाको हाजिरी आइतबारबाट पुनः काटिएको छ । कार्यसम्पादन मूल्याङ्कन फाराम भर्नुपर्ने भएकाले उनीहरूलाई एक साता हाजिर गर्न दिइएको हो भन्दै डा. बस्नेतले भने, ‘आइतबारदेखि अन्यत्र दरबन्दी भएका कर्मचारीलाई रमाना दिइसकिएको छ ।’ मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पहुँचको भरमा दरबन्दीभन्दा फरक स्थानमा कामकाज गरिरहेका कर्मचारीलाई दरबन्दी भएको स्थानमा रमाना दिएर पठाउन थालिएको जानकारी दिए । दरबन्दी अन्यत्र भएका कुनै पनि कर्मचारीले कुनै पनि बहानामा काजमा बस्न नपाउने भन्दै उनले हाजिर नै गर्न नपाएपछि ती कर्मचारीले दरबन्दी भएको स्थानमा जानैपर्ने बाध्यता रहेको बताए । मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले दरबन्दीबाहेक पहुँचका भरमा काजमा बस्न नपाउने व्यवस्थालाई यो पटक भने पूर्ण रूपमा कार्यान्वयन गरिएको बताइन्। उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको पहलमा दरबन्दी भएकै स्थानमा स्वास्थ्यकर्मीलाई पठाउन थालिएको जानकारी दिइन्। ‘मन्त्रीज्यूले यो पटक काजमा रहेका स्वास्थ्यकर्मीबारे संसद्मा समेत स्पष्ट जवाफ दिनुभएकाले उनीहरूलाई यथास्थानमा थमौती गर्नका लागि कतैबाट पनि दबाब आएको छैन’, उनले भनिन् । काजमा बसिरहेका स्वास्थ्यकर्मीको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन । झन्डै सात सय स्वास्थ्यकर्मी केन्द्रमा काजमा रहेको अनुमान गरिएको छ । डा. बस्नेतले वीर अस्पतालमा मेडिकल बोर्डको सिफारिस भई कामकाजमा रहेका स्वास्थ्यकर्मीलाई तत्काल हाजिर नकाटेको बताए । उनले ती कर्मचारीको हकमा छानबिन गरिने जानकारी दिए । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मेडिकल बोर्डको सिफारिस लिएका कर्मचारीको अवधि छ महिना मात्र हुने भन्दै छ महिना नाघिसकेका कर्मचारीलाई दरबन्दी भएकै स्थानमा फिर्ता गर्न निर्देशन दिएका थिए । वीर अस्पतालका कर्मचारीले बाँकी रहेका स्वास्थ्यकर्मीले मेडिकल बोर्डको नक्कली मेडिकल सिफारिस बनाएको आरोप लगाएका छन् । एक कर्मचारीले भने, ‘उनीहरूमध्ये केहीले उच्च रक्तचाप, मधुमेह भएको जस्ता रिपोर्ट बनाएका छन् तर जटिल रोगबाहेक मेडिकल रिपोर्ट बनाउन मिल्दैन ।’ वीरमा काजमा कार्यरत स्वास्थ्यकर्मी खरिद शाखा, बिमा, मेडिकल बोर्ड, स्टोर शाखा जस्ता शाखामा कार्यरत छन् । समाचार आजको गोरखापत्रमा छ ।