भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी

काठमाडौं । भारतमा कार्यरत अटोमेकरहरूले सन् २०२५ मा करिब एक दर्जन नयाँ इलेक्ट्रिक कार मोडलहरू लन्च गर्ने योजना बनाएका छन् । विश्वव्यापी रूपमा इलेक्ट्रिक सवारी (ईभी) को माग घट्दै गए पनि खरिदकर्तालाई आकर्षित गर्न धेरैजसो प्रिमियम बजारमा लामो ड्राइभिङ रेन्ज र छिटो चार्जिङ समय भएका मोडलहरू ल्याउन लागेका हुन् । शुक्रबारदेखि नयाँ दिल्लीमा सुरु भएको पाँच दिने अटो शोमा ईभी कारहरूले मुख्य स्थान पाएका छन् । यहाँ भियतनामी नवप्रवेशी भिनफास्ट, स्वदेशी ब्राण्ड मारुति सुजुकी र महिन्द्रा एण्ड महिन्द्राका साथै विश्वव्यापी प्रतिस्पर्धी बीवाईडी, टोयोटा र हुन्डाइका मोडलहरू प्रदर्शन गरिएको छ । भारतको ईभी बजारका अग्रणी टाटा मोटर्स र चीनको एसएआईसी मोटरको आंशिक स्वामित्व भएको जेएसडब्लु-एमजी मोटरले विश्वको तेस्रो ठूलो कार बजारमा विस्तारित लाइनअप प्रदर्शन गरे । भारतको ईभी बजार सानो छ, जहाँ २०२४ मा बिक्री भएका ४० लाख ३० हजार कारहरूमध्ये इलेक्ट्रिक मोडलहरूको हिस्सा करिब २.५ प्रतिशत मात्र छ । उच्च मूल्य र अपर्याप्त चार्जिङ नेटवर्कले खरिदकर्तालाई रोकिरहेको जनाइएको छ । सरकारले यसलाई २०३० सम्ममा ३० प्रतिशत पुर्‍याउन चाहन्छ । विश्वव्यापी रूपमा ईभी बिक्रीको वृद्धिदर २०२४ मा गत वर्षको तुलनामा १३ प्रतिशतमा झरे पनि यसले पहिलो पटक एक लाख युनिट नाघेको छ । भारतमा पनि ईभी बिक्री वृद्धि सुस्त गतिमा भइरहेको छ । २०२४ मा गत वर्षको तुलनामा २० प्रतिशतले बढेर करिब १ लाख युनिट पुगेको छ, जुन समग्र कार बजारको सोही अवधिको ५ प्रतिशत वृद्धिभन्दा बढी हो । अटो उद्योगका कार्यकारीहरूका अनुसार लामो रेन्ज र छिटो चार्ज हुने नयाँ मोडलहरूले माग बढाउन सक्छन् । विश्लेषकहरूले भारतमा २०२५ मा ईभी बिक्री दोब्बर हुने अनुमान गरेका छन् । भारतमा पहिलेका इलेक्ट्रिक सवारीहरू जसमध्ये धेरैजसो टाटा मोटर्सका थिए, पेट्रोल कारलाई इलेक्ट्रिकमा रूपान्तरण गरिएका थिए, जसले एक पटक चार्ज गर्दा ३०० किलोमिटर (१८६ माइल) सम्म मात्र गुड्न सक्थे । जसलाई धेरैले बाहिर यात्राका लागि अपर्याप्त मान्थे । नयाँ लन्च हुने अधिकांश मोडलहरू सुरुदेखि नै इलेक्ट्रिक सवारीको रूपमा डिजाइन गरिएका छन् र न्यूनतम ४०० किलोमिटरको रेन्ज दिन्छन् । महिन्द्राजस्ता केही अटोमेकरहरूले ६०० किलोमिटरभन्दा बढीको रेन्ज र २० मिनेटभन्दा कममा २० देखि ८०  प्रतिशतसम्म फास्ट चार्जिङको सुविधा दिइरहेका छन् । महिन्द्राका यस वर्षका दुई इलेक्ट्रिक एसयूभी लन्चको मूल्य २२ देखि ३५ हजार डलर छ । भारतमा कारको औसत मूल्य करिब १२ हजार डलर छ, जहाँ सस्ता मोडलहरूको तुलनामा महँगा मोडलहरूको वृद्धि तीव्र छ । इलेक्ट्रिक सवारी निर्माता भिनफास्ट जसले दक्षिण भारतमा कार कारखाना निर्माण गरिरहेको छ, आफ्नो मिनी-एसयूभी भिएफ थ्री, तीन पङ्क्तिको एमपीभी, भिएफ नाइन लगायत प्रदर्शन गर्नेछ । ‘भारतको बढ्दो मध्यम वर्ग र इलेक्ट्रिक सवारी अपनाउन सरकारी प्रोत्साहनले भिनफास्टको विश्वव्यापी विस्तारका लागि यो स्वाभाविक केन्द्र बनेको छ,’ कार निर्माताले भन्यो । दक्षिण कोरियाली हुन्डाईले भारतमा निर्मित आफ्नो लोकप्रिय क्रेटा एसयूभीको इलेक्ट्रिक संस्करण प्रदर्शन गर्‍यो, जसले प्रतिस्पर्धीहरूलाई टक्कर दिन मद्दत गर्ने आशा गरेको छ । यता बीवाईडीले आफ्नो सिलायन सेभेन इलेक्ट्रिक एसयूभी प्रदर्शन गर्‍यो । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुतिले आफ्नो पहिलो इलेक्ट्रिक सवारी, ई भिटारा एसयूभी प्रदर्शन गर्‍यो, जुन यस वर्षको अन्त्यतिर लन्च हुनेछ । यो कार मारुतिको मूल कम्पनी सुजुकी मोटर र टोयोटाले संयुक्त रूपमा विकास गरेका हुन् । केही कार निर्माताहरूले इलेक्ट्रिक सवारीका साथै प्लग-इन हाइब्रिड कार, फ्लेक्स-फ्युल मोडल, हाइड्रोजन फ्युल सेल सवारी र ग्यासमा आधारित कारहरू पनि प्रदर्शन गर्ने योजना बनाएका छन् । ‘छिटो इलेक्ट्रिक अपनाउने बाटो सबै इलेक्ट्रिफाइड सवारीलाई समानुपातिक रूपमा प्रोत्साहन गर्दा राम्रोसँग काम गर्छ,’ टोयोटाको भारतीय एकाइका कन्ट्री हेड र कर्पोरेट मामिला तथा गभर्नेन्सका कार्यकारी उपाध्यक्ष विक्रम गुलाटीले भने । बीवाईडीको ‘याङवाङ यू नाइन’ सुपरकार जो ६ मिटर उफ्रिन सक्छ (भिडियोसहित) अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

साना लगानीकर्तामा संशय : १० कित्ते नीति हट्न लागेको हो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ लागू गरेको छ । लामो समय अर्थमन्त्रालयमा अड्किएको यो नियमाली मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि अब साना तथा मझौला संगठित संस्था (एसएमईज प्लेटफर्म) मा प्रवेश गर्ने बाटो खुलेको हो । यस नियमालीअनुसार कम्तीमा २५ करोडभन्दा कम चुक्तापुँजी भएका कम्पनीहरू यसमा समावेश हुनेछन् । तर, संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृति लिई बोर्डले अधिकतम सीमा घटाउन वा बढाउन मिल्ने नियमालीमा उल्लेख छ । एसएमईजले जारी पूँजीको ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । आईपीओ जारी गर्नुअघि १५ प्रतिशत संस्थागत लगानीकर्ता र ५ प्रतिशत मर्चेन्ट बैंकरले खरिद गरेको हुनुपर्ने व्यवस्था नियमावलीमा छ । दुवैले खरिद गरेको सेयरको ‘लकइन पिरियड’ तीन वर्ष राखिएको छ । नियमालीअनुसार अब लगानीकर्ताले एसएमईजको आईपीओमा कम्तीमा पाँच सय कित्ताका लागि आवेदन दिनुपर्ने छ । अर्थात् आईपीओमा कम्तीमा पचास हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । सेबोनले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख थियो । कम्तीमा पनि पाँच सय कित्ताको आवेदन दिनुपर्ने व्यवस्था लागू हुने भएपछि केही लगानीकर्ताले यसमा असन्तुष्टि व्यक्त गरेका छन् । सेयर बजार जानकार देव गुरागाईं साना तथा मझौला प्लेटफर्म भनेर नियमावली ल्याउने तर त्यही नियमालीद्वारा नै नियामक निकायले साना लगानीकर्तालाई आईपीओमा बन्देज गर्न खोजिएको बताउँछन् । यो व्यवस्थाले १० कित्ते नीतिलाई हटाउन खोजेको संकेत देखिएको उनको तर्क छ । उनले भने, ‘१० कित्ते नीति हटाउने भन्ने बजारमा हल्ला चलेकै हो, अहिले एसएमईजमार्फत कम्तीमा पाँच सय कित्ता लगानी गर्नुपर्ने व्यवस्था बनाएको छ । यो व्यवस्थाले १० कित्ते नीतिलाई हटाउन मलजल गरेको स्पष्ट देखिन्छ ।’ एसएमईजका नाममा साना पुँजी भएका कम्पनीहरू बजारमा प्रवेश गर्दा यसले झन् जोखिम निम्तिन सक्ने गुरागाईंले बताए । उनले भने, ‘पछिल्लो तीन/चार वर्ष रियल सेक्टर भनेर जस्तो पनि कम्पनी प्रवेश गरेको देखिन्छ । कतिपय कम्पनीहरू प्रिमियममा पनि आएको देखियो । तिनीहरूको वित्तीय विवरण हेर्दा आईपीओको लागि स्वीकृत नै गर्न नहुने भनेर हामीले अनुभव गरेका छौं । अहिले एसएमईजमा पनि साना पुँजी भएका जस्तो कम्पनी पनि आउने देखिन्छ । यसले विकृति दोहोरिएला कि भन्ने आशंका देखिएको छ ।’ एसएमई प्लाटफर्म पुँजीबजारको लागि आवश्यकता औंल्याउँछन् गुरागाईं । ‘स-साना व्यवसाय गर्नेलाई पुँजी जुटाउन सजिलो माध्यम हो एसएमईज । स्वपुँजी नहुँदा बजारबाट पुँजी जुटाएर यो खालको प्लेटफर्ममा सहभागी हुँदा यसले रोजगार सिर्जना हुनुका साथै अर्थतन्त्रमा टेवा पुग्छ,’ उनले भने । नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल आईपीओ भनेकै इनिसियल लगानीकर्ताहरू सहभागी हुने भएको हुँदा यसरी लगानीकर्ताले ठूलो रकम हालेर जोखिम लिन नसक्ने बताउँछिन् । उनले भनिन्, ‘आईपीओ नवप्रवेशी लगानीकर्ताको लागि हुनुपर्ने हो, निम्न आर्जन भएकाहरूले कम्तीमा एक हजार रुपैयाँ छुट्याएर भोलिका दिनमा जम्मा हुँदै जाँदा भविष्यमा गएर राम्रो हुन्छ भन्ने सोच हुन्छ । एसएमईजमार्फत पाँच सय कित्ता भर्नुपर्ने व्यवस्थाले साना लगानीकर्तालाई सिधै निरुत्साहित गर्न खोजिएको देखिन्छ ।’ पोखरेल जोखिम लिएर लगानी गर्नको लागि दोस्रो बजार भएकाले आईपीओ भर्खर प्रवेश गरेका, बजारबारे बुझ्दै गरेका लगानीकर्ताको लागि हुनुपर्ने बताउँछिन् । उनले कम्तीमा पचास हजार लगानी गर्नुपर्ने व्यवस्थाले साना लगानीकर्तालाई बजार प्रवेशमा बन्द गर्न खोजेको अभिव्यक्ति दिइन् । १० कित्ते नीतिले बजारलाई भोलाटाइल बनायो भन्ने कुरा पनि आइरहन्छ । १० कित्ता समातेर बसेका लगानीकर्ताले भन्दा करोडौं, लाखौंको कारोबार गर्नेले बजारलाई भोलाटाइल बनाउने पोखरेल बताउँछिन् । नियामक निकायको ध्यान १० कित्ते नीति हटाउनका लागि गृहकार्य गर्नुभन्दा बजारलाई भोलाटाइल गर्ने, इन्साइडर ट्रेडिङ गर्नेलाई कारबाही गर्नेतर्फ हुनुपर्ने उनको भनाइ छ । १० कित्ते नीति ठीक छैन, यसलाई विस्तारै विस्थापित गर्दै जानुपर्छ भन्ने बजारमा एक खालको तर्क छ । धितोपत्र बोर्डमा १० कित्ते नीति बनाउँदा आफै संलग्न रहेका नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी यो नीति सधैको लागि नबनाएको बताउँछन् । ‘आस्वा लागू भएपछि लगानीकर्ता सबैमा पुँजीबजार फैलियोस्, सेयर बजारसम्बन्धी जानकार होस् भनेर यो नीति ल्याएको हो । यो नीति ल्याएपछि चार/पाँच वर्षमा रिभ्यु गरेर हटाउनुपर्छ भनेर त्यतिबेला नै हामी क्लियर थियौं, ’उनले भने । एसएमईज प्लेटफर्म साना लगानीकर्ताको लागि भन्दा पनि जोखिम लिन सक्ने लगानीकर्ता केन्द्रित प्लेटफर्म भएको हो । जोखिम लिन सक्नेले नै लगानी गर्ने अन्तर्राष्ट्रिय अभ्यास देखिन्छ । लगानीकर्ताले यो मान्यतलाई बुझेर लगानी गर्नुपर्ने पूर्वकार्यकारी निर्देशक गिरी बताउँछन् । एसएईजमा जोखिम भएका हुनाले साना लगानीकर्ता नफसून् भन्ने हिसाबले कम्तीमा ५०० कित्ताको व्यवस्था गरेको हुनसक्ने गिरीको तर्क छ । के भन्छ नियामक निकाय ? साधारणताया एसएईजमा जाने कम्पनीहरू जोखिमयुक्त नै हुन्छ । यस्ता कम्पनीमा लगानी गर्दा बुझेर जोखिम लिन सक्नेले मात्रै लगानी गर्न उपयुक्त हुन्छ भन्ने मान्यताले आईपीओमा आवेदन न्युनतम पाँच कित्ता राखिएको बताउँछन् सेबोनका प्रवक्ता निरञ्जय घिमिरे । यो व्यवस्थाले साना लगानीकर्तालाई निरुत्साहित गर्न खोजेका भन्दा पनि लगानी गर्नुभन्दा अघि सोचून् र लगानी नफसून् भन्ने उद्देश्य रहेको प्रवक्ता घिमिरेले स्पष्ट पारे । ‘५०० कित्ता भनेपछि लगानीकर्ताले बुझेर मात्रै लगानीको निर्णय गरिन्छ । साना लगानीकर्तालाई निरुत्साहित गर्न खोजेको होइन, ’उनले भने । प्रवक्ता घिमिरे ५०० कित्ता आवेदन दिनुपर्ने भन्ने व्यवस्था २५ करोडभन्दा कम चुक्तापुँजी भएको कम्पनीको लागि मात्रै लागू हुने भएकाले सबै कम्पनीको लागि भनेर नबुझ्न आग्रह गर्छन् । २५ करोडभन्दा माथि कम्पनीको लागि पहिलेकै व्यवस्था अर्थात् एक हजार कित्ता नै भर्न पाउने व्यवस्था भएकाले १० कित्ते नीति हटाउने रणनीति नभएको बताए । प्रवक्ता घिमिरे नियमाली लागू भएपनि कार्यान्वयनमा जान समय लाग्ने बताउँछन् । उनले भने, ‘माघ ३ गतेबाट नियमाली लागू भयो, यसको अर्थ नियमावली आयो । कार्यान्वनमा जानुअघि नेप्सेले पनि त्यहीअनुसारको पूर्वाधार बनाउनुपर्छ । बाइलजमा केही परिमार्जन गर्नुपर्ने हुन्छ । त्यसका लागि नेप्सेसँग हामीले पत्राचार गरेका छौं।’ के हो एसएईज प्लेटफर्म ? साना पुँजी भएको कम्पनीहरूले पनि पुँजीबजारमा फाइदा लिन सकून् भनेर अन्तर्राष्ट्रियस्तरमै छुट्टै व्यवस्था छ । जुन कम्पनीहरूको हकमा धेरै ठूलो पुँजी आवश्यक नपर्नुका साथै सूचना दिने, विवरण बनाउने कुरामा न्यूनतम व्यवस्था गरेको हुन्छ । जसले गर्दा ती कम्पनीहरूले सहजै अफोर्ड गर्न सक्छन् । जसलाई एसएमईज प्लेटफर्म भनिन्छ । अन्तर्राष्ट्रिय स्तरमा जहींतहीं स्टक एक्सचेञ्जले नै सेयर निष्काशन गर्ने अधिकार दिएको हुन्छ । यसमा साधरणतया नयाँ कम्पनी, स्टार्टअप कम्पनी हुन्छन् । यस्ता कम्पनीका लागि नियम, नियमावली लचक खालको हुन्छ । जुन कम्पनीहरू भोलि गएर राम्रा गर्न पनि सक्छन्, घाटामा जान पनि सक्छन् । यसको अर्थ यसमा जोखिम उच्च हुन्छ । यो प्लेटफर्मममा जोखिम उच्च भएको हुँदा साना लगानीकर्ताभन्दा पनि ‘हाई नेटवर्थ इन्ड्युभिजुल’ लगानीकर्ता जसले ठूलो परिमाणमा सेयर किन्न सक्छन् । छिमेकी मुलुक भारतमा पनि एसएमईज् प्लेटफर्मको व्यवस्था छ । त्यहाँ लगानीकर्ताले कम्तीमा एक लाखको सेयर किन्नुपर्छ । विभिन्न देशमा एसएईजको लागि छुट्टै बजारको व्यवस्था गरेको हुन्छ । विश्वका केही देशहरूमा भएका व्यवस्थाअन्तर्गत स्वतन्त्र तथा विशिष्टिकृत बजार, मूख्य एक्सचेञ्जअन्तर्गतको सहायक बोर्ड र मुख्य एक्सचेञ्जको साहयक कम्पनीको रुपमा भिन्न बजार । नेपाल धितोपत्र बोर्डले पनि एसएमईजको लागि छुट्टै काउन्टरको व्यवस्था हुनपर्छ भनेर लागिपरेको छ । नेपाल स्टक एक्सचेञ्जमा साना तथा ठूला कम्पनीहरु एउटै प्लेटफर्ममा सूचीकरण तथा कारोबार हुँदा साना पुँजी भएका कम्पनीहरूको मूल्यमा चलखेल हुन सक्ने भएकाले छुट्टै काउन्टरको व्यवस्था हुनुपर्ने बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी बताउँछन् । वित्तीय क्षेत्रको वर्चस्व रहेको नेपालको पुँजी बजारमा पछिल्लो समयमा सूचीकरण भएका जलविद्युत समूहका कम्पनीहरूको उपस्थितिले बजार विविधिकरणमा योगदान पुगेको छ । तर उत्पादनमूलक तथा प्रविधिसम्बन्धी कम्पनीहरूको पुँजी बजारमा नगन्य प्रतिनिधित्व भएकाले यस किसिमका उद्यमहरूलाई पुँजी बजारमा आकर्षित गरी सरल र सहज पूँजी प्रवाहमार्फत विकास र विस्तार गर्न एसएमईज् प्लेटफर्म आवश्यक रहेको अधिकारीले प्रष्ट्याए ।

सुकेधारामा सुविधासम्पन्न पाँच तारे होटल मर्क्योर (भिडियो स्टोरी)

काठमाडौं । काठमाडौंको चक्रपथ (रिङरोड) परिक्रमा गर्दा जोसुकैले पनि सहजै देख्न सक्छन् सुकेधारमा ठडिएको विशाल महल । सुकेधाराको मुहार नै परिवर्तन गर्ने गरी ठडिएको यो महल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले एकल लगानीमा सञ्चालनमा ल्याएको पाँच तारे होटल ‘‘मर्क्योर’ हो । करिब ५ वर्ष समय खर्चेर बनेको उक्त होटललाई विश्व प्रसिद्ध चेन ब्राण्ड ‘मर्क्योर बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी मर्क्योर ग्रुपले सम्हालेको हो । ‘मर्क्योर होटलका हरेक कोठामा काठमाडौंको भावना भरिएको र पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित सहरवरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देख्नेछन् । परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गरेको छ । होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट (डीवाईएनई) डाइनले अन्तर्राष्ट्रिय क्लासिकदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ । सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरुको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरुका लागि शुक्रबारले भित्री र बाहिरी दुवै सिटहरू भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ । पाहुनाहरूले होटलको रुफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्नेछन् भने स्टिम र साउना सुविधासहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन् । आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन् । मर्क्याेर होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरुसम्मका कार्यक्रम र जमघटहरुको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्वाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन् । ‘मर्क्याेर होटलले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने लक्ष्यलाई मूर्त रूप दिएको छ, ’ एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने, ‘मक्याेरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्भित र्छौं ।’ द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको बताए । सन् १९७३ मा स्थापना भएदेखि मर्क्याेर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रवर्द्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा एक हजारभन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचना विकास गर्दै गरेको मर्क्याेर प्रत्येक गन्तव्यका मौलिकता प्रवर्द्धन गरिरहेको होटलको दाबी छ । मक्याेरमा पाँच किसिमका गरी १०४ वटा कोठा छन्- सुपर स्विट, जुनियर स्विट, एक्जुकेटिभ स्विट, स्ट्यान्डर्ड किङ र स्ट्यान्डर्ड क्वीन । हरेक कोठाका सुविधा फरक छन् । विश्वप्रशिद्ध मर्क्याेर ब्राण्डमा पाँच तारे होटल सञ्चालनमा ल्याएका बस्नेतले इटहरीमा पनि विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ लाई भित्र्याएका छन् । व्यवसायी बस्नेतको एकल लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’ पनि २०२५ बाटै सञ्चालनमा आउने बताएका छन् ।