यी हुन् बढी लाभांश दिन सक्ने विकास बैंक, २२ प्रतिशत बढ्यो नाफा
काठमाडौं । विकास बैंकहरुले गत वर्ष २२ प्रतिशत नाफा बढाएका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १४ वटा विकास बैंकहरुको खुद नाफा २२ प्रतिशत बढेर ५ अर्ब ९२ करोड ४८ लाख ६ हजार रुपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्ष ४ अर्ब ८५ करोड ६१ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेका थिए । समीक्षा वर्षमा विभिन्न ८ बैंकको नाफा बढेको छ भने ४ बैंकको नाफा घटेको छ । साथै विभिन्न २ बैंकको नाफा ऋणात्मक रहेको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा मुक्तिानाथ विकास बैंकले गरेको छ भने वृद्धिदरमा सिन्धु विकास बैंक अगाडि छ । मुक्तिानाथ विकास बैंकको नाफा ३०.६९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । जुन विकास बैंकहरुमा सबैभन्दा धेरै हो । यस्तै, गरिमा विकास बैंकको २०१.९६ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सिन्धु विकास बैंकको २८७.६० प्रतिशत बढेर ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ७९.५१ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको ९.१८ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ६.५० प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको १.२५ प्रतिशत बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ०.४८ प्रतिशत बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ नाफा गरेका छन् । एक्सेल डेभलपमेन्ट बैंकको ५.९६ प्रतिशत घटेर ४ करोड ९ लाख १ हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको ३०.१२ प्रतिशत घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ, ज्योति विकास बैंकको ९२.७४ प्रतिशत घटेर १ करोड २३ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् । गत वर्ष कर्पाेरेट डेभलपमेन्ट बैंक १ करोड ६३ लाख ८५ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको २ करोड ५१ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् । खराब कर्जाको भारी गत वर्ष विकास बैंकहरु खराब कर्जाको भारी थिचिएका छन् । अघिल्लो वर्ष औसत ७.७८ प्रतिशत विन्दुमा रहेको खराब कर्जा गत वर्ष ८.१४ प्रतिशत ८.४१ प्रतिशत पुगेको छ । गत वर्ष अधिकांश बैंकको खराब कर्जा बढेको देखिन्छ । समीक्षा वर्षमा नारायणी डभेलपमेन्ट बैंकको खराब कर्जा १०.८० प्रतिशत बढेर ५०.९७ प्रपतशत विन्दुमा पुगेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको ६.९२ प्रतिशत बढेर १२.३६ प्रतिशत विन्दु, ज्योति विकास बैंकको ५०.८५ प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत बढेर ६.७१ प्रतिशत विन्दु, सांग्रिला डेभलपमेन्ट बैंकको ४३.५१ प्रतिशत ५.६४ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । महालक्ष्मी विकास बैंकको १९.४१ प्रतिशत बढेर ४.८६ प्रतिशत विन्दु, लुम्बिनी विकास बैंकको ३८.२९ प्रतिशत बढेर ४.५५ प्रतिशत विन्दु, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २३.६१ प्रतिशत बढेर ४.२४ प्रतिशत विन्दु, कामना सेवा विकास बैंकको ०.५९ प्रतिशत बढेर ३.३८ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ४.७१ प्रतिशत घटेर ३.३३ प्रतिशत विन्दु, मुक्तिनाथ विकास बैंकको १६.०३ प्रतिशत बढेर २.७५ प्रतिशत विन्दु खराब कर्जा रहेको छ । गत वर्ष विभिन्न ३ बैंकले खराब कर्जा घटाएका छन् । मितेरी डेभलपमेन्ट बैंकको ६५.४३ प्रतिशत घटेर ०.२८ प्रतिशत विन्दु, सिन्धु विकास बैंकको ६.०३ प्रतिशत विन्दु र गरिमा विकास बैंकको २.६८ प्रतिशत घटेर ४.७२ प्रतिशत विन्दुमा कायम राखेका छन् । लाभांश क्षमतामा अब्बल विकास बैंकहरुको खराब कर्जा उच्च भएपनि लाभांश क्षमतामा भने अब्बल देखिएका छन् । ज्योति, सिन्धु, कर्पारेट र नारायणीबाहेक अधिकांश बैंकको लाभांश क्षमता दोहोरो अंकमा देखिएको छ । गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको रहेको छ । मुक्तिनाथको २०.७५ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, कामना सेवाको १७.३ प्रतिशत, शाइन रेसुङ्गाको १३.९६ प्रतिशत, मितेरीको १२.८३ प्रतिशत, गरिमाको १२.५९ प्रतिशत, सांग्रिलाको ११.६४ प्रतिशत, महालक्ष्मीको ११.५१ प्रतिशत लाभांश क्षमता देखिन्छ । ग्रीनको १०.६७ प्रतिशत, लुम्बिनीको ८.१३ प्रतिशत, एक्सेलको २.०९ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्क छ ।
बैंकहरूको वितरणयोग्य नाफा साढे २१ अर्ब, ४ बैंकले लाभांश दिन नसक्ने
काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा साढे २१ अर्ब रुपैयाँ रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको वितरणयोग्य नाफा २१ अर्ब ६७ करोड ९८ लाख २१ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष बैंकहरूको वितरणयोग्य नाफा ९ अर्ब ३६ करोड ४९ लाख १६ हजार रुपैयाँ ऋणात्मक थियो । गत वर्ष १६ बैंकको वितरणयोग्य नाफा धनात्मक भएपनि ४ बैंकको भने ऋणात्मक छ । समीक्षा वर्षमा नबिल बैंकको ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकको १४ करोड ५१ लाख ८ हजार रुपैयाँ, एभरेष्ट बैंकको ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।् यस्तै, कृषि विकास बैंकको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ५३ लाख ७२ हजार रुपैयाँ, प्राइम बैंकको २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ, एनएमबि बैंकको १ अर्ब ९० करोड ९४ लाख ४७ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९९ करोड ३३ लाख २६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको तथ्याङ्क छ । यस्तै, सानिमा बैंकको २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकको १ अर्ब २३ करोड ३ लाख ५७ हजार रुपैयाँ, सिटिजन्स बैंकको ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।् तर, गत वर्ष हिमालयन बैंक, नेपाल बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । समीक्षा वर्षमा हिमालयन बैंकको ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँ, नेपाल बैंकको ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ, कुमारी बैंकको २ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ५ अर्ब २१ करोड १५ लाख २२ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । कुन बैंकको कति लाभांश क्षमता ? सार्वजनिक वित्तीय विवरण अनुसार गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको देखिन्छ । एभरेष्ट बैंकको लाभांश क्षमता ३८.३७ प्रतिशत रहेको छ । यस्तै, सानिमा बैंकको २०.४७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, एनएमबि बैंकको १८.४ प्रतिशत, नबिल बैंकको १७.६४ प्रतिशत, प्राइम बैंकको १४.३३ प्रतिशत लाभांश क्षमता रहेको छ । ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२.३४ प्रतिशत, नेपाल एसबिआई बैंकको ११.२९ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत, सिटिजन्स बैंकको ५.२५ प्रतिशत, प्रभु बैंकको ४.४४ राष्ट्रिय वाणिज्य बैंकको १.९४ प्रतिशत, एनआईएमबिको १.४४ प्रतिशत लाभांश क्षमता छ ।
कर्णाली डेभलपमेन्ट बैंकले सेयर जारी गरेर नयाँ लगानीकर्ता खोज्दै, पुँजी बढाएर राष्ट्रियस्तरको बैंक बन्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको सेयर जारी गरेर नयाँ लगानीकर्ता खोज्ने तयारी गरेको छ । बैंकले हाल कायम संस्थापक लगानीकर्तालाई हटाएर नयाँ लगानीकर्ता खोज्ने तयारी गरेको हो । बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा गठन भएको सो ३ सदस्यीय समितिले अहिले कर्णाली डेभलपमेन्ट बैंकको उद्धारको काम गरिरहेको छ । सो समितिले व्यक्तिगत निक्षेपकर्ताको निक्षेप फिर्ता गर्ने काम गरिरहेको छ भने आन्तरिक प्राविधिक कामहरू पनि सम्पन्न भइसकेको बताएको छ । ती कामहरू सम्पन्न भएपछि अब नयाँ लगानीकर्ता खोजेर बैंकलाई नयाँ रणनीति र नयाँ योजनाका साथ अगाडि बढाउने प्रयत्न भइरहेको संयोजक टीकाराम खतिवडाले बताए । ‘अहिले हामीले व्यक्तिगत निक्षेपकर्तालाई प्राथमिकता दिएर निक्षेप भुक्तानी गर्ने काम गरिरहेका छौं, तीन/चार वर्षदेखि हुन नसकेको लेखापरीक्षण जारी छ, बैंकको डुयल डेलिजेन्स अडिट (डीडीए) पनि सम्पन्न गरिसकेका छौं, गर्नै पनि महत्त्वपूर्ण काम सक्यौं, अब नयाँ योजना र रणनीति बनाएर अगाडि बढ्ने प्रयास गर्दैछौं,’ खतिवडाले भने । उनका अनुसार अब बैंकले पुराना संस्थापक सेयरधनीको स्वामित्व रद्द गर्दै सेयर जारी गरेर नयाँ लगानीकर्ता खोज्ने काम हुनेछ । त्यसका लागि पुससम्मको समय लाग्ने उनको भनाइ छ । यद्यपि बैंकको हाल रहेका सर्वसाधारण सेयरधनी भने कायमै रहने उनको भनाइ छ । अहिले कर्णाली डेभलपमेन्ट बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनी र ४९ प्रतिशत सेयर सर्वसाधारणको छ । कुल ५० करोड चुक्ता पुँजी रहेको बैंकमा २५ करोड ६४ लाख संस्थापकको र २४ करोड ६३ लाख रुपैयाँ सेयर स्वामित्व सर्वसाधारणको छ । ‘अब बैंकको पुँजी थप्नैपर्छै, त्यसका लागि हामीले तयारी गरिरहेका छौं, पुराना संस्थापकलाई रद्द गरेर नयाँ ल्याउने तयारी भइरहेको छ, तर, सर्वसाधारण सेयरधनीहरू कायमै रहन्छन्,’ खतिवडाले विकासन्युजसँग भने । उनका अनुसार अहिले रहेका ठूला निक्षेपकर्ताको निक्षेपलाई पुँजीमा रूपान्तरण ( डिपोजिट टु इक्यिुटी) गरेर पनि लगानीकर्ता बनाउन सकिन्छ । ठूलो निक्षेप रहेका संस्थागत लगानीकर्तालाई निक्षेप फिर्ता नगरेर डिवेन्चरमार्फत् पुँजी थप गरी लगानीकर्ता बनाउन सकिने सुविधा पनि रहेको उनको भनाइ छ । पुँजी बढाएर राष्ट्रियस्तरकाे बैंक बनाइँदै अहिले कर्णाली डेभलपमेन्ट बैंक क्षेत्रिय बैंकका रुपमा काम गरिरहेको छ । अहिले यो बैंकले तीन जिल्लाहरू बाँके, बर्दिया र दाङ कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ । तर, राष्ट्र बैंकले प्युठान र रोल्पामा काम गर्न पनि अनुमति दिएको थियो । राष्ट्र बैंकले अब यो बैंकको पुँजी साढे २ अर्ब पुर्याएर राष्ट्रियस्तरको बैंक बनाउने तयारी भइरहेको खतिवडाले जानकारी दिए । बैंकको कुल ५० करोड रुपैयाँ पुँजी रहेकोमा अब बढाएर साढे २ अर्ब पुर्याउने योजना अघि सारेको हो । राष्ट्रिय स्तरको विकास बैंक हुन न्यूनतम् साढे २ अर्ब रुपैयाँ पुँजी हुनुपर्ने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । राष्ट्र बैंकले चारदेखि दश जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले १ अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरूले ५० करोड चुक्ता पूँजी बनाउनु पर्ने व्यवस्था गरेको थियो । उनले अहिले ठूला निक्षेपकर्ताले बचत फिर्ता पाउने सम्भावना पनि नरहेको बताएका छन् । ‘अहिले ठूलो परिमाणमा निक्षेप रहेका संस्थागत निक्षेपकर्ताले पैसा फिर्ता पाउने सम्भावना छैन, अहिले हाम्रो प्राथमिकता भनेको व्यक्तिगत निक्षेपकर्ता हुन्, हामीले सकेसम्म भुक्तानी पनि गरिरहेका छौं, ठूला निक्षेपकर्ताको लागि डिवेन्चर जारी गरेर हुन्छ कि के हुन्छ ढिलाइ भएपनि समस्याको समाधान हुन्छ,’ उनले भने । राष्ट्र बैंकले मंसिर ११ गते कारोबार रोक्का गरेपछि पनि कर्णाली डेभलपमेन्ट बैंकमा १४ करोड ५७ लाख रुपैयाँ निक्षेप जम्मा भएको देखिएको उनको भनाइ छ । उनका अनुसार अहिले चार अर्ब बढी बैंकको दायित्व देखिएको छ । सार्वजनिक तथ्यांकअनुसार २०८१ पुससम्म बैंकमा कुल २ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा, ४ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ निक्षेप थियो । बैंकमा कुल १ लाख ७ हजार २४७ वटा निक्षेपकर्ता र कुल १ लाख १ हजार १२५ निक्षेप खाता संख्या रहेको उल्लेख छ । बैंकको कुल १ हजार ५६ जना ऋणी रहेको उल्लेख छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको दिन २०८१ पुससम्म बैंक एक अर्ब ७६ करोड १९ लाख रुपैयाँ नोक्सानमा थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकमा ३ अर्ब २० करोड रुपैयाँ अपचलन भएको निष्कर्षसहित १०८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालय, बाँकेमा प्रतिवेदन बुझाएको थियो । अहिले अदालतको आदेशले बैंकका सञ्चालक राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी थुनामा छन् । मुद्दाका आरोपित १०५ जना फरार छन् ।