क्रिप्टोकरेन्सीमा रिप्पल र डगकोइनको दबदबा, रिटर्नमा बिटकोइनभन्दा अगाडि
काठमाडौं । क्रिप्टोकरेन्सीको बजार अहिले धेरै उतार-चढावबाट गुज्रिरहेको छ । हाल बिटकोइन विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी हो । अहिले एक बिटकोइनको मूल्य ९६ हजार २०५ डलर (१ करोड ३८ लाख रुपैयाँ) छ । यसको एक प्रतिशत रिटर्नले पनि यसको मूल्यमा ठूलो असर पार्छ भने अन्य क्रिप्टोकरेन्सीको चर्चा निकै कम गरिन्छ । जब कुरा रिटर्नको आउँछ, बिटकोइनको रिटर्नलाई पहिलो प्राथमिकतामा राखिन्छ । त्यसपछि मात्र अन्य क्रिप्टोकरेन्सी पछि आउँछन् । तर यदि बिटकोइनलाई अन्य केही क्रिप्टोकरेन्सीसँग तुलना गरियो भने यो निकै पछि पर्छ । केही क्रिप्टोकरेन्सीहरू छन् जसले एक वर्षमा बिटकोइनभन्दा धेरै बढी रिटर्न दिएका छन् । रिटर्नको मामिलामा तिनीहरूले सुनलाई पनि पछाडि छोडेका छन् । बिटकोइनले कति रिटर्न दियो ? आइतबार बिहान १० बजे एक बिटकोइनको मूल्य करिब १ करोड ३८ लाख रुपैयाँ थियो । एक वर्षअघि यसको मूल्य करिब ६४ लाख रुपैयाँ थियो । यसरी हेर्दा यसले एक वर्षमा लगानीकर्ताहरूलाई १२३ प्रतिशत रिटर्न दिएको छ अर्थात् दोब्बरभन्दा बढी । यी क्रिप्टोकरेन्सीहरूले बिटकोइनलाई पछाडि छोडे एक वर्षको रिटर्नको हिसाबले केही क्रिप्टोकरेन्सीहरूले बिटकोइनलाई पछि पारेका छन् । तिनीहरूले बिटकोइनभन्दा धेरै बढी रिटर्न दिएका छन् । बिटकोइनभन्दा बढी रिटर्न दिने प्रमुख दुई क्रिप्टोकरेन्सीहरू यस्ता छन् : रिप्पल यस क्रिप्टोकरेन्सीले एक वर्षमा ४०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । अहिले यसको मूल्य करिब ३४८ रुपैयाँ छ । एक वर्षअघि यसको मूल्य करिब ६८. ८ रुपैयाँ थियो । यसरी यसको एक वर्षको रिटर्न करिब ४०७ प्रतिशत रह्यो । डगकोइन रिटर्नको मामिलामा डगकोइन पनि पछाडि छैन । एक वर्षमा यसले २०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । अहिले यसको मूल्य करिब ३६.८ रुपैयाँ छ । एक वर्षअघि यसको मूल्य १०.८ रुपैयाँ मात्र थियो । यसरी हेर्दा यसले करिब २४० प्रतिशत रिटर्न दिएको छ । सुनले कति रिटर्न दियो ? सुनले एक वर्षमा करिब ३२ प्रतिशत रिटर्न दिएको छ । यो रिटर्न बिटकोइनको तुलनामा करिब २५ प्रतिशत मात्र हो । अर्थात् बिटकोइनले सुनको तुलनामा चार गुणा बढी रिटर्न दिएको छ । त्यस्तै, रिप्पलले सुनको तुलनामा १३ गुणा र डगकोइनले ६ गुणाभन्दा बढी रिटर्न दिएको छ । (एजेन्सीहरूको सहयोगमा)
बोनस सूचीकरणको ढिलाइले मर्कामा लगानीकर्ता, कम्पनीमाथि दोष थुपार्दै नेप्से
काठमाडौं । यो वर्ष लाभांश घोषणा गर्ने पहिलो कम्पनी हो सुपरमाई हाइड्रोपावर । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेको यस कम्पनीको गत भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशतका दरले ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.६३ प्रतिशतका दरले २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । मंसिर २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्यो । तर, घोषणा भएको ६ महिना हुँदासम्म पनि सेयरधनीहरूले लाभांश पाएका छैनन् । यस्तै, एभरेष्ट बैंकको भदौ २९ गते बसेको सञ्चालक समिति बैठकले १५.५३ प्रतिशत लाभांश प्रस्ताव गर्यो । बैंकले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गर्यो । असोज २० गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्यो । झण्डै ३ महिनापछि गत मंसिर ४ गते मात्रै बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भयो । यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्टको गत भदौ २२ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गर्यो । असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्यो । ३ महिनापछि मात्रै कम्पनीको बोनस सेयर गत मंसिर २७ गते नेप्सेमा सूचीकृत भयो । यी माथिका केही उदाहरणमात्रै हुन् । लाभांश पारित भएको लामो समयसम्म पनि पुँजी बजारमा सम्बन्धित कम्पनीहरूको बोनस सेयर सूचीकृत नहुँदा सेयरधनीहरू मर्कामा परेका छन् । यसवर्ष ६५ कम्पनीले सेयरधनीहरूलाई बोनस सेयर प्रस्ताव गरेका छन् । तर, १७ वटा कम्पनीको मात्रै बोनस सेयर नेप्सेमा सूचीकृत भएको देखिन्छ । लगानीकर्ता राजु पौडेल लामो समयसम्म पनि बोनस सेयर नेप्सेमा सूचीकृत नहुँदा लगानीकर्ताहरू मर्कामा परेको बताउँछन् । उनका अनुसार कुनै कम्पनीको बोनस सेयर सूचीकरणमा वर्षाैं समय लागेका छ । निश्चित अवधिभित्र बोनस सेयर सूचीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था गर्न उनले माग गरे । ‘कुनै कम्पनीको छिटो हुन्छ, कुनै कम्पनीको ढिलो सूचीकरण हुन्छ । कुनै कम्पनीको त एक वर्षसम्म पनि बोनस सूचीकरण हुँदैन । बजार बढेको समयमा बोनस सेयर आयो भने बेच्न पाउँथ्यो । लगानीकर्ताले त्यो अवसर गुमाइरहेका छन् । बोनस सेयर आउँदा बजार धेरै उतारचढाव भइसकेको हुन्छ । सेयर बजार माथि भएको बेला बोनस बिक्री गर्न नि मिल्दैन,’ पौडेलले भने, ‘त्यसैले बोनस सूचीकृतमा पनि एकरूपता ल्याउनुपर्छ । निश्चित समयभित्र बोनस सेयर सूचीकृत गरिसक्नुपर्ने व्यवस्था हुनुपर्छ ।’ वार्षिक साधारण सभा सम्पन्न भएको निश्चित अवधिभित्र बोनस सूचीकरण गरिसक्नुपर्ने गरी कानुनी व्यवस्था मिलाउन पौडेलले सरोकारवाला पक्षसँग माग गरे । नेप्सेका सहायक महाप्रबन्धक निरञ्जन फुयाल नेप्सेमा आवेदन दिएको ७ दिनभित्र सूचीकरण गर्ने गरेको बताउँछन् । कम्पनीले निर्णय गरेको वा साधारण सभाले पारित गरेको यति समयभित्र बोनस सूचीकरण गरिसक्नुपर्ने भनेर कुनै व्यवस्था नरहेको उनको भनाइ छ । ‘बोनस सूचीकरणका लागि नेप्सेमा आवेदन दिएको ७ दिनभित्र जवाफ दिनुपर्छ । कम्पनीले निर्णय गरेको वा साधारण सभाले पारित गरेको निश्चित अवधिभित्र बोनस सूचीकरण गर्नुपर्छ भनेर कुनै व्यवस्था छैन । साधारण सभाले पारित गरेपछि कहिले कम्पनी रजिष्ट्रारको कार्यालय, कहिले कुनै नियामकको स्वीकृति चाहिन्छ । यो चक्करमा जाँदा बोनस सूचीकरणमा ढिलाइ हुने गरेको देखिन्छ, नियामकले कुनै मुद्दामा घुमाउने गरेको छ,’ उनले भने । उनका अनुसार साधारण सभाले बोनस पारित गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा दर्ता गर्नुपर्छ । त्यसपछि नेप्सेमा सूचीकरण गरेर मात्रै सीडीएस एण्ड क्लियरिङले खातामा जम्मा गर्ने गरेको उनले बताए । ‘सेबोनले दर्ता भएको जानकारी गराएपछि मात्रै नेप्सेमा कारोबारयोग्य हुन्छ, ऐनमा नै उल्लेख भएकाले २०६३ सालदेखि सेबोनमा दर्ता नभई कुनै पनि सेयर नेप्सेमा आउँदैन,’ उनले भने, ‘सेबोनमा गएको कुनै कम्पनी ५/७ दिन र कुनै कम्पनीले ५/७ महिना समय लगाएको देखिन्छ, कहाँ, के, कसरी अड्किन्छ ? प्राविधिक विषय थाहा हुँदैन ।’ उनका अनुसार बोनस सेयर सूचीकरणमा सम्बन्धित कम्पनी जिम्मेवार हुनुपर्छ । कम्पनी ऐन, २०६३ को दफा १८२ मा लाभांश दिने निर्णय भएको ४५ दिनभित्र सेयरधनीहरूलाई लाभांश वितरण गरिसक्नु पर्ने व्यवस्था छ । साथै सोही दफाको उपदफा ३ मा यदि ४५ दिनभित्र लाभांश वितरण नगरेमा तोकिए बमोजिमको ब्याज थप गरी लाभांश वितरण गर्नुपर्नेछ । चालु आव ०८१/८२ को साउन १ गतेदेखि हालसम्म ३२ कम्पनीको बोनस सेयर सेयर बजारमा सूचीकृत भएको छ । नेप्सेका अनुसार ३२ वटा कम्पनीको ७ अर्ब ६० करोड ७६ लाख रुपैयाँ बराबरको ७ करोड ६० लाख ७६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। चालु आवमा बोनस सूचीकृत भएका कम्पनीहरूमा केही कम्पनीले गत वर्ष लाभांश घोषणा गरेका हुन् । नेप्सेका अनुसार नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापत १६ लाख ६० हजार ८६८ कित्ता, रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बापत ७ लाख ३९ हजार ९८५ कित्ता, ओरियन्टल होटल्सको ५ प्रतिशत बापत ५ लाख ६४ हजार ४५ कित्ता, सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशतबापत ५ लाख ३२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै, साहस ऊर्जाको ८ प्रतिशत बोनसबापत २८ लाख कित्ता, सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत बापतको ७६ लाख ९० हजार ६५२ कित्ता, सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १० लाख ५० हजार कित्ता, सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापत ५६ लाख ८० हजार ३८९ कित्ता, हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको २५ लाख ७४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । यस्तै, आशा लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत ९ लाख १४ हजार ३०२ कित्ता, भगवती हाइड्रोपावर डेभलपमेन्टको ४ प्रतिशत बोनस बापत २ लाख २८ हजार ८२६ कित्ता, प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत बोनस बापत ४२ लाख ९६ हजार कित्ता, स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३ प्रतिशत बोनस बापत ११ लाख २० हजार ७७८ कित्ता, गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनस बापत १० लाख २४ हजार ९१९ कित्ता, अपि पावर कम्पनीको ५ प्रतिशत बोनस बापत २८ लाख ९३ हजार २९८ कित्ता, कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस बापत २२ लाख ९६ हजार ९१५ कित्ता, एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापत १ करोड १७ लाख ६७ हजार ९०३ कित्ता, नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस बापत १ लाख २२ हजार ४० कित्ता सेयर सूचीकृत भएको छ । यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापत २ लाख ५० हजार कित्ता, समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २८ हजार ५ सय कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापत २० लाख ४ हजार ६६६ कित्ता, सुर्याेदय वोमी लघुवित्तको १४ प्रतिशत बोनस बापत १२ लाख ८२ हजार १०८ कित्ता, ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस बापत १ लाख ९७ हजार २२० कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशत बोनस बापत ७४ लाख ३९ हजार २५० कित्ता, नेपाल रिइन्स्योरेन्सको ४.७५ प्रतिशत बोनसबापत ६० लाख ८६ हजार ४३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनसबापत ९ लाख २३ हजार ३५१ कित्ता, मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशत बोनस बापत ८१ हजार ७६८ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस बापतको ७६ लाख १६ हजार कित्ता, आइएमई लाइफको इन्स्योरेन्सको २५ प्रतिशत बोनस बापत १ करोड कित्ता, प्रुभ इन्स्योरेन्सको ४.७५ प्रतिशत बापत ६ लाख ५३ हजार ६५८ कित्ता नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।
वस्तु आयात गर्ने एलिडा नेपालको दुःखद अवसान, व्यवसायीले धमाधम किन बन्द गर्दैछन् कम्पनी ?
काठमाडौं । ललितपुरको कुपोण्डोलमा विगत लामो समयदेखि व्यापार गर्दै आएको एलिडा नेपाल प्रालि खारेज हुँदैछ । लामो समयदेखि र भारत चीनबाट कस्मेटिकका सामग्रीहरू ल्याएर कारोबार गर्दै आएको उक्त कम्पनी अहिले टाट पल्टिएपछि खारेजीको प्रक्रियामा गएको हो । विशेषगरी नेपालमा आर्थिक सुस्तताको कारण कारोबारमा ठूलो गिरावट आएपछि कम्पनी आर्थिक नोक्साीमा गएर खारेजीको प्रक्रियामा अगाडि बढेको हो । ललितपुरका ती व्यवसायीले ठूलो प्रयास गर्दा पनि कम्पनीलाई माथि उठाउन नसकेपछि अन्ततः खारेजी गर्ने योजनामा पुगे । सरकार र नेपाल राष्ट्र बैंकले पनि विलासिताका वस्तु भन्दै कस्मेटिकका सामग्रीमा आयात कडाइ गरेको थियो । त्यसपछि निरन्तर यो कम्पनी समस्यामा परेको बुझिएको छ । अहिले खारेजीको प्रक्रियामा पुगेको हो । उच्च अदालत पाटनले पनि सो कम्पनीलाई खारेजी गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले विसं २०८१ जेठ ३० गते कम्पनीलाई दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (क) र दफा ३७ बमोजिम खारेज गर्ने आदेश दिएको हो । साथै अदालतले अधिवक्ता रत्न कुमार खरेललाई लिक्विडेटरको रूपमा नियुक्त गरेको छ । कम्पनीले बजारबाट उठाउनु पर्ने ठूलो रकम पनि असुल गर्न सकेको छैन भने अन्य धेरै कम्पनीलाई पनि भुक्तानी गर्नुपर्ने देखिएको छ । खाता विवरण लेजर तथा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न १९ जना कम्पनी तथा फर्महरूले कम्पनीलाई सामान खरिदबिक्री वापतको रकम भुक्तानी गर्नुपर्ने देखिएको हो । दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ४० (१) (ज) अनुसार उक्त रकम असल गर्नुपर्ने दायित्व लिक्विडेटरको हने भएकाले १५ दिनभित्र सम्पर्क गरी भक्तानी गर्न ताकेता गरेको छ । साथै, उक्त म्यादभित्र भक्तानी नभएमा कानुनी उपचारको बाटो अवलम्बन गरिने अधिवक्ता रत्नकुमार खरेलले बताए । उनका अनुसार आर्थिक मन्दीका कारण कम्पनी घाटामा जाँदा खारेज गर्नुपरेको हो । ‘एलिडा नेपालले उठाउनुपर्ने रकम तिर्न ताकेता गरेका हौं, पैसा लिनुपर्ने बाँकी रहेकाबाट असुल गरेर कम्पनी खारेज गर्छाैं । हामीले अरूलाई पनि रकम तिर्नुपर्नेछ,’ उनले भने, ‘आर्थिक मन्दीका कारण कम्पनी घाटामा गएर बन्द गर्नुपर्ने स्थिति सिर्जना भएको हो ।’ कम्पनीले विभिन्न १९ कम्पनीबाट ७३ लाख ९७ हजार ९५५ रुपैयाँ उधारो असुल गर्नुपर्ने रहेको जनाएको छ । कम्पनीका अनुसार बोल बम ट्रेडर्सले ९ हजार २० रुपैयाँ, क्राफ्टेड डिटि ट्रेड लिन्क्सले १ लाख ४४ हजार ३३८ रुपैयाँ, के.सी. मल्टि ट्रेडर्सले ७१ लाख ३६२ रुपैयाँ, कुवेर स्टेसनर्स एण्ड सप्लायर्सले १ लाख ७५ हजार ३६८ रुपैयाँ, क्वालिटि सप्लायर्स प्रालि सुकेधाराले ४ लाख ६८ हजार ३१ रुपैयाँ तिर्नुपर्न रहेको छ । महाताभ जेनेरल स्टोरले १ हजार ९६१ रुपैयाँ, मनिल ट्रेड कन्सर्नले ४ लाख ४३ हजार ११८ रुपैयाँ, मास्के भेराइटिजले ४७ हजार ७९१ रुपैयाँ, मेगा मार्ट प्रालिले ४ लाख ४ हजार ६२६ रुपैयाँ, भाटभटेनी सुपर मार्केटले ४७ लाख ९५ हजार ६०२ रुपैयाँ, नेपाल ओभरसिज मार्केटले २ लाख ५८ हजार ८७६ रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको कम्पनीले जनाएको छ । यस्तै, न्यू सिद्धबाबा ट्रेडर्सले ६ हजार ६६९ रुपैयाँ, आरए सप्लायर्सले ३१ हजार ५९७ रुपैयाँ, एसएसबि मार्केटिङले १ लाख २० हजार ९०४ रुपैयाँ, शिव शक्ति ट्रेडर्सले ५ हजार १५२ रुपैयाँ, श्री स्वर्ण इन्टरप्राइजेजले १७ हजार ९० रुपैयाँ, सुस्मिता जेनेरल स्टोरले १ लाख ३३ हजार ७२७ रुपैयाँ, सुवर्ण मेहर स्टोरले २ लाख ४३ हजार ८६ रुपैयाँ र यास ट्रेडर्सले १९ हजार ६२९ रुपैयाँ उधारो उठाउन बाँकी रहेको कम्पनीले जनाएको छ । एलिडा नेपालले विदेशबाट सामान आयात गरेर नेपालमा बिक्री वितरणको काम गर्छ । अधिवक्ता खरेलका अनुसार व्यवसाय चल्न नसकेका कारण अन्य सयौं कम्पनी खारेजीको प्रक्रियामा छन् । आव २०८०/८१ को असारसम्म १ हजार ७३४ कम्पनी खारेजी भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो समय अधिकांश व्यवसायीले आर्थिक मन्दीको कारण व्यवसाय गर्न समस्या भएकोले कम्पनी नै बन्द गर्नुपरेको प्रतिक्रिया दिन थालेका छन् ।