गरिमा विकास बैंकको पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेको पुरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै गरिमा विकास बैंकमा गाभिएका साविकका शुभेच्छा विकास बैंक, निलगिरी विकास बैंक र सहारा विकास बैंकको साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७४र७५ सम्मको नगद लाभांश लिन बैंकले आग्रह गरेको हो । यसका लागि सेयरधनीले गरिमा विकास बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क गर्नुपर्ने छ । बैंकका अनुसार ३५ दिनभित्र आर्थिक वर्ष २०७४।०७५ सम्मको नगद लाभांश बुझ्न नआएमा उक्त अवधिसम्मको बाँकी नगद लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (९) मा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने छ ।
सलिकोको अध्यक्षमा पुनः मुल, सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो । सोहि दिन सम्पन्न कम्पनीको २७औं वार्षिक साधारण सभाले मूलसहित ६ जनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयरधनीको समूह क बाट बैदेशिक लगानीकर्ता सिलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवद्र्धना मनोनित भएका छन् । त्यस्तै, लोकमान्य गोल्छा, र सिद्धार्थमणि राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कम्पनीको सर्वसाधारण सेयरधनीकोतर्फबाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ मा युवा नवप्रवर्द्धकको भेला गर्ने
काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा युवा नवप्रवर्द्धकहरुको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । बर्सेनि दसौँ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरु छन् । तर, सरकारी निकायको झैझमेला तथा बैंक तथा वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन। त्यसैले सीप जाँगर र चाहना हुँदाहुँदै पनि बाध्य भएर युवाहरुको रोजाइ विदेश हुन गइरहेको छ । यस्तो प्रतिकुल अवस्थामा युवाहरुलाई प्रेरित गर्न र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउने गरी नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरुको भेला गर्न लागेको हो । भेलामा युवाहरुको व्यावसायिक योजनाहरु प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजनाहरु स्थापना र सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने काम गरिनेछ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पति व्यवस्थापन र व्यावसायिक परामर्श दिने गरी खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो । वैशाख ८ गतेको भेलापछि नेक्सजेनले नियमित रुपमा नवप्रवर्द्धक उद्यमीहरुसँग छलफल गरी उनीहरुलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम सञ्चालन गर्नेछ ।