सबै प्रक्रिया पुरा गरेर एनसेललाई लाभांश सटही भुक्तानी–राष्ट्र बैंक
काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले सबै प्रक्रिया पुरा गरेर एनसेललाई लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही गरेको दावी गरेको छ । दुरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दुरसंचार प्राधिकरण, उद्योग विभाग र ठूला करदाता कार्यालयको समेत सहमतिमा लाभांश भुक्तानीको लागि विदेशी मुद्रा सटही सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ । एनसेलको ११औ वार्षिक साधारणसभाले एनसेलले आर्थिक वर्ष २०६८/६९ को नाफाबाट लाभांश बापत ११ अर्ब रुपैयाँ वितरण गर्ने निर्णय गरेको जनाउँदै त्यसको ८० प्रतिशत लाभांश विदेशी लगानीकर्तालाई भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा माग गरेको थियो । चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको एनसेलमा २० प्रतिशत (२ करोड रुपैयाँ) नेपाली र ८० प्रतिशत (८ करोड रुपैयाँ) विदेशी लगानी रहेको छ । तर एनसेल दावी भनेझै ८ करोड रुपैयाँ बराबरको विदेशी लगानी बैंकिङ प्रणाली मार्फत आएको नदेखिएको जनाउँदै नेपाल राष्ट्र बैंकले २०७० माग १३ गते लाभांश बाफतको विदेशी मुद्रा सटही दिन अस्वीकार गरेको थियो । करिब तीन वर्ष पुरानो निर्णयमा परिवर्तन गर्दै नेपाल राष्ट्र बैंकले गत भदौ २७ गते ८ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा एनसेलको लगानीकर्ता रेन्योल्डस् होल्डिङ लिमिटेड, वेष्ट इन्डिजलाई भुक्तानी दिएको छ । राष्ट्र बैंकले प्रक्रिया पुरा नगरी रेन्योल्डस् होल्डिङलाई विदेशी मुद्रा सटही गरि भुक्तानी दिएको समाचार प्रकाशित भएपछि राष्ट्र बैंकले सोमबार पत्रकार सम्मेलन गरी ‘सबै प्रक्रिया पुरा गरि सटही भुक्तानी दिएको’ प्रष्टीकरण दिएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार सबै प्रक्रिया पुरा गरेर लाभांश भुक्तानीको लागि विदेशी मुद्रा भुक्तानी गरिएको राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेलले बताए । ‘एनसेलमा विदेशी लगानीकर्ताको हिस्सा ८ करोड रुपैयाँ मध्ये यस बैंकले तोकेबमोजिम बैकिङ प्रणालीबाट ५ करोड ८१ लाख रुपैयाँ बराबर मात्र विदेशी मुद्रा लगानी भित्रिएको देखिएको थियो । २ करोड २१ लाख रुपैयाँ बराबर विदेशी मुद्रा बैकिङ प्रणालीबाट भित्रिएको नदेखिएको अवस्थामा राष्ट्र बैंकले तीन वर्षअघि लाभांश भुक्तानीका लागि विदेशी मुद्रा सटही दिएको थिएन’ प्रबक्ता पौडेलले भने–‘कम्पनीले बाँकी २ करोड २१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लगानीको रुपमा भित्रिएको प्रमाण पेश गरेकोले विदेशी लगानी वापतको लाभ वा लाभांशको रुपमा प्राप्त विदेशी मुद्रामा नेपाल बाहिर लैजान स्वीकृति दिएको छौं ।’ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९को दफा १० अनुसार लाभांश भुक्तानी गरिएको उनले बताए । कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्र, अद्यावधिक गरिएको विवरण, प्रबन्त्रपत्र, नियमावली, लेखापरीकबाट प्रमाणित वित्तीय विवरण, नियमनकारी निकायबाट लिएको स्वीकृति पत्र, विदेशी लगानी स्वीकृत पत्र, विदेशी लगानी भित्र्याएको बैंक स्टेटमेन्ट, साधारणसभाले गरेको निर्णय लगायत सबै कागजपत्र लिएर भुक्तानी संबन्धित निर्णाय गरिएको राष्ट्र बैंकले जनाएको छ ।
मेलम्चीले खायो १९ अर्ब ५० करोड रुपैयाँ, आगामी असोजामा धारामा पानी
काठमाडौं, ८ कात्तिक । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा हालसम्म १९ अर्ब ५० करोड रुपैंयाँ खर्च भएको छ । कुल २३ अर्ब ४५ करोड ८६ लाख रुपैंयाँ लागत अनुमान गरिएको आयोजनाले ८१ प्रतिशत बजेट खर्चेर ८५ प्रतिशत काम सम्पन्न गरेको हो । हालसम्म आयोजना निर्माणका लागि दिइएको समयको ९४ प्रतिशत समय सकिएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्राई भन्छन–‘आगामी असोज महिना भित्र राजधानी बासीका धारामा मेलम्चीको पानी आइपुग्छ ।’ मेलम्ची खानेपानी आयोजनाका लागि सबै भन्दा जटिल मानिएको २६ किलोमिटर सुरुङमध्ये अब ७ किलोमिटर मात्रै खन्न बाँकी रहेको छ । खन्न बाँकी रहेको सुरुङको क्षेत्र जटिल भएकाले काम गर्न केहि असहजता भने बाँकी नै रहेको प्रमुख भट्टराईले बताए । मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएपछि दैनिक १७ करोड लिटर पानी सुन्दरीजलमा निर्माण गरिएको प्रसोधन केन्द्रमा जम्मा हुनेछ । सो पानी सुरुमा चक्रपथ भित्र र किर्तिपुर तथा ठिमी नगरपालिकामा वितरण गरिनेछ । त्यस बाहेक याङग्री र लार्के नदिबाट ३४ करोड लिटर पानी थप्ने तयारी पनि अघि बढेको छ । सुख्खा समयमा मेलम्ची नदिबाट दैनिक १७ करोेड लिटर पानी ल्याइनेछ भने बर्षातको समयमा दैनिक ३४ करोड लिटर पानी ल्याइनेछ । सरकारले आयोजनाका लागि चालु आर्थिक बर्षमा ५ अर्ब ९८ करोड ४९ लाख २९ हजार बजेट बिनियोजन गरेको छ । गत बर्ष भने सरकारले आयोजनाका लागि ४ अर्ब १५ करोड ४७ लाख ६४ हजार रुपैंयाँ रकम बिनियोजन गरेको थियो । मेलम्ची आयोजनाले प्रभावित क्षेत्रका स्थानियहरुको जिवनस्तर सुधारका लागि सिन्धुपाल्चोकका ३० वटा र काभ्रेपलाञ्चोकका ५ गाबिसका एक लाख ३० हजार व्यक्तिको लागि पुर्वाधार, विद्युतिकरण, शिक्षा, स्वास्थ्य तथा आय मुलक तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, मेलम्चीको पानी राजधानीबासीका घरघरमा पुर्याउने पुर्वाधारका रुपमा काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजनाले धमाधम पाइप बिछ्याउने काम गरिरहेको छ । सुन्दरीजलबाट चावहिल हुँदै रिङरोडसम्मको मुख्य ६० दशमलब ६ किलोमिटरमध्ये २८ दशमलब ५३ किलोमिटर पाइप बिछ्याईसकिएको आयोजना प्रमुख तेजराज भाटले बताए । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ६७० किलोमिटर पाइप सञ्चाल विस्तारको काम भैरहेको छ । जसमध्ये ४१५ किलोमिटर क्षेत्रमा पाइप बिछ्याइसकिएको छ । ५० हजार घनमिटर पानी भण्डारण क्षमता भएका ६ वटा ट्यांकी निर्माणको काम पनि ६२ प्रतिशत सम्पन्न भैसकेको उनले जानकारी दिए ।
बिक्रीको दाउमा प्याराग्लाइडिङ कम्पनी, जोखिम मोलेरै पोखराका ६५ कम्पनीको उडान
काठमाडौं ८, कात्तिक । प्याग्लाइडिङ कम्पनी अनुमति लिँदै बिक्री गर्न थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) लिने र बिक्रीको दाउमा राख्ने कम्पनी बढ्न थालेको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतको भनाइ छ । पर्यटन मन्त्रालबाट लाइसेन्स लिएपछि उडान संचालन अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरण जानुपर्छ । प्राधिकरण नपुग्दै कतिपय कम्पनीको किनेबेच भैइसक्ने गरेको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले बताए । मन्त्रालयका अनुसार किनबेच भएको खबर आइरहने गरेको भएपनि वायुसेवा कम्पनीसरह मन्त्रालयसम्म स्वामित्व परिवर्तन भएपछि आउने जानकारी भने आएको छैन । नेपालमा हाल प्याराग्लाइडिङ प्रशिक्षण स्कूल, अल्ट्रालाइट र प्याराग्लाइड गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उड्डयन सुरक्षा विभागबाट मात्रै ७१ वटा कम्पनीले अनुमति लिएका छन् । यस मध्ये बन्दिपुरको ब्लू स्काई र स्याङ्जाको बाबु एडभेन्चर प्रशिषण स्कूल हो । पोखरा, फिस्टेल र एभिया क्लव गरी तीन अल्ट्रालाईटका कम्पनी छन भने बाँकी ६५ वटा प्याराग्लाइडिङ रहेका छन् । मन्त्रालयबाट अनुमति प्राप्त प्याराग्लाइडिङका कम्पनीमध्ये स्याङ्जा, सुर्खेत र बन्दिपुरमा एकएकवटा, धरान र काठमाडौमा.दुईदुईवटा रहेको छन भने बाँकी सबै कम्पनी पोखरामा रहेका छन् । पोखरामा सराङ्कोटबाट उडान गर्ने प्याराग्लाइडिङ कम्पनी १९ वटा रहेका छन भने बाँकी सबै कम्पनी तोरेपानीमा रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको हवाइ उड्डयन सुरक्षा विभागका अनुसार कम्पनीको किनबेच भएको सुचना आउने गरेको छ । अनुमति लिएर संचालन नआएका कम्पनीले ३० देखि ४० लाख रुपैयाँसम्म विक्री भएको सूचना आएको भएपनि कुनै पनि कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी भने आएको छैन, उड्डयन सुरक्षा विभागका उडान अनुमति शाखा प्रमुख देवेन्द्र पाण्डेले भने । उनका अनुसार कम्पनीको स्वामित्व परिवर्तन भएको जानकारी हामीको आउन जरुरी नभएको र उद्योग विभागमा जानकारी दिए पुग्ने भएकोले पनि प्राधिकरणमक्ष नआएको हुनसक्ने उनको बुझाई छ । प्राधिकरण स्रोतका अनुसार कम्पनीको किनेबेच हुनु सामान्य भएपनि अनुमति लिनकै लागि हुने यस्तो विक्रीले भने प्याराग्लाइडिङको भविष्यप्रति नै प्रश्नचिन्ह उठाउने उल्लेख छ । प्राधिकरणबाट अनुमति लिएका कम्पनीले हवाई नीतिमा भएको व्यवस्था अनुसार एक करोड रुपैयाँको चुक्ता पूँजी देखाएर मन्त्रालय र प्राधिकरणमा पनि आश्वयक शुल्क तिर्नुपर्ने भएकोले संचालनपछिको किनबेच सामान्य हो । मन्त्रालयका एक अधिकारीका अनुसार किनबेच सामान्य प्रक्रिया हो तर खरिद विक्रीको लागि पारदर्शी व्यवस्था अपनाउने र राज्यलाई तिर्नुपर्ने करको दायित्वभित्र पनि आउनुपर्छ । जोखिममा प्याराग्लाइडिङ पर्यटन मन्त्रालयले हवाई खेलकूदका कम्पनीको अस्वस्थ प्रतिस्र्धालाई बढाउन जोखिम मोलेरै एउटै स्थानका लागि पाँच दर्जन प्याराग्लाइडिङका कम्पनीलाई उडान अनुमति दिएको छ । पोखराको सराङ्कोट र तोरेपानीबाट उडान गर्ने यी सबै कम्पनी फेवाताल किनारमा अवतरण गर्ने गर्छन । हाल पोखरामा मात्रै झण्डै ६५ वटा कम्पनीले संचालन अनुमति पाएका छन । मन्त्रालयको अनुमतिपश्चात सबै हवाई उडानका कम्पनीले प्राधिरणबाट नै उडान सञ्चालन अनुमतिपत्र (एओसी) लिनुपर्छ। एकैपटक एउटै स्थानबाट धेरैवटा कम्पनी सञ्चालन हुँदा पोखराको हवाई खेलकूद नै जोखिममा पर्ने नेपाल हवाई खेलकूद नेपाल हवाई खेदकूद संघको भनाइ छ । संघका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा छ, विमानस्थल निर्माण पश्चात संचालनमा भएका सबै प्याराग्लाइडिङ हवाई उडान रुटमापर्ने भएकोले अनिवार्य विस्थापन हुनुपर्छ । अहिले नै पोखराको हवाई रुटमा असर पर्ने गरी प्राधिकरणले प्याराग्लाइडिङको उडान अनुमति दिएको उल्लेख छ । हवाई रुटमा प्याराग्लाइडिङ भएकै कारण यस अघि एक प्याराग्लाइडिङ यति एयरसँग ठोक्किएको थियो । पोखरामा बढेको प्याराग्लाइडिङको चापका कारण संघले हाल उडानमा रहेका प्याराग्लाइडिङका प्रत्येक प्याराग्लाइडले दैनिक तीन उडान मात्रै गर्न पाउने नियम बनाएको छ । संचालनमा रहेको सबै प्याराग्लाइडिङ ६ वटा प्याराग्लाइड रहेका छन् । यी प्याराग्लाइडबाट पोखरमा पर्यटकीय सिजनमा दैनिक ११ सय वटा उडान हुने गर्छ । यो उडान संख्या फेवाताल वरपरको सानो क्षेत्रका लागि अधिक भएको पनि संघको भनाइ छ । मनोरञ्जनपूर्ण हवाई खेल अन्र्तगत इन्जिन जोडिएर वा नजोडिकन हावाको माध्यमबाट तैरिने खेलका रुपमा प्राधिकरणले हवाई खेलकूदका संस्थालाई अनुमति दिने गरेको छ । यस अन्तर्गत अल्ट्रलाइट, माइक्रोलाईट, प्यारामोटर, स्ट्रङ्ग प्याराग्लाइडर, स्काइमोटरसहितका कम्पनी पर्छन् । यसलाई संचालन गर्न निवेदन दस्तुरवापत ५ हजार, बैंक धरौटि ५ लाख, इजातज शुल्क बापत ५० हजार तथा चुक्ता पूँजी १ करोड हुनुपर्ने प्रावधान मन्त्रालयले तोकेको छ ।