खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित

काठमाडौं । इरान र इजरायलबीच चर्किएको सैन्य टकरावले यतिबेला फारसको खाडीमा ठूलो सुरक्षा संकट निम्त्याएको छ, जसको प्रत्यक्ष प्रभाव विश्वको ऊर्जा बजारमा देखिन थालेको छ । सोमबार मात्रै कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको उछाल आउनुले आगामी दिनहरू अझै कष्टकर हुने संकेत गरेको छ ।  यो सैन्य तनाव केवल दुई देशबीच मात्र सीमित नरही विश्वकै प्रमुख व्यापारिक मार्गहरूमा फैलिएपछि अन्तर्राष्ट्रिय बजारमा त्रास फैलिएको हो । जानकारहरूका अनुसार यदि यो तनाव तत्कालै साम्य भएन भने तेलको मूल्यले नयाँ उचाइ लिने निश्चित छ, जसले विश्वव्यापी महँगीलाई थप इन्धन दिनेछ । यसैबीच, विश्वका प्रमुख समुद्री बीमा प्रदायकहरूले चालेको कदमले यो संकटलाई झन् जटिल बनाइदिएको छ । ब्लुमबर्गका अनुसार इन्टरनेशनल ग्रुप अफ प्रोटेक्सन एन्ड आईडेम्निटी क्लब्सका आधाभन्दा बढी सदस्यहरूले फारसको खाडी क्षेत्रमा प्रवेश गर्ने जहाजहरूका लागि प्रदान गरिँदै आएको ‘युद्ध–जोखिम’ बीमा कभर फिर्ता लिने घोषणा गरेका छन् ।  ५ मार्चको मध्यरातदेखि लागू हुने यो निर्णयले फारसको खाडी, आसपासका जलक्षेत्र र इरानी समुद्री सीमामा रहेका जहाजहरूको सुरक्षा प्रत्याभूति स्वतः समाप्त गरिदिएको छ । यद्यपि अन्य सामान्य बीमा सर्तहरू यथावत रहने भनिए पनि युद्ध र आतंकवादको जोखिम समेट्ने विशेष कभर नहुँदा शिपिङ कम्पनीहरू ठूलो अन्योलमा परेका छन् । यो बीमा कभर हट्नुको अर्थ अब जहाज मालिक र चार्टर कम्पनीहरूले आफ्ना महँगा जहाज र कार्गोलाई पूर्ण रूपमा आफ्नै जोखिममा त्यस क्षेत्रमा पठाउनुपर्ने हुन्छ । यसले गर्दा धेरैजसो कम्पनीहरूले फारसको खाडीको मार्ग प्रयोग गर्न हिचकिचाउने छन्, जसका कारण आपूर्ति शृङ्खलामा ठूलो अवरोध आउने देखिन्छ ।  यसको प्रत्यक्ष असरस्वरूप मालवाहक भाडा अचाक्ली बढ्नेछ र वैकल्पिक बीमा खोज्नुपरेमा त्यसको प्रिमियम पनि अत्यन्तै महँगो हुनेछ । अन्ततः यो सबै अतिरिक्त लागत कच्चा तेल र अन्य आयातित वस्तुको अन्तिम मूल्यमा जोडिन पुग्छ, जसको सिधा भार सर्वसाधारण उपभोक्ताको गोजीमा पर्नेछ । विशेषगरी स्ट्रेट अफ होर्मुज जहाँबाट विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ, अहिले विश्व समुदायको चासोको केन्द्र बनेको छ । विश्व ऊर्जा आपूर्तिको मुटु मानिने यस समुद्री मार्गमा हुने सानो अवरोधले पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, आपूर्ति संकट र ऊर्जा सुरक्षामा गम्भीर असर पार्ने निश्चित छ  । बीमा कम्पनीहरूको निर्णयले केवल तेलको मूल्य मात्र बढाउने छैन, बरु खाडी मुलुकहरूसँग जोडिएका अन्य व्यापारिक मार्गहरूमा पनि आर्थिक अस्थिरता पैदा गर्नेछ । यदि स्थिति यस्तै रहेमा विश्व अर्थतन्त्रले अर्को ठूलो मन्दी वा ऊर्जा संकटको सामना गर्नुपर्ने जोखिम बढेर गएको छ । खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत ! इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली  

चार नयाँ हेलिकप्टर कम्पनी आउँदै, थपिए ३१ नयाँ विमान

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाली आकाशमा ३१ वटा नयाँ विमान थपिएका छन् । हवाई सेवाको विस्तार, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको माग वृद्धिसँगै नयाँ विमानको संख्या वृद्धि हुँदै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार सन् २०२१ देखि सन् २०२५ सम्म विभिन्न वायुसेवा कम्पनीहरूले निश्चित पंखा (फिक्सड) र हेलिकप्टर र स्पोटर्स प्रकारमा विमान थपेका छन् ।  यस अवधिमा १४ वटा हेलिकप्टर, १६ वटा फिक्स्ड र एउटा स्पोर्टस् भित्रिएका हुन् । बुद्ध एयर, श्री एयरलाइन्स,  प्रभु हेलिकप्टर, सिम्रिक एयर, अन्नपूर्ण हेलिकप्टर, अल्टिच्युड एयर, एयर डाइनेस्टीलगायत हेलिकप्टर कम्पनीहरूले नयाँ हेलिकप्टर भित्र्याएको क्यानको तथ्यांक छ । क्यानले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२५ मा ६ वटा हेलिकप्टर नेपाल भित्रिएका छन् । उक्त वर्ष अन्नपूर्ण हेलिकप्टर, प्रभु हेलिकप्टर, अल्टिच्युड एयर, सिम्रिक एयर, माउन्टेन हेलिकप्टर र एयर डाइनेस्टीले एक–एक वटा हेलिकप्टर थपेका छन् । पछिल्लो पाँच वर्षमध्ये सन् २०२४ मा सबैभन्दा धेरै १४ वटा विमान नेपाल भित्रिएका छन् । जसमध्ये ६ वटा हेलिकप्टर, ७ वटा फिक्स्ड र एउटा स्पोर्टस एयरक्राप्ट भित्रिएका छन् ।  उक्त वर्ष मुस्ताङ हेलिकप्टर, बेलुन नेपाल, बुद्ध एयर, हेली एभरेष्ट, मनाङ एयर, एयर डाइनेस्टी र श्री एयरलाइन्सले आफ्नो फ्लीट विस्तार गर्दै नयाँ विमान तथा हेलिकप्टर थपेका हुन् । मुस्ताङ हेलिकप्टरले कलसाइन ९ एन–एनओ भएको एयरबस हेलिकप्टर थपेको छ । त्यस्तै, बेलुन नेपालले ९ एन–एनभी कलसाइनको अल्ट्रा म्याजिक एस.ए. विमान भित्र्याएको देखिन्छ ।  बुद्ध एयरले सन् २०२४ मा दुई वटा एटिआर ७२–२१२ ए विमान थपेको छ । कम्पनीले कलसाइन ९ एन–एनजेड र ९ एन–एओएफ भएका दुई जहाज थपेको छ ।  हेली एभरेष्टले पनि सोही वर्ष दुई वटा एयरबस हेलिकप्टर थपेको छ । कम्पनीले ९ एन–एओए र ९ एन–एओबी कलसाइनका हेलिकप्टर सञ्चालनमा ल्याएको हो । त्यस्तै, एयर डाइनेस्टीले ९एन–एओडी कलसाइनको एयरबस हेलिकप्टर भित्र्याउको छ । मनाङ एयरले पनि फ्लीट विस्तार गर्दै दुई वटा एयरबस हेलिकप्टर थपेको छ ।  कम्पनीले ९एन–एओई र ९एन–एओजे कलसाइनका हेलिकप्टर भित्र्याएको देखिन्छ । यस अवधिमा श्री एयरलाइन्सले सबैभन्दा धेरै फिक्सड जहाज थपेको छ । कम्पनीले सन् २०२४ मा तीन वटा डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान फ्लीटमा समावेश गरेको हो। ती विमानहरूको कलसाइन क्रमशः ९एन–एओके, ९एन–एओएल र ९एन–एओएम रहेका छन् ।  सन् २०२१ मा नेपाली वायुसेवा कम्पनीहरूले तीनवटा विमान थपेका छन् । उक्त वर्ष बुद्ध एयरले दुई वटा र श्री एयरलाइन्सले एक वटा विमान भित्र्याएका हुन् । बुद्ध एयरले सन् २०२१ मा दुई वटा एटिआर–७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । कम्पनीले कलसाइन ९ एन–एजिएल र ९ एन–एनएच भएका एटिआर–७२–२१२ए विमान सञ्चालनमा ल्याएको हो । त्यस्तै, श्री एयरलाइन्सले सोही वर्ष कलसाइन ९ एन–एनआर भएको डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान फ्लीटमा थपेको थियो । सन् २०२२ मा नेपाली वायुसेवा कम्पनीहरूले कुल चार वटा विमान तथा हेलिकप्टर फ्लीटमा थपेका छन् । उक्त वर्ष यति एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र अन्नपूर्ण हेलिकप्टरले नयाँ जहाज भित्र्याएका हुन् । यति एयरलाइन्सले कलसाइन ९ एन–एएमजेड भएको एटिआर ७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । त्यस्तै, बुद्ध एयरले ९ एन–एएनपी कलसाइनको एटिआर ७२–२१२ए विमान थपेको थियो । श्री एयरलाइन्सले सोही वर्ष ९एन–एनएस कलसाइनको डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान भित्र्याएको थियो भने अन्नपूर्ण हेलिकप्टरले ९ एन–एएनयु कलसाइनको एस ३५० बी ३ई (एयरबस) हेलिकप्टर फ्लीटमा समावेश गरेको थियो ।  सन् २०२३ मा पनि चार वटा विमान तथा हेलिकप्टर नेपाली वायुसेवा कम्पनीहरूको फ्लीटमा थपिएका छन् । उक्त वर्ष बुद्ध एयरले सबैभन्दा धेरै तीन वटा विमान भित्र्याएको थियो । बुद्ध एयरले कलसाइन ९ एन–एएनक्यु, ९ एन–एएनडब्ल्यु र ९ एन–एओसी भएका तीनवटा एटिआर ७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । त्यस्तै, सिम्रिक एयरले सोही वर्ष ९ एन-एएनएक्स कलसाइनको बेल ५०५ हेलिकप्टर भित्र्याएको थियो । नयाँ चार हेलिकोप्टर कम्पनी भित्रिँदै प्राधिकरणका अनुसार नेपालमा हाल सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरूको कुल जहाज संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । हवाई क्षेत्रमा जहाज थपिने क्रमले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको संकेत पनि गरेको सरोकारवालाहरू बताउँछन्। कोभिड-१९ महामारीपछि हवाई सेवा क्रमशः सामान्य बन्दै जाँदा कम्पनीहरूले दीर्घकालीन योजना अनुसार विमान थप्दै गएका छन् । प्राधिकरणका अनुसार हेली एयर नेपाल, सगरमाथा एयर, गगनचुम्बी एयर र सुमेदा एयरले वायुसेवा सञ्चालन प्रमाणपत्रका लागि विस्तृत प्रस्ताव प्राधिकरणमा पेस गरेका छन् । सुमेदा एयर गैरआवासिय नेपाली व्यवसायीका रुपमा परिचित निरज गोविन्द्र श्रेष्ठले यो कम्पनीमा लगानी गरेर सञ्चालन गर्ने तयारी गरेका हुन् ।  नेपालमा पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गइरहेको छ । विशेषगरी आकस्मिक उद्दार, व्यापारिक उडान, कार्गो उडानलगायतमा यसको प्रयोग बढ्दै गएको हेलिकप्टर व्यवसायीहरू बताउँछन् । 

पोखरा र समृद्धि मर्जपछि पोखरा फाइनान्स बन्ने, मिश्र अध्यक्ष र गुरुङलाई सीईओको जिम्मेवारी

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सले चैतभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेका छन् । समान हैसियतमा गाभिन लागेका यी दुई वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट छिटो अन्तिम स्वीकृति पाए चैत मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने योजना बनाएका हुन् । दुवै संस्थाबीच १ः१ सेयर अनुपातमा मर्ज हुने सहमति भएको छ । अर्थात् गाभिएपछि दुवै कम्पनीका सेयरधनीले समान अनुपातमा सेयर प्राप्त गर्नेछन् । मर्जरपछि कम्पनीको नाम पोखरा फाइनान्स नै रहनेछ । कम्पनीको दर्ता कार्यालय पोखरामा र कर्पोरेट कार्यालय काठमाडौंमा रहने जनाइएको छ । यस्तो बन्नेछ मर्जरपछि सञ्चालक समिति मर्जरपछि बन्ने पोखरा फाइनान्सको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जपछि बन्ने सञ्चालक समिति सात सदस्यीय हुनेछ । समृद्धि फाइनान्सबाट चार जना र पोखरा फाइनान्सबाट तीन जना सञ्चालक रहने सहमति भएको छ । समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे सञ्चालक बन्नेछन् । हालका अध्यक्ष अजय मिश्र गाभिएपछि पनि अध्यक्ष बन्ने स्रोतले जनाएको छ । विनोद कुमार सुवेदी र रोशन पन्त भने बाहिरिने छन् ।   पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ सञ्चालक बन्नेछन् । हालका अध्यक्ष राजकुमार गुरुङ र गंगा घले भने बाहिरिनेछन् ।  मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश गुरुङ बन्ने सहमति भएको छ । स्रोतका अनुसार समृद्धि फाइनान्सका हालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे नायव प्रमुख कार्यकारी अधिकृत रहने वा नरहने विषय भने टुंगो लागेको छैन । कर्मचारी व्यवस्थापन आन्तरिक रूपमा भइरहेको कम्पनी स्रोतले जनाएको छ । कर्मचारीहरू हाल जुन पदमा छन्, सोही पदमा रहने र सेवा-सुविधामा कुनै कटौती नहुने स्पष्ट पारिएको छ । मर्जरपश्चात यस्तो बन्नेछ फाइनान्स मर्जरपछि चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार मर्जरपछि कम्पनीको निक्षेप १० अर्ब ३७ करोड ९९ लाख ९४ हजार रुपैयाँ र कर्जा लगानी ६ अर्ब ३० करोड ७४ लाख ३४ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको निक्षेप ७ अर्ब ३८ करोड ९० लाख ७१ हजार रुपैयाँ र समृद्धि फाइनान्सको २ अर्ब ९९ करोड ९ लाख २३ हजार रुपैयाँ रहेको छ । कर्जातर्फ पोखराको ४ अर्ब ३३ करोड ७५ लाख ४१ हजार रुपैयाँ र समृद्धिको १ अर्ब ९६ करोड ९८ लाख ९३ हजार रुपैयाँ रहेको छ । पोखरा फाइनान्सको खराब कर्जा अनुपात २५.१० प्रतिशत र समृद्धि फाइनान्सको ८.१७ प्रतिशत रहेको छ । मर्जरपछि कम्पनीको खराब कर्जा दर उच्च रहने देखिए पनि त्यसलाई क्रमशः नियन्त्रणमा ल्याउने योजना रहेको कम्पनी स्रोतले जनाएको छ । मर्जरपछि शाखा सञ्जाल ३६ वटा पुग्नेछ । एउटै स्थानमा रहेका शाखा आवश्यक परे गाभिने जनाएको छ । कर्मचारी संख्या करिब ३ सय पुग्नेछ, जसमा पोखरा फाइनान्सका करिब २ सय र समृद्धिका करिब १ सय कर्मचारी समाहित हुनेछन् । कम्पनी स्रोतका अनुसार शाखा संख्याको हिसाबले नम्बर वान हुनेछ । यसमा कतिपय शाखा गाभ्नुपर्ने हुन सक्छ । जस्तो पोखरामा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शाखा छ । व्यवसायको हिसाबमा दुइटा कम्पनीको जोड्दा अन्य फाइनान्सको प्रतिस्पर्धीको रुपमा आउन सकिन्छ । दुवै संस्थाबीच गरिएको विस्तृत मूल्यांकन (ड्यु डिलिजेन्स अडिट) प्रतिवेदनअनुसार करिब ७ प्रतिशत अन्तर देखिएको छ । प्रारम्भिक सहमति अनुसार १० प्रतिशतभित्र रहने समझदारी भएको र प्रतिवेदन पनि सोही सीमाभित्र आएको कम्पनी स्रोतले जनाएको छ ।