जस्तापाता किन्न सात अर्ब ४१ करोड, चार अर्ब निकासा (कुन जिल्लामा कति ?)

७ जेठ । महाभूकम्पमा घर ध्वस्त भएका पीडितहरुलाई जस्तापाता खरिद गर्न सात अर्ब ४१ करोड रुपैंयाँ लाग्ने भएको छ । महाभूकम्पका कारण कुल चार लाख ९४ हजार चार सय ४३ वटा घर पूर्णरुपले ध्वस्त भएका छन् । गत शनिबार बसेको मन्त्रिपरिषद बैंठकले घर ध्वस्त भएका प्रति पीडित परिवारलाई १५ हजारका दरले जस्तापाता किन्ने रकम उपलब्ध गराउने निर्णय गरे अनुसार सात अर्ब ४१ करोड रुपैंयाँ लाग्ने देखिएको हो । गृहमन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार महाभूकम्पका कारण चार लाख ९४ हजार चार सय ३७ वटा घर ध्वस्त भएका छन् । ती पीडितहरुलाई प्रतिपरिवार १५ हजारका दरले रकम उपलब्ध गराउँदा सात अर्ब ४१ करोड ६५ लाख ५० हजार रुपैंयाँ हुन आउँछ । अन्य सरकारी निकायबाट नगद राहत नलिएका परिवारलाई जस्तापाता किन्नका लागि प्रति परिवार १५ हजार रुपैंयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको हो । सहयोग रकमको दुरुपयोग नहोस भनेर सरकारले अन्य सरकारी निकायहरुसँगको सहकार्यमा पीडितलाई परिचय पत्र उपलब्ध गराउने र सोही आधारमा गाबिस सचिवहरु मार्फत नगद उपलब्ध गराउने बताएको छ । चार अर्ब निकासा महाभूकम्पमा घरबार बिहिन भएकाहरुलाई अस्थायी पुनःवार्सका लागि जस्तापाता किन्नका लागि अर्थ मन्त्रालयले चार अर्ब रुपैंयाँ निकासा गरेको छ । मन्त्रालयले प्रधानमन्त्री उद्धार कोषबाट जस्तापाता खरिदका लागि  बुधबार मात्रै चार अर्ब निकासा गरेको हो । कुन जिल्लामा कति रकम चाहिन्छ ? महाभूकम्पका कारण सबै भन्दा बढि सिन्धुपाल्चोकमा क्षति भएको छ । तीन हजार चार सय २४ जनाले ज्यान गुमाएको सिन्धुपाल्चोकमा ६३ हजार आठ सय ८५ घर ध्वस्त भएका छन् । सरकारले सिन्धुपाल्चोकका लागि ९५ करोड ८२ लाख रुपैंयाँ आवश्यक पर्नेछ । त्यस्तै, ५७ हजार नौ सय ४३ वटा घर ध्वस्त भएको नुवाकोटमा  जस्तापाता खरिदका लागि ८६ करोड ९१ लाख रुपैंयाँ आवश्यक पर्नेछ । ४९ हजार नौ सय ३३ वटा ध्वस्त भएको काभ्रे जिल्लाले ७४ करोड ८९ लाख रुपैंयाँ पाउनेछ भने ४८ हजार आठ सय ८० घर ध्वस्त भएको दोलखा जिल्लाले ७३ करोड ३२ लाख प्राप्त गर्नेछ । गोरखामा ४४ हजार छ सय ५० वटा घर बनाउन जस्तापाता किन्न ६६ करोड ९७ लाख आवश्यक पर्छ । ४३ हजार सात सय ४१ वटा घर ध्वस्त भएको धादिङले जस्तापाता किन्न ६५ करोड ६१ लाख पाउनेछ । काठमाडौंमा ३६ हजार नौ सय ७३ वटा घर ध्वस्त भएका छन् । यहाँका लागि ५५ लाख ४५ हजार रुपैंयाँ आवश्यक पर्नेछ । रामेछापमा १५ हजार १२, सिन्धुलीमा १२ हजार सात सय ८४ र ओलढुङगामा १० हजार घर ध्वस्त भएका छन् । यी जिल्लाहरुमा जस्तापाता किन्न क्रमशः रामेछापले २२ करोड ५१ लाख, सिन्धुलीले १९ करोड १७ लाख र ओखलढुङगाले १५ करोड ९० लाख पाउँनेछन् । सरकारले ठुलो मात्रामा जस्तापाताको आवश्यकता पर्ने भन्दै त्यसको निकासीमा रोक लगाई सकेको छ । औद्योगीक नगरी बिराटनगरमा हुलास, आरती र आरएमसी उद्योगहरुले जस्तापाता उत्पादन गर्दै आएका छन् ।

बीमा शुल्क नबढाउ, नयाँ शर्त नथप

विकासन्युज/काठमाडौं ६ जेठ । बीमा समितिले बीमा शुल्क नबढाउन निर्देशन दिएको छ । विनासकारी भूकम्पमा ठूलो मात्रामा जनधनको क्षति भएपछि बीमा कम्पनीहरुले पुरानो बीमा नविकरण गर्न नमानेको र नयाँ बीमा पनि नगराएको भन्ने गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो । समितिले मंगलवार सवै निर्जीबन बीमा कम्पनीहरुलाई परिपत्र गर्दै पुरानो बीमा नविकरण र नयाँ बीमा गर्न निर्देशन दिएको छ । कम्पनीले विनासकारी भुकम्पको कारण ठूलो मात्रामा दाबी भुक्तानी गर्नु परेको भन्दै यस्तो अवस्थामा पुनारो बीमा नविकरण गर्न र नयाँ बीमा गर्न नभ्याइने भन्दै यस्तो कार्य रोकेका थिए । यस्तै नविकरण गर्दा र नयाँ बीमा गर्दा बीमा शुल्क नबढाउन र नयाँ शर्त पनि नथप्न निर्देशन दिइएको छ । ‘बीमा कम्पनीहरुले बीमा नविकरण तथा नयाँ बीमा गर्न अन्कनाइ रहेको र बीमा गर्दा तथा नविकरण गराउदा पनि नयाँ शर्तहरु तथा बीमा दर बृद्धि गरी बीमालेख जारी गर्न थालेको भन्ने मौखिक तथा लिखित गुनासो आएको छ,’ समितिले आफ्नो निर्देशनमा भनेको छ– तत्कालको अवस्थामा नयाँ शर्त थप्ने र बीमा शुल्क बढाउने कार्य नगरी पुरानै शर्त र दरमा बीमालेखा जारी गर्नु गराउनु पर्नेछ । समितिले अहिले बीमा शुल्क बढाउन र नयाँ शर्त थप्न नहुने भनेको छ । विगत कयौ बर्षदेखि दाबी सहित बीमा बजारले अनवरत रुपमा लिएको बीमा शुल्कको समेत हिसाव गरी बीमा दर तथा शर्तहरु पुनरावलोकन गर्नुपर्नेमा बिना आधार एक्कासी शुल्क बृद्धि गरी प्रक्रिया पूरा नगरेको भन्दै यसलाई रोकी पुरानै प्रक्रिया अनुसार बीमा गराउन भनिएको हो । यस्तै समितिले हालको विषम परिस्थितिमा परेका दाबीको तत्काल मूल्यांकन र भुक्तानी गर्न पनि निर्देशन दिएको छ । विनासकारी भुकम्पमा परी भएको क्षतिको यकिन तथ्यांक दिन पनि समितिले भनेको छ । समितिले भूकम्प पछि नै यस्तो तथ्यांक तत्काल उपलब्ध गराउन निर्देशन दिएको भएपनि कम्पनीहरुले यस्तो विवरण अझै नदिएको समितिको भनाइ छ ।

अधिकांश तारे होटललाई ग्रीन कार्ड, बस्न सुरक्षीत

काठमाडौँ, ४ जेठ । विनाशकारी भूकम्प र पराकम्पन गइरहँदा पनि राजधानीका अधिकांश तारे होटलको संरचनामा कुनै असर पुगेको छैन । भवन संहिताको पालना गरी निश्चित मापदण्ड अपनाई बनाइएका तारे तथा विदेशी पर्यटकस्तरीय होटल भूकम्प र त्यसको पराकम्पनबाट सुरक्षित छन् । गत वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्पपछि होटल तथा रेस्टुराँमा भएको क्षति र बस्न योग्य भए÷नभएबारे प्राविधिक परीक्षण गर्न गठित विज्ञ टोलीले तारे तथा पर्यटकीय होटल सुरक्षित रहेको प्रारम्भिक निष्कर्ष दिएको छ । विकासन्युज/काठमाडौं। पर्यटन विभाग र सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा गठित प्राविधिक टोलीका संयोजक इञ्जिनियर कोषनाथ अधिकारीले करिब ९० प्रतिशत तारे होटल सुरक्षित रहेको बताउनुभयो । प्राविधिक टोलीले काठमाडौँका तारेसहितका १४ वटा होटलका २२ वटा भवनको परीक्षण गरेको थियो । यसमध्ये हायात रिजेन्सी, सोल्टी, ¥याडिसन, अन्नपूर्ण, एभरेष्ट, मल्ल र साङ्ग्रिला होटलमा हरियो स्टिकर (बस्न मिल्ने) टाँसिएको छ । सोल्टी होटलको भवनसम्म पुग्ने बाटोका पर्खाल मर्मत गर्नुपर्ने र क्यासिनो भवनमा सामान्य क्षति भएको टोलीले जनाएको छ । यस्तै हायात रिजेन्सीको क्यासिनो भवनलाई सामान्य मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर (कम खतरा) टाँसिएको छ । होटल अन्नपूर्णको क्यासिनो भवनलाई रातो स्टिकर (खतरा) टाँसिएको छ । ठमेलस्थित काठमाडौँ गेष्ट हाउसका पाँच भवनमध्ये हेरिटेज ब्लक प्रयोग नगर्न भनिएको छ । ताहचलको ग्रान्ड होटल र सँगैको प्लाटिनम होटल सुरक्षित छन् । लाजिम्पाटको बजेट होटलमा भने पूर्ण रूपमा क्षति भएको छ । प्राविधिक टोलीका संयोजक अधिकारीले पूर्ण क्षति भएकालाई कुनै स्टिकर नटासिँने र रातो स्टिकर पनि मर्मत गर्न सकिने र गर्न नसकिने दुवै हुने उल्लेख गरे । एयरपोर्ट होटलका दोस्रो र तेस्रो तलाका पर्खालहरू चर्केकाले पहेँलो स्टिकर टाँसिएको छ । प्राविधिक परीक्षणमा सबैभन्दा सुरक्षित ठमेलको होटल मनाङ रहेको पाइएको र त्यहाँ पनि हरियो स्टिकर टासिएको संयोजक अधिकारीले बताए । पर्यटन विभागको होटल शाखाको विवरणअनुसार नेपालमा १० वटा पाँचतारे, दुई वटा चारतारे, ३१ वटा तीनतारे, ४८ वटा दुईतारे, ३५ वटा एकतारे र ४३० वटा पर्यटकस्तरीय होटल रहेका छन् । पर्यटक सामान्य यही वैशाख १२, १३ र २९ गते गएको भूकम्प तथा शक्तिशाली पराकम्पनपछि नेपालको पर्यटन क्षेत्रमा विभिन्न असर पुगेको छ । यहाँका पर्यटकीय पुरातात्विक सांस्कृतिक संरचना तथा विश्वलाई चिनाउने प्रख्यात पर्वतारोहण, पदयात्रालगायतका क्षेत्रमा असर परेको छ । यद्यपि भूकम्पपछि पर्यटन क्षेत्रबारे विभिन्न अड्कलबाजी र टीकाटिप्पणी भइरहँदा पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने नेपालका होटलहरूमा खासै असर नपरेको व्यवसायीहरू बताउँछन् । तर अधिकांश तारे होटलमा भने पर्यटकको आवागमन प्रायः शून्य भएकाले व्यवसायमा समस्या आएको बताएका छन् । ¥याडिसन होटलका बजार व्यवस्थापन शाखाका अनुसार बुकिङहरू धैरै रद्द गरिएको र पर्यटक प्रायः शुन्य अवस्थामा रहेका छन् । अहिलेको मौसममा भारत र चीनबाट बढी पर्यटक आउनुपर्ने हो तर भूकम्पको त्रासले पर्यटक ह्वात्तै घटेको छ । ६० देखि ७० प्रतिशत बुकिङ रद्द भएको शाखाले जनाएको छ । होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक साहले भूकम्पपछि अधिकांश तारे तथा पर्यटकस्तरीय होटलहरू सुरक्षित रहेको बताए । “ठूला होटल सुरक्षित छन् खाली पनि छैनन् राहत र उद्धारमा काम गर्न आएका, गैरसरकारी संस्थाका, कूटनीतिक क्षेत्रका व्यक्ति तथा विदेशी सञ्चारकर्मीले गर्दा तारे होटलहरू भरिभराउ नै छन्”, उनले भने । अहिले प्राकृतिक विपत्तिको चुनौतीको सामना गर्दै विदेशी पर्यटकलाई नेपालमा आउने वातावरण सिर्जना गर्न सबै सरोकारवाला निकायको ध्यान जानुपर्ने देखिन्छ । महासचिव शाहले सामान्यतः अहिले पर्यटक आउने मौसम नभएको र दसैँतिर बढी पर्यटक आउने मौसम भएकाले अबको तीन चार महिनामा सबैखाले तयारी गर्न जरुरी भएको उल्लेख गरे । हानका अनुसार देशभर साना ठूला गरी चार हजारभन्दा बढी होटल रहेका छन्, यीमध्ये ठूला होटलमात्र हजारको हाराहारीमा छन् । ती होटलमा पर्यटकस्तरीय करिब २५ हजार बेड क्षमता रहेका छन् । विनाशकारी भूकम्पले खासगरी पर्वतारोहण, पदयात्रा, दृश्यावलोकन तथा काठमाडौँ उपत्यकाभित्रका पुरातात्विक एवम् सांस्कृतिक सम्पदा क्षेत्रमा ठूलो क्षति पुगेकाले ती क्षेत्रमा पर्यटन पूर्वाधार मर्मत सुधार तथा नवनिर्माणका काम अघि बढाउन लागिएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण तथा पर्यटकीय क्षेत्रहरूको मर्मत र सुधार गरी पर्यटनलाई सामान्य अवस्थामा लैजान विभिन्न कार्ययोजना अघि बढाइएको जानकारी दिए । रासस