बालेनको नेतृत्वमा नयाँ सरकार
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई नजिकको मत पाउने निश्चित भएको छ । निर्वाचन आयोगले शनिबार साँझसम्म सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७१ प्रतिशत सिट जित्ने भएको छ । प्रत्यक्षतर्फ १६५ सांसद पदका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १२१ पदमा निर्वाचन क्षेत्रमा जित हासिल गर्ने देखिएको छ । पूराना र ठूला पार्टीहरु मध्ये नेपाली कांग्रेसले करिव २१ निर्वाचन क्षेत्रमा, नेकपा एमाले ११ निर्वाचन क्षेत्रमा, नेपाली कम्युनिष्ट पार्टीले ७ निर्वाचन क्षेत्रमा जित्ने सम्भावना छ । त्यस्तै पूर्व मेयर हर्क साङपाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा जित्ने सम्भावना देखिन्छ । राष्ट्रिय प्रजातन्त्र पाटीका ज्ञानेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार एव पूर्व मन्त्री महाविर पुनले १÷१ क्षेत्रमा जीत हासिल गरेका छन् । समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डौ ५५ प्रतिशत मत पाउने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरी यस पार्टीले १७० भन्दा बढी सीटमा विजय हासिल गर्ने देखिएको छ । यो मत भनेको स्पष्ट बहुमतका लागि आवश्यक १३८ भन्दा धेरै बढी र दुई तिहाइ अर्थात १८४ भन्दा केही कम सिट हुनेछ । निर्वाचनपछि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै पदमा राष्ट्रिय स्वातन्त्र पार्टीको प्रतिनिधि हुने निश्चित रहेको छ । तर, राष्ट्रिय सभामा यस पार्टीको उपस्थिति शून्य भएका विधयक पारित गराउने सवालमा पुराना प्रमुख तीन दलसँगको साझेदारी अनिवार्य देखिएको छ । बालेन क्रान्ति नेपाली राजनीतिमा नयाँ तरिकाले उदाएका बालेन्द्र शाह (बालेन)ले अत्यधिक जनविश्वास पाएका छन् । निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनलाई तत्काल वरिष्ठ नेता स्वीकार गर्ने र उनलाई भावी प्रधानमन्त्री सम्झौता गरेको थियो । बालेनलाई भावी प्रधानमन्त्री बनाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र यसको निर्वाचन चिन्ह घण्टीको समर्थनमा ब्यापक जनसमर्थन देखिएको थियो । ‘अबकी बार, बालेन सरकार’को नारा देशभर गुञ्जिएको थियो । राजनीतिक र सामाजिक विषयमा र्याप गीतका माध्यमबाट मनोरञ्जन र व्याङ्य गर्दै अगाडि बढेको बालेनले २०७० देखि २०७९ सम्म इन्जिनियरिङ पेशा अपनाएका थिए । २०७९ सालमा भएको स्थानीयत तहको निर्वाचनमा स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित भएपछि उनको चर्चा देशविदेशमा हुन थालेको थियो । मेयरको रुपमा ४ वर्ष काम गर्दै गर्दा समग्रमा बजेट कार्यान्वनमा कमजोर देखिए पनि बालेनले महानगरको सरसफाइ, फुटपाथ व्यवस्थापन, सार्वजनिक स्कूलहरुमा सुधार, स्वास्थ्य क्षेत्रमा गरेका सुधारको धेरै प्रशंशा भएको थियो । उनको नेतृत्वमा अनधिकृत रुपमा मिचिएका हजारौं रोपनी सार्वजनिक जग्गा महानगर पालिकाको स्वामित्वमा ल्याउने, पार्किङ व्यवास्थपन गर्ने, सार्वजनिक शौचालयको व्यवस्थापन गर्ने कार्यको पनि धेरैले तारिफ गरेको थिए । सबैभन्दा महत्वपूर्ण विषय बालेनले भ्रष्टाचार गर्दैनन् भन्ने सन्देश उनी मेयर भएको समयमा नेपालीमाझ सञ्चार भएको छ । थोरै बोल्ने, संस्थागत विकासमा जोड दिने, आलोचनाभन्दा काम गरेर देखाउने मेयरको रुपमा पनि उनले अलगै पहिचाहन बनाएको थिए । भाषण धेरै गर्ने राजनीतिक संस्कारबाट वाक्क भएको नेपाली समाझमा उनी कम बोल्ने नेताका रुपमा स्थापित भएका छन् । चुनावी अभियानका क्रममा बालेन देशका झण्डै ५० जिल्ला भ्रमण गरे पनि उनले ६ स्थानमा मात्र भाषण गरे । भाषणमा उनले राष्ट्रिय अन्तराष्ट्रिय मुद्दा उठाएनन, मात्र स्थानीय मुद्दामा उनी बोलेका थिए । विपक्षी दल र तिनका नेतालाई गाली गर्ने राजनीतिक संस्कारलाई उनले तिलाञ्जली नै दिएका छन् । मेयर भएदेखि नै सञ्चार माध्यममा अन्तर्वार्ता नदिएका बालेनले निर्वाचनको समयमा समेत सञ्चार माध्यमहरुमा अन्तरवार्ता समेत दिएनन् । तर, बालेन क्रेज यति धेरै रह्यो कि निर्वाचनभर नेपाली र विदेशी सञ्चार माध्यमहरुले सबैभन्दा बढी स्थान उनै बालेनलाई दिएका थिए । विश्व प्रशिद्ध समाचार एजेन्सी रोयटर्स, न्यूयोक टाइम्स जस्ता सञ्चार माध्यममा बालेनको स्टोरीहरु प्रटक पटक प्रकाशित भए । सामाजिक सञ्जालमा बालेन सबैभन्दा लोकप्रिय नेताको रुपमा स्थापित छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारले असहयोग गरेपछि तत्कालिन मेयर बालेनले तत्कालीन प्रधानमन्त्री ओलीलाई सामाजिक सञ्जालबाट पटक–पटक चुनौति दिँदै आएका थिए । अन्ततः बालेन झापाको ५ नम्बर निर्वाचन क्षेत्रमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी ओलीसँग निर्वाचनमा भिड्न नै पुगे । र, ओलीको भन्दा झण्डै चार गुणा बढी मत ल्याएर विजय हासिल गरे । बालेनले कुल ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाए । निर्वाचनअघि नै बालेनको राजनीतिक दबाब यति बलियो थियो कि त्यसको सामना गर्न केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित भएका थिए । घण्टीको दबाबले प्रमुख दलका नेताहरु सबै आफूलाई कसरी सुरक्षित गर्ने भनेर पुरै निर्वाचन क्षेत्रमा सीमित भएका थिए । बालेनकै क्रेजले रास्वपाले देशभर लहर ल्यायो । अब रास्वपाले नयाँ सरकार गठन गर्नेछ । जसको प्रधानमन्त्री बन्नेछन् बालेन । अब बन्ने सरकारको बालेनले कसरी गर्नेछन् त्यो भने हेर्न बाँकी छ ।
दोस्रो पटक संसदमा सोविता, हालसम्मकै उच्च मतले विजयी
चितवन । चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित विजयी भएकी छन् । गौतम ५९ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी हुन् । उनी ३८ हजार ६६२ मतान्तरले विजयी भएकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई पराजित गरेकी हुन् । रेनुले २० हजार ६ सय १५ मत ल्याएर दोस्रो भइन् । यसअघि काठमाडौं-२ बाट जितेकी गौतम अहिले चितवन-३ बाट विजयी भएका हुन् । २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी गौतमले कानुनमा स्नातक गरेकी छन् । अधिवक्ता गौतमसँग टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता भएर काम गरेको अनुभव छ ।
२८ वर्षको उमेरमा पूर्वअर्थमन्त्रीलाई हराएर संसदमा सुलभ
काठमाडौं । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल विजयी भएका छन् । प्रतिनिधसभा निर्वाचनमा उनी ५६ हजार ५५० मत पाएर विजयी भएकाहुन् । उनले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्रीसमेत रहेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन् । पौडेलले १२ हजार ८६१ मत मात्रै पाए भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले ९ हजार ३९२ मत पाए । २८ वर्षीय खरेल अधिवक्ता हुन् । कानूनको विद्यार्थी रहेका उनले सर्वोच्च अदालतमा विभिन्न मुद्दाहरुमा बहस र पैरवी गर्दै आएका थिए । उनले केपी शर्मा ओलीद्वारा गरिएको असंवैधानिक संसद विघटनको विरुद्ध कानुनको विद्यार्थी र सबैभन्दा कान्छा रिट निवेदकको रूपमा सर्वोच्च अदालतमा रिट दायर गरी बहस गर्दै राष्ट्रिय तहमा व्यापक चर्चा कमाएका थिए । राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभूषित खरेलले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको विरुद्धमा दर्ता भएको रिटमा मस्यौदा तयारी तथा न्यायिक सुशासनका पक्षमा सक्रिय भूमिका खेलेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदहरू विरुद्ध निर्वाचन आयोगद्वारा गरिएको अधिकार मिचाइ र जरिवाना कारबाही विरुद्ध बहस गर्दै उनले कानुनी हस्तक्षेपमार्फत न्यायको संरक्षण गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको चक्रवर्ती हाबी कलेज दुवैमा एलएलएम प्रवेश परीक्षामा शीर्ष स्थान हासिल गरेका थिए । शैक्षिक उत्कृष्टताको मानक स्थापित गर्दै उनी विश्वविख्यात हार्वर्ड, मिचिगन र यूसी बर्केली विश्वविद्यालयहरूमा एलएलएमका लागि छनोटमा परे । उनले मिचिगन ल स्कूलबाट पूर्ण छात्रवृत्तिमा स्नातकोत्तर हासिल गरेका छन् ।