महुली लघुवित्तको ११औं साधारण सभा आज, के छन् मुख्य एजेन्डा ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण प्रस्तुत हुनेछन् । सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागी लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १४ गतेका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीमात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।
कोशीका २३ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरूले बताएका छन् । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राखे । उनीहरूले राज्यले धेरै ठूलो अपेक्षा राखी सुरु गरेको यस कार्यक्रमलाई हामी सबैले सफल गरी संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा डा. शंकरप्रसाद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकाले सम्पूर्ण नागरिकले बीमा गर्न आग्रह गरे । बोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले मुलुकभरि गत वर्ष १६ अर्ब र चालु वर्षको आठ महिनाको अवधिमा चारपटक गरी आठ अर्ब रुपैयाँ सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सोही अवसरमा विराटनगर–३ का उत्कृष्ट बीमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो । प्रदेशमा कूल बीमित परिवार संख्या चार लाख ४४ हजार नौ सय ११, कूल बीमित जनसङख्या २३ लाख नौ हजार आठ सय ५५ जना (४७ प्रतिशत), सेवा लिनेको बीमितको संख्या ११ लाख तीन हजार चार सय ३४ जना (४८ प्रतिशत) र नवीकरण गर्ने बीमितको संख्या ७७ दशमलव २९ प्रतिशत रहेको बोर्डद्वारा उपलब्ध तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेश बोर्डअन्तर्गत सरकारी ८०, सामुदायिक चार र निजी २२ गरी एक सय ६ सेवा प्रदायक स्वास्थ्य संस्था आबद्ध रहेका छन् । हालसम्म नेपालमा ७७ लाख ४१ हजार चार सय ५३ जना (२२ दशमलव ५४ प्रतिशत) नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् । बोर्डले लक्षित वर्गबाहेक स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।
बाढी प्रभावित आयोजनाको ऋणको ब्याजलाई पुँजीकरण गराउन राष्ट्र बैंकलाई निर्देशन
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूलाई मर्मत सम्भारको लागि आयात गर्नुपर्ने आवश्यक पार्टपुर्जा तथा उपकरणहरूलाई १ प्रतिशत भन्सार महसुल र मूल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिई आयातको व्यवस्था गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको चैत २२ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २०८० पुस ३ गतेको निर्णय बमोजिमको सिफारिस तत्काल कार्यान्वयन गर्न र सोको प्रगति विवरण ७ दिनभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । साथै, उर्जा मन्त्रालयको निर्णय तथा सिफारिस बमोजिम अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पुनरकर्जाको व्यवस्था गर्न तथा प्रभावित आयोजनाहरूको ऋणको ब्याज रकमलाई पुँजीकरण गरी पुनरतालिकाको व्यवस्था गरी ७ दिनभित्र प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । यस्तै, प्रभावित आयोजनाहरूका हकमा प्रमोटर सेयरको लक–इन पिरियडको व्यवस्थामा नेपाल धितोपत्र बोर्डलाई सम्बन्धित नियमावलीको संशोधन गर्ने व्यवस्था गर्न निर्देशन दिईको छ ।