डिप्रोक्स लघुवित्तको साधारण सभा आज, प्रस्तावित लाभांश पारित गर्ने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा चितवनको पार्क सफारी रिसोर्ट सौराहामा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार चैत्र २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।

सेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकका लागि पाँच जनाको नाम सर्टलिष्ट

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी व्यवस्थापन तथा सञ्चालनका लागि पाँच जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ । राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनी व्यवस्थापन तथा सञ्चालनका लागि गोविन्द प्रसाद शर्मा, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, प्रकाश घिमिरे र रोशन कुमार अधिकारीको नाम अन्तर्वार्ताको लागि छनोट गरेको हो । नेपाल राष्ट्र बैंकले उम्मेदवारहरूको अन्तर्वार्ताको लागि मिति पनि तय गरेको छ । रितपूर्वक पेश भई स्वीकृत भएका दरखास्त फाराम पेश गर्ने उम्मेदवारहरूको शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्यांकन र प्रस्तुतीकरण समेतको आधारमा पाँच जनालाई छनोट गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले पहिलो पटक फागुन १४ र दोस्रो पटक चैत ७ गते संयोजकका लागि सूचना जारी गरेको थियो । दुई जना व्यक्ति रहने व्यवस्थापन समूहमा एक जना संयोजक माग गरिएको थियो ।

डिब्यानले आयोजना गरेको निबन्ध प्रतियोगिताको विजेता घोषणा

काठमाडौं । विश्व वित्तिय सप्ताह २०२४ को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको विजेताको घोषणा भएको छ । २०८० फाल्गुण ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत्र ०७ गते साँझ ०५ बजे भित्र देशभरीबाट निबन्ध पठाई सहभागि भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगिहरुबाट बिजेता छनौट गरिएको हो । सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएकी छिन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय भएका छन् । मानसरोवर बहुमुखी क्याम्पस, हुम्लामा अध्ययनरत विद्यार्थी प्रदिप घर्ति क्षेत्री तेश्रो भएका छन् । प्रतियोगितामा विजेता हुने मध्ये प्रथमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले प्राप्त निबन्धहरुको अध्ययन तथा विजेता छनौट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्ण कुमार गिरी र सन्दिप राणा सहित गठन गरेको ३ सदस्यीय मुल्यांकन समितिले प्राप्त निबेदनहरुउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्यांकन गरी बिजेताको छनौट गरेको हो । विश्व वित्तिय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले विश्व व्यापीरुपमा वर्षेनी मनाइने अभियान हो । विजेताहरुलाई धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गर्नेछ ।