खाद्यले दशैंलक्षित सुपथ मूल्य पसल असोजको पहिलो सातादेखि सञ्चालन गर्ने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोजको पहिलो सातादेखि दशैंलक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले देशभर ४२ जिल्लाका ६० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । काठमाडौं उपत्यकामा भने ४ स्थानमा यस प्रकारको पसल सञ्चालन हुने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदिले बताइन् । उनका अनुसार काठमाडौंको थापाथली र रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरमा यस पसल सञ्चालन हुनेछ । पसलमा सामान्य मूल्यभन्दा ५ देखि १० रुपैयाँसम्म सस्तो सूचना अधिकारी सुवेदीले बताइन् । खाद्यले हरेक वर्ष चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । गत वर्ष पनि ४९ स्थानमा पसल सञ्चालन गरेको थियो । उपभोक्ताको हितलाई मध्यनजर गरेर यसवर्ष गतवर्षभन्दा ११ वटा स्थानमा पसल थप गरिएको उनले बताइन् । यसवर्ष स्थानीय तहसँग पनि समन्वयन गर्ने सम्भावना रहेको भएकाले ६० भन्दा धेरै स्थानमा पसल सञ्चालन हुनसक्ने उनले उल्लेख गरिन् । स्थानीय सरकारले इच्छा देखाएर खाद्यको सामग्री बिक्री गर्न चाहेमा खाद्यले समन्वयन गर्ने सूचना अधिकारी सुवेदीले स्पष्ट पारिन् । सामग्रीहरूको मूल्य मन्त्रालयले तय गर्ने भएकाले कुन सामग्रीको मूल्य कति पर्छ भनेर अहिले नै भन्न नसकिने उनले बताइन् ।
बोनस बाँडेर हकप्रद सेयर घटाउँदै बीमा कम्पनी
काठमाडौं । दुई बीमा कम्पनीले घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने अर्थात् घटाउने भएका छन् । पुँजी बजारमा सूचीकृत प्रभु महालक्ष्मी लाइफ र एनएलजी इन्स्योरेन्स कम्पनीले जारी गर्ने भनेर घोषणा गरेको हकप्रद सेयर संशोधन गर्ने निर्णय गरेका हुन् । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने घोषणा गरेका कम्पनीहरू संशोधन गर्दै घटाउन थालेका हुन् । प्रभु महालक्ष्मी लाइफले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित हकप्रद सेयर घटाउँदै अब ७ प्रतिशत मात्रै निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रद सेयर घटाउने निर्णय गरेको कम्पनीले जनाएको छ । १० प्रतिशत बोनस सेयर ७ प्रतिशत हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोकेबमोजिम ५ अर्ब ५ करोड ६३ लाख रुपैयाँ पुग्ने कम्पनीको भनाइ छ । यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा भएकाले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीको ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । प्रस्ताव गरेको उक्त हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । तर, बोर्डले अनुमति नदिँदा हालसम्म हकप्रद सेयर जारी गर्न सकेको छैन । यसबीचमा कम्पनीले ५.५ प्रतिशत बोनस सेयर वितरण गर्याे । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ । उक्त बोनस घटाउँदै कम्पनीले हकप्रद सेयर संशोधन गरेको छ । अब कम्पनीले चुक्ता पुँजीको ६२.५६ प्रतिशत मात्रै हकप्रद सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति नदिएपछि बोनस सेयर वितरण गरेका कारण संशोधन गरेको कम्पनीहरू बताउँछन् । तर, हकप्रद सेयर संशोधन हुँदैमा कुनै असर नपर्ने बीमा कम्पनीका सीईओहरूको भनाइ छ । तर, पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानमा भने असर पर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुली बताउँछन् । ‘कम्पनी र लगानीकर्ताले सोंच्ने तरिका फरकफरक हुन्छ, कम्पनीले प्राविधिक रूपमा सही व्याख्या गरेपनि त्यसले लगानीकताको मनोविज्ञानमा केही न केही असर पुगेको हुन्छ । तर, सकरात्मक असर पुग्छ वा नकरात्मक असर पुग्छ त्यो लगानीकर्तामा निर्भर हुन्छ,’ उनले भने, ‘कस्तो असर गर्छ भनेर सेयर मूल्यमा हुने परिवर्तनका आधारमा मात्र भन्न सकिन्छ ।’
ब्याजदर घटेसँगै बढ्यो घरकर्जा, सिद्धार्थ र एनआईसी आक्रामक
काठमाडौं । पछिल्लो समय ब्याजदर घटेसँगै आवासीय कर्जामा पनि वृद्धि भएको छ । गत वर्ष वाणिज्य बैंकहरूले साढे ३१ अर्ब बढीको आवासीय घर कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत वर्ष बैंकहरूको आवासीय घर कर्जामा १३.१५ प्रतिशत वृद्धि भएको छ । गत वर्ष बैंकहरूले कुल ३ खर्ब १६ अर्ब ८ करोड रुपैयाँ आवासीय घर कर्जामा ऋण प्रवाह गरेका छन् । जबकि अघिल्लो वर्ष बैंकहरूले सोही प्रकृतिको कर्जामा २ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले ३६ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ आवासीय घर कर्जामा बढाएका हुन् । साथै राष्ट्र बैंकले पनि घरकर्जामा सहजीकरण गरेपछि कर्जा वृद्धि हुन पुगेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकले व्यक्तिगत आवासीय घरकर्जाको सीमा बढाएर २ करोड रुपैयाँसम्म पुर्याएको छ । त्यसअघि १ करोड ५० लाख रुपैयाँ मात्रै सीमा थियो । राष्ट्र बैंकको नीतिमा कर्जाको सीमा बढाएकोले घरकर्जा लिने बढेको बैंकरहरू बताउँछन् । समीक्षा अवधिमा सबैभन्दा धेरै सिद्धार्थ बैंकले व्यक्तिगत घरकर्जामा ऋण बढाएको छ । यस बैंकले गत वर्ष ३५.५९ प्रतिशत अर्थात् ३ अर्ब १२ कोड रुपैयाँ बढाए ११ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । यस्तै, एनआईसी एशिया बैंकको ३४ प्रतिशत अर्थात् १५ अर्ब ९ करोड रुपैयाँ बढेर ५९ अर्ब ४६ करोड रुपैयाँ, कृषि विकास बैंकको २४.८९ प्रतिशत अर्थात् २ अर्ब २३ करोड रुपैयाँ बढेर ११ अर्ब १९ करोड रुपैयाँ, नबिल बैंकको २४.६८ प्रतिशत अर्थात् ५ अर्ब ११ करोड रुपैयाँ बढेर २५ अर्ब ८६ करोड रुपैयाँ, सानिमा बैंकको २२ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड रुपैयाँ बढेर ८ अर्ब ३९ करोड रुपैयाँ आवासीय घरकर्जा प्रवाह गरेका छन् । कुमारी बैंकको २०.९१ प्रतिशत अर्थात् २ अर्ब १७ करोड रुपैयाँ बढेर १२ अर्ब ५६ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७.९१ प्रतिशत अर्थात् ५ अर्ब १ करोड रुपैयाँ बढेर ३३ अर्ब रुपैयाँ, नेपाल बैंकको १५.८७ प्रतिशत अर्थात् १ अर्ब ३१ करोड रुपैयाँ बढेर ९ अर्ब ५८ करोड रुपैयाँ, नेपाल एसबीआई बैंकको १५.१५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ बढेर २ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.७८ प्रतिशत अर्थात् ३ अर्ब २१ करोड रुपैयाँ बढेर २४ अर्ब ९२ करोड रुपैयाँ आवासीय घरकर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सिटिजन्स बैंकको १०.५८ प्रतिशत अर्थात् ९४ करोड रुपैयाँ बढेर ९ अर्ब ८५ करोड रुपैयाँ, प्राइम बैंकको ९.७९ प्रतिशत अर्थात् ७२ करोड रुपैयाँ बढेर ८ अर्ब १० करोड रुपैयाँ, एनएमबी बैंकको ८.६९ प्रतिशत अर्थात् १ अर्ब २२ करोड रुपैयाँ बढेर १५ अर्ब २७ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको २.८५ प्रतिशत अर्थात् १७ करोड रुपैयाँ बढेर ६ अर्ब ३७ करोड रुपैयाँ घर निर्माणका लागि ऋण प्रवाह भएको छ । तर, समीक्षा अवधिमा आधा दर्जन बैंकको भने व्यक्तिगत घर निर्माणका लागि जाने कर्जा घटेको देखिन्छ । यस अवधिमा सबैभन्दा हिमालयन बैंकको घटेको छ । यस बैंकको १२.६१ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ घटेर ५ अर्ब २५ करोड रुपैयाँ मात्रै व्यक्तिगत घरकर्जा प्रदान गरेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.१५ प्रतिशत अर्थात् ९९ करोड रुपैयाँ घटेर ७ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको १०.५० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ घटेर १३ अर्ब ६६ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ८.२३ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड रुपैयाँ घटेर १८ अर्ब ८७ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३.४७ प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ घटेर ८ अर्ब ६३ करोड रुपैयाँ र एभरेष्ट बैंकको ०.१७ प्रतिशत अर्थात् ४ करोड रुपैयाँ घटेर २२ अर्ब ९१ करोड रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेका छन् ।