बैंकहरूको नाफा ३४.२० प्रतिशत बढ्यो, साढे ३२ अर्ब रुपैयाँ आर्जन गर्दा कसको कति ?
काठमाडौं । १० वटा वाणिज्य बैंकले गत वर्ष साढे ३२ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । हालसम्म एभरेष्ट बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नबिल बैंक र हिमालयन बैंक गत वर्ष आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्कअनुसार गत आवमा १० बैंकले ३२ अर्ब ३८ करोड २० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३४.२० प्रतिशत अर्थात् ८ अर्ब २५ करोड ३५ लाख ३२ हजार रुपैयाँ बढी नाफा गरेका हुन् । अघिल्लो आव २०८०/८१ मा २४ अर्ब १२ करोड ८५ लाख २८ हजार रुपैयाँ नाफा गरेका थिए । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरूमा गत वर्ष सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । बैंकले ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत अर्थात् ९३ करोड ४ लाख ५७ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्ट बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.८० प्रतिशत अर्थात् १ अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँ बढी नाफा गरेको हो । कृषि विकास बैंकले गत वर्ष ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकले ४३.३८ प्रतिशत अर्थात् १ अर्ब २५ करोड ६९ लाख ८८ हजार रुपैयाँ बढी नाफा गरेको हो । सिद्धार्थ बैंकको गत वर्षमा खुद नाफा १०.२३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एनएमबि बैंकको गत वर्ष नाफा ४६.२२ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७३ लाख ९६ हजार रुपैयाँ बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २४ करोड ४३ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कुमारी बैंकको खुद नाफा ४५ हजार ८२९ प्रतिशत बढेको छ । बैंकको नाफा वृद्धिदर समग्र बैंकिङ क्षेत्रमै उच्च हो । बैंकले गत वर्ष २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ४६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । माछापुच्छ्रे बैंकको खुद नाफा ९२.४४ प्रतिशत अर्थात् ९६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सानिमा बैंकको गतमा खुद नाफा ७.२४ प्रतिशत बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । सिटिजन्स बैंकको गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । हिमालयन बैंकको नाफा २२.१४ प्रतिशत बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड ८३ लाख ३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
एप्पलविरुद्ध कानुनी लडाइँ लड्दै मस्क, एप स्टोरमा ‘शक्ति प्रदर्शन’ को आरोप
काठमाडौं । अर्बपति एलन मस्कले सोमबार आफ्नो कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप एक्सएआईले एप्पलविरुद्ध एपस्टोर र्याङ्किङसम्बन्धी विषयमा एन्टिट्रस्ट (प्रतिस्पर्धा विरोधी) नियम उल्लंघन गरेको आरोप लगाउँदै कानुनी कारबाही गर्ने बताएका छन् । ‘एप्पल यस्तो ढंगले व्यवहार गर्दैछ जसले ओपनएआई बाहेक कुनै पनि एआई कम्पनीलाई एप स्टोरमा #1 स्थानमा पुग्न असम्भव बनाइदिन्छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्ट उल्लंघन हो । एक्सएआईले तत्काल कानुनी कारबाही गर्नेछ,’ मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् । मस्कले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । एप्पल, ओपनएआई र एक्सएआईले रोयटर्सको टिप्पणीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएका छैनन् । हाल अमेरिकामा आइफोनका लागि एप स्टोरको ‘टप फ्री एप्स’ सूचीमा च्याटजीपीटी पहिलो स्थानमा छ भने एक्सएआईको ग्रोक पाँचाैं र गुगलको जेमिनी च्याटबट ५७ औं स्थानमा छ । सेन्सर टावरका तथ्याङ्कअनुसार गुगल प्ले स्टोरमा पनि च्याटजीपीटी नै शीर्ष स्थानमा छ । एप्पलको ओपनएआईसँग साझेदारी छ, जसअन्तर्गत च्याटजीपीटीलाई आइफोन, आइप्याड र म्याकमा एकीकृत गरिएको छ । ‘एप्पल एप स्टोर जब एक्स विश्वकै #1 समाचार एप हो र ग्रोक सबै एपहरूमा #5 छ, तब तपाईं किन एक्स वा ग्रोकलाई ‘मस्ट ह्याभ’ सेक्सनमा राख्न अस्वीकार गर्नुहुन्छ ? के तपाईं राजनीति खेल्दै हुनुहुन्छ ?,’ मस्कले सोमबारको अर्को पोस्टमा लेखेका छन् । मस्कको टिप्पणी त्यतिबेला आएको हो जब नियामक निकाय र प्रतिस्पर्धीहरूले एप्पलको एप स्टोर नियन्त्रणमाथि कडा निगरानी बढाएका छन् । गत अप्रिलमा अमेरिकी न्यायाधीशले एप्पलले आफ्नो एप स्टोरमा बढी प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने अदालतको आदेश उल्लङ्घन गरेको ठहर गर्दै कम्पनीलाई आपराधिक अवहेलना अनुसन्धानका लागि संघीय अभियोजकलाई पठाएका थिए । यो मुद्दा फोर्टनाइट निर्माता एपिक गेम्सले दायर गरेको हो । युरोपेली संघको एन्टिट्रस्ट निकायले गत अप्रिलमा एप्पललाई ५० करोड युरो (५८ करोड ७० लाख डलर) जरिवाना लगाएको थियो, जसमा उसले प्रविधिक र व्यावसायिक प्रतिबन्ध लगाई विकासकर्ताहरूलाई एप स्टोरबाहिर सस्तो डिलहरूमा प्रयोगकर्तालाई लैजान नदिएको, डिजिटल मार्केट्स एक्टको उल्लङ्घन गरेको निष्कर्ष निकालेको थियो । अलिबाबाबाट अर्बौं कमाएका सोन ३०० वर्ष टिक्ने एआई साम्राज्य बनाउँदै ४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास
भुक्तानी सेवा प्रदायकलाई कडाइ, नियम नमान्नेलाई २० लाखसम्मको जरिवानादेखि खारेजीको व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुका लागि सम्पत्ति शुद्धिकरणसम्बन्धी निर्देशिका जारी गर्दै कडाइ गरेको छ । राष्ट्र बैंकले सोमबार लक्षित वित्तीय प्रतिबन्ध निर्देशिका जारी गर्दै केही कडाइ गरेको हो । राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण ( मनि लाउन्डरिङ्ग) नियमावली २०८१ को परिच्छेद-६ को नियम ६९ को उपनियम (३) मा भए व्यवस्थाअनुसार सो निर्देशिका जारी गरेको उल्लेख गरेको छ । निर्देशिका अनुसार अब भुक्तानी सेवा प्रदायकले संयुक्त राष्ट्र संघको सूचीको अटोमेटेड ईमेल सूचना प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ भने गृह मन्त्रालयद्वारा सञ्चालित टीएफएस पोर्टलमा दर्ता गर्ने वा नियमित रूपमा वेबसाइट हेरेर तोकिएका व्यक्तिहरूको सूचीकरण र सूचीबाट हटाउने सम्बन्धी जानकारी प्राप्त गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले लक्षित वित्तीय प्रतिबन्ध व्यक्ति तथा समूहको परिभाषा पनि स्पष्ट गरेको छ । तोकिएको व्यक्ति र प्रतिबन्धित सूची भन्नाले भन्नाले संयुक्त राष्ट्र संघको सूची (यूएन लिस्ट) र गृह मन्त्रालयद्वारा प्रकाशित घरेलु आतंककारी सूचीमा समावेश भएका व्यक्ति, समूह र निकायलाई वित्तीय प्रतिबन्ध व्यक्तिका रूपमा व्याख्या गरेको छ । यस्तै, भुक्तानी सेवा प्रदायकहरूले आफ्ना ग्राहकहरू (नयाँ र पुरानो दुवै), कारोबारका पक्षहरू, वास्तविक धनी, निर्देशकहरू र एजेन्टहरूका नामहरू प्रतिबन्धित सूचीसँग मेल खान्छन् कि भनेर दैनिक र निरन्तर जाँच मानव वा स्वचालित प्रणालीबाट गर्नुपर्ने व्यवस्था पनि गरेको छ । ग्राहक अनबोर्डिङ गर्नुअघि र आकस्मिक कारोबार सहजीकरण गर्नुअघि प्रारम्भिक स्क्रिनिङ अनिवार्य गरिएको छ । यदि प्रतिबन्धित सूचीमा रहेका व्यक्ति, संस्था वा समूहसँग पूर्ण मिलान भुक्तानी सेवा प्रदायकले तत्काल र पूर्वसूचना बिना ती व्यक्तिको स्वामित्वमा रहेका वा नियन्त्रणमा रहेका सबै रकम तथा सम्पत्ति रोक्का गर्नुपर्ने व्यवस्था गरेको छ । साथै तोकिएका व्यक्तिलाई कुनै पनि प्रकारको रकम उपलब्ध गराउन वा वित्तीय सेवा वा अन्य सम्बन्धित चेवाहरू प्रदान गर्न पूर्ण निषेध गरिएको छ । तोकिएको व्यक्ति र सूचीमा नभएको पक्ष दुवैको स्वामित्वमा सम्पत्ति छ र तोकिएको व्यक्तिको हिस्सा छुट्याउन सकिन्छ भने सो व्यक्तिको हिस्सा मात्र रोक्का गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । कुनै पनि सम्पत्ति रोक्काको उपाय वा तोकिएका व्यक्तिसँगको कारोबारको प्रयास भएमा भुक्तानी सेवा प्रदायकले ३ दिनभित्र नेपाल राष्ट्र बैंकलाई रिपोर्ट गर्नुपर्ने निर्देशिकमा उल्लेख छ । राष्ट्र बैंकले यो निर्देशिकाको पालना नगर्ने भुक्तानी सेवा प्रदायकलाई चेतावनी दिनेदेखि लाइसेन्स खारेजीसँगै १० लाखदेखि २० लाख रुपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था पनि गरेको छ । यस्तै, सम्पत्ति रोक्का गरिएका व्यक्तिले आफ्नो र परिवारका लागि आधारभूत मानवीय आवश्यकता (दैनिक खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा खर्च, कानुनी शुल्क) पूरा गर्न गृह मन्त्रालयमा निवेदन दिन सक्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ । यद्यपि, संयुक्त राष्ट्र संघको सूचीमा रहेका व्यक्तिको हकमा भने सम्बन्धित युनएससी प्रतिबन्ध समितिले गरेको निर्णयअनुसार रकम फुकुवा हुने उल्लेख छ ।