बढी राजस्व तिर्नेलाई नै छानीछानी आक्रमण, वैदेशिक लगानी प्रभावित भएर अर्थतन्त्रमै असर

काठमाडौं । सिप्रदी ट्रेडिङका मालिक सिद्धार्थ राणा प्रत्येक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सरकारबाट सम्मानित हुँदै आएका छन् । उनले व्यक्तिगत आम्दानीमा सबैभन्दा बढी कर तिरेर राज्यलाई ठूलो टेवा पुर्याउँछन् र आफू पनि सम्मानित हुन्छन् । न उनी कुनै विषयमा धारणा राखेर आलोचित बन्छन् नत आफूलाई फ्रन्टलाइनमा देखाएर कुनै व्यावसायिक स्वार्थ नै लिन्छन् । उनको एउटै लक्ष्य हो, इमानदार भएर व्यवसाय गर्ने, राज्यलाई पनि सहयोग गर्ने र जनतालाई पनि रोजगारी दिने ।  तर, विडम्बना तिनै सिद्धार्थ राणाको लगानी रहेको सिप्रदी ट्रेडिङको सोरुममा गत २४ गते जेनजीको प्रदर्शनको नाममा आगजनी भयो । सोरुममा रहेका चार वटा गाडी जलेर ध्वस्त भए । सोरुम सखाप भयो ।  भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पनि एक इमानदार उद्यमीको परिचय बनाएका छन् । तर, सोही दिन भाटभटेनीका १२ वटा स्टोरहरु पूर्णहरुमा आगजनी गरेर ध्वस्त बनाइए । गुरुङलाई यसबाट अर्बौंको क्षति भयो । यो आक्रमणबाट हजारौंले रोजगारी गुमाए, राज्यले पाइरहेको राजस्व पनि ठूलो परिमाणमा गुमाउनेछ ।  देशको अग्रणी दुरसञ्चार प्रदायक कम्पनीको छवि बनार नेपालीलाई सहजै टेलिकम्युनिकेसनमा पहुँच पुर्याउन सहयोग गरेको एनसेलमा पनि आगजनी भयो भने हालै सञ्चालनमा आएको हिल्टन होटल, वर्णवास होटल लगायत ठूल्ठूल्ला कर्पोरेट हाउस र निजी निवासमा समेत आगजनी भयो ।  यसले देशको व्यावसायिक वातावरण खलबलिएको मात्रै छैन, विदेशी लगानीकर्ताको नजरमा पनि नेपाल लगानीका लागि असुरक्षित देशका रुपमा दर्ज भएको छ । व्यवसाय सञ्चालन गरेर हजारौंलाई रोजगारी र राज्यलाई ठूलो परिमाणमा राजस्व तिरिरहेका व्यावसायिक हाउसहरुमा भएको यो आक्रमणले व्यवसायीमा निराशा छाएको छ ।  यसले लगानीकर्ताबीच गम्भीर सन्देह र असुरक्षाको भावना पैदा गरेको विज्ञहरूले बताएका छन् । लगानीविज्ञ नारायण काफ्लेका अनुसार यी कम्पनीहरूले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान दिन्छन् । तर, तिनै कम्पनीहरूलाई नै असुरक्षित बनाइँदा नेपालमा दीर्घकालीन लगानीको सम्भावना माथिनै प्रश्न उठेको छ ।  पटक–पटक हुने आक्रमण, तोडफोड र विवादले मुलुकका ठूला करदाता कम्पनीहरू असुरक्षित बनेका छन् । अर्बौं रुपैयाँ राजस्व बुझाउने कम्पनीहरूमाथि हुने यस्ता हमला र नीतिगत अन्योलताले लगानीकर्ताको मनोबल कमजोर पारेको छ भने नेपालको लगानी गन्तव्यको छवि अन्तर्राष्ट्रिय बजारमै धूमिल हुन थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा क्वेस्ट फर्माका अध्यक्ष उमेशलाल श्रेष्ठले असोज ५ गते आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएको आगजनी र तोडफोडले ठूला लगानीकर्तामाझ गहिरो असमञ्जसस्यताको स्थिति सिर्जना गरेको गुनासो पोखे ।  सम्मेलनका लागि एयरलाइन्स टिकेटिङ, होटल बुकिङ समेतको तयारी भइसकेको बेला यस्तो घटना हुनु विदेशी लगानीकर्ताको नजरमा नेपालमा लगानी गर्नु ‘बालुवामा पानी हाल्नु’जस्तै सन्देश दिने काम भएको उनको बुझाइ छ ।  ‘भदौ २४ गते विदेशी लगानीकर्ताहरूको आँखामा नेपाल एउटा अस्थिर, जोखिमयुक्त गन्तव्यको रूपमा चित्रित भयो । यसले लगानीकर्ताको भरोसा पूर्ण रूपमा हल्लाइदिएको छ,’ उनले भने ।  महासंघका सदस्य गोपाल खनालले यस पटकको लगानी सम्मेलन एउटा उत्साहका साथ हुन लागे पनि आगजनी र आक्रमणले उत्साहमा ब्रेक लागेको बताए । राज्यले व्यवसायीहरूको सुरक्षा दिन चुक्दा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ ।  गैर–आवासीय नेपाली संघ अमेरिकाका सदस्य बाबुराम काफ्लेका अनुसार वैधानिक प्रक्रिया हुँदै नेपाल भित्रिएको लगानीसमेत असुरक्षित हुने अवस्था सिर्जना हुनु विदेशी लगानीकर्ताका लागि निकै नकारात्मक सन्देश हो । यही विषयमा अन्तर्राष्ट्रिय लगानी विज्ञ तथा अधिवक्ता बाबुराम अर्याल पनि चिन्तित छन् । उनका अनुसार यस्ता घटनाहरूले विदेशी लगानीकर्तामा नेपाल असुरक्षित गन्तव्य हो भन्ने मानसिकता सिर्जना गरेको छ ।  अर्याल भन्छन्, ‘पछिल्लो समय लगानी वातावरणमा सुधार हुँदै थियो । त्यसैबेला भएको ध्वंसात्मक कार्यले नेपालमा हुनसक्ने वैैदेशिक लगानीलाई पुनः पछाडि धकेल्ने काम गरेको छ ।’ लगानीको आत्मविश्वास घट्दै बेला बखत हुने यस्ता आक्रमणले लगानीकर्ताको मनोवल नै गिर्ने जानकारहरु बताउँछन् । अधिवक्ता भगवती पाण्डे शितलले ठूला करदाता कम्पनी सुरक्षित नरहेका बेला नयाँ लगानीकर्ताले नेपालमा पूँजी लगाउन डर मान्नु स्वाभाविक रहेको बताउँछिन् ।  उनले भनिन्, ‘यस्ता खालका घटनाले मुलुकलाई उच्च जोखिमयुक्त लगानी गन्तव्यको सूचीमा राख्ने खतरा बढाउँछ । लगानी घट्नु भनेको प्रत्यक्ष रोजगारी मात्र हैन, आपूर्ति श्रृंखलासँग सम्बन्धित लाखौं अप्रत्यक्ष रोजगारी पनि संकटमा पर्नु हो ।’ उनका अनुसार ठूला कम्पनीहरूमाथि भएको आक्रमणले ठूला कम्पनी पनि नेपालमा सुरक्षित छैनन् भन्ने सन्देश दिन्छ, जसको मनोवैज्ञानिक असर दीर्घकालसम्म रहन्छ । विज्ञहरुका अनुसार ठूला करदाता कम्पनीहरूलाई सुरक्षित राख्नु राज्यको कर्तव्य हो । उनीहरूको भौतिक संरचना, कर्मचारी र कारोबारी गतिविधिको संरक्षण गर्न नसक्दा लगानीमै संकट आउँछ । कमजोरी हुँदा अनुसन्धान निष्पक्ष र तथ्यमा आधारित हुनुपर्ने हो । तर, राजनीतिक पूर्वाग्रह वा दबाबमा हुने अनुसन्धानले लगानीकर्तामा डर पैदा गर्ने विज्ञहरूले चेतावनी दिएका छन् ।  यसैगरी राम्रा कार्यमा प्रोत्साहन गर्नु उच्च लगानीको संकेत हो, जुन पछिल्लो समय नेपालमा धुमिल हुँदै गएको अधिवक्ता पाण्डेको दाबी छ । ‘राज्यले लगानीकर्तालाई नीतिगत सुरक्षा दिनुपर्छ,’ अधिवक्ता पाण्डे भन्छिन्, ‘अन्यथा आर्थिक वृद्धिको सपना केबल नारामै सीमित हुनेछ ।’ सुधार नगरे समय गुम्ने नेपालले समृद्धिको लक्ष्य पूरा गर्न विदेशी र स्वदेशी दुवै लगानीलाई प्रोत्साहन गर्नुपर्छ । तर, त्यसका लागि लगानीकर्ताको सुरक्षा, पारदर्शी नीति र दीर्घकालीन स्थायित्व अपरिहार्य सर्त रहेको महासंघ सदस्य खनाल बताउँछन् ।  उनका अनुसार एनसेल, भाटभटेनी र सिप्रदीजस्ता ठूला करदाता कम्पनीमाथिको आक्रमणलाई सामान्य घटना ठान्ने हो भने नेपालको लगानी वातावरण गम्भीर संकटमा पर्न सक्छ । ‘आज ठूला कम्पनीले असुरक्षित महसुस गरे भने भोलि साना लगानीकर्ताले पनि फर्किएर हेर्दैनन्,’ क्वेस्ट फर्माका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो केवल एक/दुई कम्पनीको कुरा होइन, यो सिंगो अर्थतन्त्रको स्थायित्व र भविष्यको कुरा हो ।’ यस्तो संवेदनशील समयमा सरकारले लगानीकर्ताको सुरक्षाप्रति देखाएको कमजोरीले राष्ट्रिय हितमै चोट पु¥याउन सक्छ । समयमै सुधार नगरे पछुतोबाहेक केही बाँकी नरहने उनीहरुको धारणा छ ।   

एनसीएचएल र भायानेटको डेटा सेन्टर पनि जले, कसरी चलिरहेका छन् बैंकका सिस्टम ?

काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को डेटा सेन्टरमा आगजनी गरेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकारीहरूले कान्तिपुर मिडिया रहेको भवनमा आगजनी गर्दा एनसीएचएलको डेटा सेन्टरमा समेत आगो लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले जानकारी दिए ।  ‘हाम्रो मल्टिपल डेटा सेन्टर छन् । एउटा डेटा सेन्टर कान्तिपुर भवनमा छ । कान्तिपुर भवनमा आगलागी हुँदा हाम्रो डेटा सेन्टर प्रभावित भएको छ । के कति क्षति भएको हो स्पष्ट हुन सकिएको छैन,’ उनले भने, ‘हाम्रो मल्टिपल साइट भएकाले सञ्चालनमा केही असर गरेको छैन । हाम्रो मल्टिपल साइटबाट चलिरहेको छ । हाम्रो ४ वटा साइटबाट सिस्टमहरू चल्छन् ।’  सीईओ प्रधानका अनुसार ४ वटा डेटा सेन्टरमध्ये एउटामा प्रभाव परे पनि अन्यबाट प्रणाली चलिरहन्छ । एउटा डेटा सेन्टर क्षति हुँदैमा अप्रेशन र ब्याकअपमा केही असर नगर्ने उनको भनाइ छ ।  ‘कान्तिपुर भवन पुरै जलेको छ । अब हाम्रो डेटा सेन्टरमा के कति क्षति भएको भनेर क्षतिको विवरण संकलनको काम भइरहेको छ,’ उनले भने, ‘उक्त डेटा सेन्टर कहिलेदेखि पुनः सञ्चालनमा आउला त्यसमा भएका सबै सामग्रीहरुको संकलन भइरहेको छ । काम लाग्ने जति सबै लिइरहेका छौं ।’ एनसीएचएल स्रोतका अनुसार कान्तिपुर भवन पुरै जलेको भएपनि ब्याकअप सर्भरमा भने हल्का मात्रै क्षति भएको छ । यस्तै समस्या निम्तिने सक्ने आँकलन गर्दै एनसीएचएले भैरहवा, हेटौंडा, कान्तिपुर भवन, एनसेल भवन, चाबहिल, सिंहदरबारमा ब्याकअप राखेको स्रोतको भनाइ छ । सिंहदरबारमा रहेको डेटा सेन्टर मुख्य रहेको उनले बताए । ‘एनसीएचएलको मुख्य डेटा सेन्टर सिंहदरबारभित्र छ । तर, त्यो डेटा सेन्टरमा केही क्षति भएको छैन । यदि त्यो डेटा सेन्टर जलेको भए बर्बाद हुने थियो । तर, त्यहाँ केही पनि भएन । एनसेलको टावर, कान्तिपुर भवनमा ब्याकअप थियो । कान्तिपुरमा जलेपछि अन्य ब्याकअपबाट प्रणाली सुचारु गरियो,’ उनले भने, ‘जलेको सर्भर लगायतको संकलनको काम भइरहेको छ । खासै धेरै ठूलो क्षति भएको देखिएको छैन । तारहरु जलेको छ । अरु सबै रिकोभरको काम भइरहेको छ ।’ एनसीएचएल स्रोतका अनुसार एउटा डेटा सेन्टर बनाउन २/३ करोड रुपैयाँ लागत लाग्छ । कान्तिपुरमा रहेको डेटा सेन्टर बनाउन पनि सोही अनुसारको लागत लागेको उनले बताए ।  एनसीएचएलको कान्तिपुर भवनमा रहेको डेटा सेन्टरमा क्षति पुगेको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको डेटा सेन्टरमा केही असर नपुगेको बैंकरहरू बताउँछन् । यदि विगतको जस्तो कागजी रूपमा बैंक चलेकाे थिए भने सबै ध्वस्त भइसकेको हुने उनको भनाइ छ ।  ‘यदि कागज पत्र थियो भने ठूलो जोखिम निम्तिन्थ्यो । तर, अचेल सबै बैंकहरू पूर्ण रूपमा डिजिटल भइसकेका छन् । धेरै ठाउँमा डेटा सेन्टर राखेका हुन्छन् । प्राइमरी डेटा र सेकेण्डरी डेटा सेन्टर राखिएका हुन्छन् । जेनजीको आन्दोलनले कुनै पनि बैंकको डेटा सेन्टरमा क्षति पुगेको छैन,’ एक बैंकरले भने, ‘बैंकको डिजिटल प्रणाली स्मुथ तरिकाले चलिरहेका छन् । तर, हाम्रो सिस्टम मात्रै चलेर हुँदैन, इकोसिस्टम चल्नका लागि विभिन्न निकायका सिस्टम पनि चल्नुपर्छ ।’  जेनजी आन्दोलन अघि सिल्भर लाइनमा समस्या आउँदा ८/१० वटा बैंक समस्यामा परेको थियो ।  तर, आन्दोलनमा कुनै पनि बैंकको डेटा सेन्टर जलेको वा क्षति भएको नसुनेको उनले बताए । साथै, यदि कुनै एउटा डेटा सेन्टरमा असर गरेको भए ब्याकअपबाट सेवा तत्काल सुचारु हुने उनको भनाइ छ ।  ‘बैंकहरुले मल्टिपल लोकेसनमा सुरक्षित ठाउँमा डेटा सेन्टर राखेका हुन्छन् । जस्तो मेरो बैंकले तीन वटा ठाउँमा डेटा सेन्टर राखेको छ । प्राय: बैंकले २ वटा डेटा सेन्टर राखेका हुन्छन् । तर, कुनै कुनै बैंकले ३ वटासम्म डेटा सेन्टर राखेका हुन्छन्,’ उनले भने, ‘एउटा सेन्टरमा केही समस्या आयो भने अर्काे सेन्टरबाट काम हुन्छ । यदि सबै डेटासेन्टर जले भने समस्या आउँछ ।’ उनका अनुसार अधिकांश बैंकले काठमाडौं उपत्यकाभित्र नै डेटा सेन्टर राखेका छन् । तर, पछिल्लो समय उपत्यका बाहिर पनि पूर्वाधार विकास भइसकेको हुँदा हेटौंडा, पोखरा, बुटवल, चितवन लगायत ठाउँमा पनि डेटा सेन्टर राख्ने गरिएको उनको भनाइ छ । भायानेट कम्युनिकेशनका प्रबन्ध सञ्चालक विनय बोहरा कान्तिपुर भवन जल्दा भायानेटको ब्याकअपमा क्षति पुगेको बताउँछन् । क्लाउड हिमालय डेटा सेन्टर भाडामा लिए काम गरेको भएपनि त्यहाँ भएका संरचनामा क्षति पुग्दा भायानेटलाई पनि असर गरेको उनको भनाइ छ । ‘हाम्रो ७० प्रतिशत संरचना रहेको कान्तिपुर भवनमा आगलागी हुँदा भायानेटमा पनि क्षति भएको छ । भवनभित्र रहेका विभिन्न कार्यालयनमध्ये क्लाउड हिमालयको डेटा सेन्टर पनि थियो । त्यो डेटा सेन्टरमा भायानेटको पूर्वाधार थुप्रै थियो । गुगल, फेसबुक, टिकट, स्वीच, अकाउन्टिङ सफ्टवेयर लगायत सिस्टम त्यहाँ थियो,’ उनले भने, ‘हामीसँग ब्याकअप पनि हुन्छ । तर, मुख्य ठाउँमा नै क्षति हुँदा ब्याकअपले धान्न नसक्ने हुँदो रहेछ ।’  उनका अनुसार स्लो इन्टरनेट बाहेक अरु सबै समस्या समाधान भइसकेको छ । जेनजी आन्दोलनका कारण भायानेटलाई करिब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको उनको भनाइ छ । उनका अनुसार एउटा राम्रो डेटा सेन्टर बनाउन १०/१५ करोड रुपैयाँ लाग लाग्छ ।  ‘स्लो किन भयो भन्दा सर्भर बन्द गर्दैछौं । अहिले बाहिरिबाट कन्टेन्ट आइरहेको छ । आजसम्म समस्या समाधान गर्न सकियो भने अबको २४ घण्टामा सामान्य हुन सक्छ,’ उनले भने, ‘के कति क्षति भएको छ त्यसकाे गणना हुन समय लाग्छ । यदि सर्भर ठिकै छ भने खासै असर पर्दैन । तर, समय र जुन तनाव भयो जनताले ४/५ दिन नेट नचलाउन पाउनु नै ठूलो घाटा हो ।’ इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली भायानेट र सिजी नेटको डेटा सेन्टरमा क्षति पुगेको र ठाउँ ठाउँमा आगजनी हुँदा तारहरु पनि जलेको बताउँछन् ।  ‘चौधरी समूहको सतुङ्गलमा आगजनी गर्दा सीजी नेटको डेटा सेन्टर जलेको छ । भायानेटको कान्तिपुरमा रहेको क्लाउड हिमालय डेटा सेन्टर जल्दा क्षति पुगेको छ । अरु ठाउँमा आगजनी हुँदा तारहरु जलेका छन् । त्यो मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘अधिकांश इन्टरनेट कम्पनीको तार जलेका छन् । हाम्रो पनि तार जलेर अवरोध भएको छ । त्यो बनाउने काम भइरहेको छ ।’ 

जेनजी आन्दोलनले होटल क्षेत्रमा २५ अर्बको नोक्सान भएको अनुमान, पर्यटकले बुकिङ रद्द गर्न थाले

काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनले हिंसात्मक रुप लिँदा त्यसको प्रत्यक्ष असर पयर्टन क्षेत्रमा पनि परेको छ । पर्यटन व्यवसायीहरुले आन्दोलनले यो क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् ।  होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले अहिलेको अवस्थाले पर्यटन क्षेत्रमा विकराल अवस्था आएको बताए । उनले भने, ‘यो एउटा आकस्मिक अवस्था हो । जब देशभर कफ्र्यू लाग्छ, विमानस्थल बन्द हुन्छन्, पसलहरू बन्द हुन्छन्, तब देश नै ठप्प हुन्छ, यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ ।’ उनका अनुसार पर्यटनको मुख्य सिजन सुरु हुनै लाग्दा आन्दोलन हुँदा थप ठूलो नोक्सान हुनेछ । उनले आन्दोलनकै कारण ‘बुकिङ भइसकेको होटल पनि रद्द हुने क्रम सुरु भएको बताए ।  जेनजी आन्दोलनका क्रममा देशैभरिका करिब दुई दर्जन होटलमा ठूलो क्षति पुगेको अध्यक्ष शाहको भनाइ छ ।  उनका अनुसार तोडफोड, आगजनी र लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षतिसहित देशभर करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । जसकारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ ।  काठमाडौंको लागि ठूलो लगानीको रूपमा विकास गरिएको हिल्टन होटल सञ्चालनमा आएको एक वर्ष नपुग्दै जलेर ध्वस्त भएको छ । २०७८ साल साउन १८ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको यो होटलमा जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगो लगाएपछि पुरै ध्वस्त भएको हो ।  हिल्टन काठमाडौंको सबैभन्दा ठूलो होटल हो । यो होटल शंकर ग्रुपको हो । ८ अर्ब ३५ करोड रुपैयाँ लगानीमा होटल निर्माण भएको थियो ।  यस्तै, काठमाडौंको बालुवाटारमा रहेको वर्णवास होटलमा पनि आगजनी भएको छ । जसको सञ्चालक राजेन्द्र बजगाईं हुन् ।  पोखराको बगैचा रिसोर्ट र सरोवर होटलमा पनि ठूलो नोक्सानी भएको छ ।  अन्य नोक्सान हुने होटलहरूमा पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका होटलहरू रहेका  अध्यक्ष शाहले बताए ।  उनले यी होटलहरू मर्मतसम्भार र पुनर्निर्माण नगरिकन सञ्चालनमा आउन नसक्ने भएकाले चाडपर्वको मुखमा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर परेको बताए । जेनजी आन्दोलनले राष्ट्रिय सम्पदाको संरक्षणमा गम्भीर प्रश्न खडा गरेको छ । अध्यक्ष शाह भावुक हुँदै भन्छन्, ‘हाम्रो धरोहरमा आगलागी भएको छ । यस्तो हुनु हुँदैन, हामीलाई त यो भोलिको लागि पनि चाहिन्छ । ’ उनका अनुसार यस्तो अस्तव्यस्त अवस्थामा पर्यटकहरूले ठूलो असहजता भोगिरहेका छन् । एयरपोर्ट बन्द हुनु, आवतजावतमा रोक लाग्नु र आधारभूत आवश्यकता पूरा गर्न पनि समस्या हुनुले उनीहरूको नेपाल बसाइ कष्टकर बनेको छ ।  ‘अहिले क्षतिको मूल्याङ्कन गर्ने बेला होइन,’ शाह भन्छन्, ‘मेरो अगाडि पर्यटकहरू अलपत्र परेका छन्, उनीहरूलाई कसरी खानेकुरा र पानी पु¥याउने भन्ने चिन्ता छ । हामी अहिले त्यसैमा केन्द्रित छौं ।’  पर्यटन व्यवसायीहरूले अहिले सेनाको सहयोग र सहकार्यमा अलपत्र परेका पर्यटकहरूलाई सुरक्षित राख्न र उनीहरूको व्यवस्थापन गर्न हरसम्भव प्रयास गरिरहेको होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्यले बताए ।  उनका अनुसार क्षतिग्रस्त होटलहरूले बैंक तथा वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रूपमा भुक्तानी गर्न असमर्थ रहने अवस्था सिर्जना भएको छ ।  होटल एसोसिएसन अफ नेपालले यी होटलहरूलाई मर्मतसम्भार र पुनःनिर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर पर्यटन विकासको क्षेत्रलाई अघि बढाउन माग गरेको छ ।  शाक्यका अनुसार घुम्ने र रमाइलो गर्ने उद्देश्यले आएका पाहुनाहरूलाई सुरक्षित र सहज वातावरण प्रदान गर्नुभन्दा अर्को ठूलो प्राथमिकता छैन ।  उनले भने, ‘यो संकटले नेपालको पर्यटन उद्योगमा दीर्घकालीन असर पार्ने निश्चित छ । अहिलेको तत्कालको प्राथमिकता भनेको सबै पर्यटकलाई सुरक्षित राख्नु र उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नु हो ।’ भविष्यमा नेपालले पर्यटकहरूका लागि एउटा सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश कसरी दिन्छ भन्ने कुरामा ठूलो चुनौती रहेको उनको भनाइ छ । यसका लागि देशमा शान्ति स्थापना र क्षतिको पुनः निर्माण अपरिहार्य देखिएको महासचिव शाक्य बताउँछन् । पर्यटन विभागका निर्देशक हिमाल गौतम पनि जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँछन् । उनका अनुसार हालैको परिस्थितिपछि नेपालको पर्यटन क्षेत्र बिस्तारै सामान्य अवस्थामा फर्किनेछ । पर्वतारोहणका लागि परमिट लिएका पर्यटकहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् भने अन्य पर्यटकहरूको आगमनको क्रम पनि जारी छ । उनले प्रिबुक गरिएका भ्रमणहरू रद्द वा क्यान्सिल नभएको र यस विषयमा खासै आपत्ति नरहेको स्पष्ट पारे । परिस्थिति बिस्तारै सामान्य हुने अपेक्षा उनको छ ।  यद्यपि पछिल्लो समय पर्यटकहरूले अनुभव गरिरहेको चुनौती र केही पसल तथा होटलहरूमा आगजनीजस्ता घटनाबारे प्रश्न गर्दा अधिकारीले सरकार र सम्बन्धित निकाय सक्रिय रहेको जनाए ।  उनले भने, ‘यस अवस्थामा पर्यटक प्रहरीको भूमिका बढाइएको छ र पर्यटन बोर्ड, पर्यटन विभाग, मन्त्रालय तथा पर्यटन प्रहरीहरूले समन्वय गरी स्वयंसेवक परिचालन गरिरहेका छन् ।’ विशेषगरी एयरपोर्टबाट होटलसम्म र होटलबाट विभिन्न स्थानसम्म पर्यटकलाई पुर्याउन पर्यटक प्रहरी र टुरिजम बोर्डले सवारीसाधनको व्यवस्था गरेको छ ।  अहिलेको अवस्थामा पर्यटकहरूको सुरक्षा र सहजीकरणमा विशेष ध्यान दिइएको गौतमको भनाइ छ ।