जब ‘भगवान’ मानिएका डाक्टर नै भगवान पुकार्छन्
काठमाडौं । अस्पतालको मूल गेटअघि सानो मन्दिर हुन्छ । अस्पतालभित्र पस्नुअघि बिरामी त्यहीँ रोकिएर ढोग्छ । शरीर विज्ञानको जिम्मा लगाउनुअघि मन विश्वासको ढोकामा झुक्छ । शल्यक्रिया विज्ञानले गर्छ । तर, डर हटाउने काम विश्वासले गर्छ । यही विश्वास र विज्ञानको दोसाँधमा उभिएको छ एउटा नाम, एउटा जीवन र एउटा गम्भीर प्रश्न । डा. ज्ञानेन्द्रमान सिंह कार्कीको जीवनले अहिले यही प्रश्नलाई अझ गहिरो बनाइदिएको छ । बिरामीका लागि चिकित्सक ठूलो कि भगवान ? डा. ज्ञानेन्द्रमान सिंह कार्की नेपाली स्वास्थ्य क्षेत्रका परिचित नाम हुन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा उनले दशकौं बिताए । थापाथली अस्पतालदेखि कोशी अस्पतालसम्म, सरकारीदेखि निजी अस्पतालसम्म उनले सेवा गरे । हजारौं शल्यक्रिया उनका लागि प्रक्रिया थिएनन्, ती जीवनसँगको साक्षात्कार थिए । धेरै महिलाका पाठेघर जोगिए, धेरै परिवारमा आमा सुरक्षित भइन्, धेरै घरमा खुसी फर्कियो । विदेशमा पढेपछि उतै बस्ने अवसर उनका लागि पनि खुला थियो । तर, उनले स्वदेश फर्कने निर्णय गरे । ‘नेपालीले नेपालमै गुणस्तरीय उपचार पाउनुपर्छ’ भन्ने सोच उनको जीवन दर्शन बन्यो । यही सोचले विराटनगरमा विराट नर्सिङ होम र विराट मेडिकल कलेज स्थापना गरे । करिब हजार बेड क्षमताको अस्पताल, आधुनिक उपकरण र दक्ष जनशक्तिसहितको संरचना केवल व्यवसाय होइन, एउटा सपना थियो उनको । तर, जीवन सधैं योजनाअनुसार चल्दैन । एकाएक उनको मुटुमा समस्या देखियो र भल्भ ब्लकेज भयो । जोखिमपूर्ण अवस्था आयो । समय कम थियो, निर्णय तुरुन्त लिनुपर्ने अवस्था बन्यो । काठमाडौंमै रहँदा समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पताल पुगे । त्यहाँ उनको मुटुको जटिल वाइपास सर्जरी गरियो। एकसाता अघि गरिएको शल्यक्रियापछि उनी अहिले आराम गरिरहेका छन् । अस्पतालका अनुसार डा. कार्कीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदैछ । उनी अहिले पनि भारतमै चिकित्सकीय निगरानीमा छन् । तर, उनको उपचारभन्दा पनि बढी चर्चा एउटा प्रश्नले पायो । आफ्नै हजार बेडको अस्पताल सञ्चालन गरिरहेका डाक्टर किन उपचारका लागि भारत जान बाध्य भए ? हजारौंको पुनर्जन्म दिएका उनी आफैले किन पुकारे भगवान ? बिरामी निको हुने काम चिकित्सकको कार्यशैली र क्षमताले हो भगवानको आर्शीवादले ? बिरामीले चिकित्सकलाई भगवानको उपमा दिन्छन् । तर, तिनै चिकित्सकले आफूलाई बचाउनमा भगवानको भूमिका देखे । शल्यक्रियापछि सार्वजनिक भएको डा. कार्कीको भिडियो सन्देशमा उनले पटक–पटक भगवान स्मरण गरेका छन् । ‘अचानक मुटुमा समस्या भएपछि म अचानक दिल्ली आउनुपर्यो, अहिले मेरो जटिल शल्यक्रिया सफल भएको छ, भगवानको कृपाले मलाई राम्रो हुँदैछ ,आशा गरौं यहाँहरूको प्रार्थनाले, यहाँको आर्शीवादले सञ्चो भएपछि तपाईंहरूको सेवाका लागि आउनेछु ।’ ‘प्रभु ईश्वरभन्दा ठूलो कोही छैन, न जीवन हाम्रो हातमा छ न मृत्यु । सबै ईश्वरको हातमा छ,’ उनले थपेका छन् । बिरामीले चिकित्सकलाई भगवानको उपमा दिन्छन् । तर, तिनै चिकित्सकले आफूलाई बचाउनमा भगवानको भूमिका देखे । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाका अनुसार डा. कार्कीलाई आवश्यक पर्ने सेवा विराट मेडिकल कलेजमा उपलब्ध छैन । उनी भन्छन्, ‘डाक्टर साबलाई जे समस्या देखियो त्यो सेवा हाम्रो आफ्नै अस्पताल पनि नभएको र नेपालका अन्य अस्पतालमा भए पनि भरपर्दो नहोला कि भनेर भारत जानु भएको हो ।’ देवकोटाका अनुसार काठमाडौंको गंगालालदेखि विभिन्न अस्पतालमा वाइपास सर्जरी हुने गरे पनि अझै अत्याधुनिक तरिकाले गरिने सर्जरी नेपालमा सीमित छ । ‘काठमाडौंको गंगालालदेखि विभिन्न अस्पतालमा वाइपास सर्जरी हुने भएपनि अझै एडभान्स तरिकाले गर्ने सर्जरी नभएको, र उहाँलाई गर्नुपर्ने सर्जरी निकै जटिल भएकाले कहाँ गर्ने भनेर पारिवारिक छलफल गर्दा बाहिर लिनुपर्ने अवस्था आएको हो,’ उनले भने । देवकोटाका अनुसार उपचार उपलब्ध हुनु र उपचार सुरक्षित हुनु फरक कुरा हो । ‘कतिपय उपचार नेपालमा हुँदैन, कतिपय भएकै सेवा मध्येबाट पनि सुरक्षित कहाँ हुन्छ भन्ने हिसाबले हेर्दा अझै सुरक्षित स्थान हेरिँदो रहेछ,’ देवकोटा भन्छन्, ‘शल्यक्रिया पनि निकै जटिल थियो, जुन डाक्टरलाई गरिएको सर्जरी छ, त्यो नेपालमा पनि नभएको होइन तर सफलता दर निकै कम छ, त्यसैले पनि बाहिर लिनु परेको हो ।’ भारतमा उपचार गराएका डा. कार्कीलाई २४ घण्टाभित्रै आईसीयूबाट क्याबिनमा सिफ्ट गरिएको थियो । यसले नेपालमा यस्ता जटिल शल्यक्रियाका लागि अझै पूर्ण रूपमा एडभान्स प्रविधि भित्रिन बाँकी रहेको संकेत गर्छ । तर मुटुरोग विशेषज्ञहरू नेपालमा सबै प्रकारका मुटुसम्बन्धी उपचार सम्भव रहेको दाबी गर्छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार नेपालमा वाइपास सर्जरी सुरु भएको करिब २२ वर्ष भइसकेको छ । ‘नेपालमा वाइपास सर्जरी हुन थालेको करिब २२ वर्ष जति भयो । अहिले पनि यस्ता सर्जरी नेपालमै भइरहेका छन्,’ उनी भन्छन् । डा. रेग्मीका अनुसार समस्या उपचार नहुनु होइन, विश्वासको मनोविज्ञान हो । ‘नेपालमा उपचारप्रति विश्वास नभएर होइन कि राम्रो ठाउँमा जाँदा अझ राम्रो र सहज हुन्छ भन्ने प्राय:लाई लाग्छ, यही आशामा अहिले पनि उपचार गर्न बाहिर जानेहरूको संख्या धेरै छ,’ उनी भन्छन् । रेग्मीको अनुभव अझ कडा छ । ‘अरूलाई पर्दा यहीँ भइहाल्छ भन्दै सल्लाह दिनु बेग्लै कुरा हो, जब चिकित्सक आफैलाई पर्छ त्यसपछि के हो, के हो भन्ने हुन्छ, आफ्नो जिन्दगीको कुरो जब आउँछ, त्यसपछि सकेसम्म राम्रै ठाउँमा जाउ भन्ने हुन्छ, यस्ता थुप्रै घटना छन्,’ उनले भने । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी संघीयतापछि सबैभन्दा राम्रो प्रगति भएको क्षेत्र स्वास्थ्य भएको बताउँछन् । ‘एक समय हातले चिरेर अप्रेशन गर्नुपर्ने अवस्था थियो अहिले रोबटमार्फत शल्यक्रिया हुन्छ । प्रविधिको पहुँच बढेको छ, अस्पतालको संख्या बढेको छ, चिकित्सकरू पनि दक्ष हुनुहुन्छ । यही निरन्तरता जारी रहने हो भने नेपालमा स्वास्थ्य क्षेत्रको भविष्य अझ सुन्दर देखिन्छ ।’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की स्वास्थ्य क्षेत्रमा केही जटिलता भए पनि समग्र अवस्था सकारात्मक रहेको बताउँछन् । चिकित्सक र नर्सहरूको पीडा एकातिर भए पनि प्रविधिमैत्री स्वास्थ्य सेवाको विस्तार भइरहेको उनको भनाइ छ । उनी कुनै व्यक्ति विदेश उपचार गएको आधारमा नेपालमा उपचार असम्भव थियो भन्ने निष्कर्षमा पुग्न नहुने बताउँछन् । सर्वसाधारणले चिकित्सकलाई भगवान मान्छन् । अस्पताल पुग्दा जीवन नै चिकित्सकको हातमा सुम्पिन्छन् । तर, विज्ञान भगवान होइन । विज्ञान प्रमाण, परीक्षण र अवलोकनमा विश्वास गर्छ । चिकित्सक आफै पनि आफू भगवान नभई दक्ष जनशक्ति भएको दाबी गर्छन् ।
युवाको नेतृत्वमा एआई क्रान्ति : अर्ब डलर स्टार्टअप जन्माउने २० वर्षे पुस्ता
काठमाडौं । विश्वका केही सबैभन्दा सफल स्टार्टअपहरू युवा संस्थापकहरूले सुरु गरेका थिए । उदाहरणका लागि बिल गेट्स वा मार्क जुकरबर्गलाई हेरौं । दुवै जना आफ्नो उद्यम सुरु गर्दा मात्र १९ वर्षका थिए । तर अहिले अर्ब डलर मूल्यका कृत्रिम बौद्धिकता (एआई) स्टार्टअपहरूको उदयसँगै एउटा नयाँ प्रवृत्ति देखिएको छ । औसतमा हेर्दा यस्ता स्टार्टअपका संस्थापकहरू झन् कम उमेरका हुँदै गएका छन् । विश्वव्यापी प्रारम्भिक चरणको भेन्चर क्यापिटल फर्म एन्टलरले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार एआई युनिकर्न (एक अर्ब डलरभन्दा बढी मूल्यका स्टार्टअप) का संस्थापकहरूको औसत उमेर २०२१ मा ४० वर्षको उच्च बिन्दुमा पुगेको थियो भने २०२४ मा घटेर २९ वर्षमा झरेको छ । यस प्रतिवेदनका लागि एन्टलरले विश्वभरका १ हजार ६२९ युनिकर्न र ३ हजार ५१२ संस्थापकहरूको अध्ययन गरेको थियो । तर अन्य उद्योगहरूमा भने संस्थापकहरूको उमेर बढ्दो क्रममा छ । सन् २०१४ मा युनिकर्न बन्ने स्टार्टअपका संस्थापकहरू औसतमा सुरु गर्दा ३० वर्षका थिए । तर २०२२ देखि २०२४ को बीचमा युनिकर्न बनेका स्टार्टअपका संस्थापकहरूको औसत उमेर ३४ वर्ष पुगेको छ । पछिल्लो एक वर्षमा युवा संस्थापक भएका थुप्रै एआई स्टार्टअपहरू चर्चामा आएका छन् । २९ अर्ब डलर मूल्यको एआई डेटा लेबलिङ कम्पनी स्केल एआईका सह–संस्थापक एलेक्जेन्डर वाङ अहिले मात्र २९ वर्षका छन् । मेटाले जुन महिनामा स्केल एआईसँग १४.३ अर्ब डलरको सम्झौता गर्दै वाङलाई भित्र्याएर ‘टीबीडी ल्याब्स’ नामक नयाँ एआई अनुसन्धान इकाइको नेतृत्व सुम्पिएको थियो । यसअघि ६५ वर्षे ‘एआई गडफादर’ यान लेकुनको नेतृत्वमा रहेको मेटाको जेनेरेटिभ एआई टोली, यसको एलएलएएमएफोर मोडल अपेक्षित रूपमा सफल नहुँदा पुनःसंरचना गरिएको थियो । यस पुनःसंरचनापछि वाङ लेकुनका प्रबन्धक बने । यसैबीच, एआईमा आधारित प्रतिभा खोज तथा भर्ती प्लेटफर्म मर्करका सहसंस्थापक ब्रेन्डन फुडी, आदर्श हिरिमथ र सूर्य मिधा सबै अहिले २२ वर्षका छन् । हालै यस कम्पनीको मूल्यांकन १० अर्ब डलरभन्दा बढी भएको छ । त्यस्तै, एआई सहयोगी कोडिङ तथा डेभलपर प्लेटफर्म एनीस्फियर पनि एक अर्ब डलरभन्दा बढी मूल्यांकनसहित २० वर्ष आसपासका युवाहरूको नेतृत्वमा छ । एन्टलरका सह–संस्थापक तथा प्रमुख व्यवसाय अधिकृत फ्रिड्टजोफ बर्जेका अनुसार अब संस्थापकसँग गहिरो उद्योग अनुभव हुनु अनिवार्य मानिँदैन । बरु चतुर, उद्यमशील र नयाँ उपाय खोज्न सक्ने क्षमता बढी मूल्यवान् ठानिन थालेको छ । ‘एआईको युगमा प्रयोग गर्न इच्छुक र सक्षम हुन, परम्परागत कर्पोरेट अनुभव वा लामो सेवाभन्दा बढी महत्त्वपूर्ण हुन थालेको छ,’ उनले भने । ‘परम्परागत कम्पनी निर्माणको धेरै अनुभव हुनु कहिलेकाहीँ उल्टै हानिकारक पनि हुन सक्छ । किनकि त्यसले पूर्ण रूपमा नयाँ सोच (ब्ल्याङ्क स्लेट) बाट सोच्न अवरोध गर्न सक्छ । अत्याधुनिक र नयाँ प्रविधिमा प्राविधिक रूपमा निपुण हुनका लागि कहिलेकाहीँ युवा हुनु फाइदाजनक हुन्छ, किनकि त्यही विषय तपाईंले हालसालै अध्ययन वा प्रशिक्षणमा सिकेको हुन्छ,’ उनले थपे । एन्टलरको प्रतिवेदनले एआई स्टार्टअपहरू अन्य उद्योगको तुलनामा औसतमा दुई वर्ष छिटो विस्तार भइरहेको पनि देखाएको छ । यी स्टार्टअपहरू औसत ४.७ वर्षमै युनिकर्न बन्न सफल भएका छन् । २०२५ मा तीव्र गतिमा विस्तार भएका एआई स्टार्टअपका उदाहरणहरूमा मिस्ट्रल , लभेबल र सुनो एआई पर्दछन् । र जुकरबर्गकै उदाहरणले देखाउँछ— कलेजको होस्टेल कोठामा जन्मिएको एउटा अनौठो विचारले पनि असाधारण सफलता हासिल गर्न सक्छ । ‘उनी अत्यन्तै युवा थिए, तर समयसँगै आफूलाई ढाल्दै संसारकै ठूला कम्पनीमध्ये एकको नेतृत्व गरिरहेका छन्,’ बर्जेले भने । भेन्चर क्यापिटल फर्म लियोनिसले नोभेम्बरमा सार्वजनिक गरेको एक प्रतिवेदनले पनि एआई स्टार्टअपका संस्थापकहरूको मध्यम (मिडियन) उमेर २९ वर्ष रहेको देखाएको छ । अधिकांश संस्थापकहरू मध्य–२० देखि अन्तिम–२० को उमेर समूहका छन् र धेरैजसो कर्पोरेट करिअरभन्दा सिधै शैक्षिक संस्था वा अनुसन्धान प्रयोगशालाबाट आएका हुन्छन् । बर्जेले भने, ‘२० वर्ष आसपासका युवाहरूमा कम्पनीलाई छिटो अघि बढाउने गुण हुन्छ । तर कम्पनी परिपक्व हुँदै जाँदा नेतृत्व परिवर्तन हुनु सामान्य कुरा हो ।’ उनको निष्कर्ष छ– युवा उमेरमै कम्पनी सुरु गर्नु नयाँ कुरा होइन तर अहिले युनिकर्न बनाइरहेका सबै संस्थापकहरू नै पाँचदेखि दस वर्षपछि पनि ती कम्पनीको नेतृत्वमै रहनेछन् भन्ने ग्यारेन्टी हुँदैन ।
भूगर्भ सिमेन्टको आम्दानीमा १६.७६ प्रतिशत फड्को, खनिज खानीदेखि बजारसम्म पकड
काठमाडौं । भूगर्भ सिमेन्टले एक वर्षमै डेढ अर्ब रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ६७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १६.७६ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ थियो । सिमेन्ट तथा क्लिङ्कर प्लान्टको क्षमता उपयोग दर उल्लेखनीय रूपमा बढेकाले आम्दानी र सञ्चालन क्षमतामा सुधार आएको कम्पनीले जनाएको छ । साथै गत वर्ष कम्पनीले बक्यौता उठाउन बाँकी रकम उल्लेखनीय रूपमा घटाएको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२५ मा सिमेन्ट बोरा बिक्री र क्लिङ्कर बिक्री दुवै बढेकाले आम्दानीमा वृद्धि भएको हो । उत्पादन क्षमताको उपयोग ५२ प्रतिशतबाट ६६ प्रतिशतमा पुगेको छ । यद्यपि, क्लिङ्करको कच्चा पदार्थ लागत बढ्दा कम्पनीको पीबीआईएलटीडी (ब्याज, लीज, मूल्यह्रास र कर अघिको मार्जिन) मार्जिन २९ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झरेको छ । कम्पनीले सन् २५ मा ३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । सन् २०१६ मा स्थापना भएको भुगर्भ सिमेन्टले छोटो समयमै व्यावसायिक संरचना र उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरेको देखिन्छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने योजनासहित कम्पनी सन् २०२३ जुनमा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना अनुसार हकप्रदपछि चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ । त्यसपछि उक्त चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गरी चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउने रणनीति कम्पनीले लिएको छ । कम्पनीसँग आफ्नै खानी योजना रहेको छ, जसको दैनिक उत्पादन क्षमता ३ हजार २०० मेट्रिक टन रहेको छ । हाल भूगर्भ सिमेन्टले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको छ । विगतमा दैनिक ५०० मेट्रिक टन रहेको सिमेन्ट उत्पादन क्षमता सन् २०२३ को अगस्ट महिनामा विस्तार गरी ७०० मेट्रिक टन प्रतिदिन पुर्याइएको कम्पनीले जनाएको छ । साथै, कम्पनीसँग आफ्नै ३०० मेट्रिक टन प्रतिदिन क्षमताको क्लिङ्कर उत्पादन सुविधा पनि छ । क्लिङ्कर उत्पादनका लागि फ्लाइएस, जिप्समजस्ता कच्चा पदार्थ प्रयोग हुने गरेको छ भने बाँकी क्लिङ्कर स्थानीय व्यापारीमार्फत खरिद गर्ने गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२४ मा बिक्री लागत कुल बिक्रीको करिब ६२ प्रतिशत र सन् २०२५ मा ७३ प्रतिशत पुगेको छ । कच्चा पदार्थको मूल्य बढ्दा त्यसको भार उपभोक्तामा सार्न नसकिएमा कम्पनीको नाफामा प्रत्यक्ष असर पर्ने देखिन्छ । बढ्दो प्रतिस्पर्धाले मूल्य समायोजन क्षमता थप चुनौतीपूर्ण बनाएको कम्पनीको भनाइ छ । कच्चा पदार्थको मूल्य उतार–चढाव र तीव्र प्रतिस्पर्धाले पनि व्यवसायमा असर गरिरहेको कम्पनीले जनाएको छ । अनुभवी प्रवद्र्धक, स्थापित ब्रान्ड र स्वामित्वमा रहेका चुनढुंगा खानीका कारण कम्पनीले स्ट्यान्डअलोन ग्राइन्डिङ युनिटहरूमाथि प्रतिस्पर्धात्मक लाभ कायम राखेको छ । ठूला उत्पादकहरूको वर्चस्व, कम प्रवेश अवरोध र मूल्य निर्धारणमा कमजोर प्रभावका कारण सिमेन्ट उत्पादकहरू प्रायः मूल्य स्वीकारकर्ताको भूमिकामा रहेको कम्पनीले उल्लेख गरेको छ । पछिल्ला तीन वर्षमा सिमेन्ट र क्लिङ्करको मूल्य घट्दा उद्योगभर नाफामा दबाब परेको छ । ८ वर्षभन्दा बढी सञ्चालन अनुभव रहेको कम्पनीको सञ्चालक समितिमा पाँच सदस्य छन् । प्रमुख कार्यकारी अधिकृत दीपक राज गिरी र प्रबन्ध निर्देशक नन्दी केशर पौडेलको नेतृत्वमा अनुभवी व्यवस्थापन टोली क्रियाशील छ । कम्पनीसँग लुम्बिनीको तिनपाने क्षेत्रमा ३२०० मेट्रिक टन क्षमताको चुनढुंगा खानीको इजाजतपत्र छ, जुन सन् २०२३ अगस्टमा विस्तार गरिएको हो । हकप्रद सेयर र आईपीओबाट संकलित रकमबाट कम्पनीले आधुनिक रोटरी क्लिङ्कर प्लान्ट स्थापना गर्ने योजना बनाएको छ । दीर्घकालीन औद्योगिक विस्तार, उत्पादन लागत न्यूनीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई लक्ष्य गर्दै कम्पनीले पुँजी संरचना विस्तारको प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको जनाएको छ । ऋण बढायो कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि बढाएको छ । सार्वजनिक विवरण अनुसार सन् २०२५ जुलाइसम्म २ अर्ब २५ करोड रुपैयाँ ऋण रहेकोमा सन् २०२६ मा आइपुग्दा उक्त ऋण बढेर ४ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार विभिन्न बैंकबाट ३ अर्ब ४ करोड रुपैयाँ दीर्घकालीन र ९५ करोड ९२ लाख रुपैयाँ अल्पकालीन ऋण लिइएको छ ।