एनआईसी एसिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । साउन ६ गते बिहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त बैठकले जोशीलाई साउन ७ गतेबाट लागु हुने गरी संस्थाको सीईओमा ४ वर्षको लागि नियुक्त गरेको हो । उनीसँग यो भन्दा अगाडी छिमेक लघुवित्तमा पनि सीईओको रुपमा काम गरिसकेको राम्रो अनुभव रहेको छ ।

मानुषी लघुवित्तको सेयर लक इन अवधि भदौ ७ गते सकिने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको लकइन अवधि सकिने भएको छ । लघुवित्तको लिमिटेडको लक इन अवधि सकिने भएको छ । लघुवित्तको कर्मचारीहरूको स्वामित्वमा सेयरको लकइन अवधि भदौ ७ गतेदेखि सकिने भएको हो । लघुवित्तका अनुसार आगामी भदौ ७ गतेदेखि कर्मचारीहरूको स्वामित्वमा रहेको ५ हजार ४६८९ कित्ता सेयरको लकइन अवधि सकिनेछ । लघुवित्तले सर्वसाधारणलाई आईपीओ निष्काशन गरी वि.सं २०७८ भदौ ७ गतेका दिन बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सर्वसाधारणलाई सेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ । लघुवित्तका संस्थापक सेयर सदस्यहरूमध्ये संचालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीका उच्च तहमा रहेका कर्मचारीहरूले भने सेयर खरिद बिक्री गर्न नपाईने लघुवित्तले जनाएको छ । हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनीहरूको स्वामित्व ६४ प्रतिशत अर्थात ७ लाख कित्ता र सर्वसाधारण समूहको स्वामित्व ३६ प्रतिशत अर्थात् ३९ लाख ३७ हजार कित्ता रहेको छ ।

एनसीएचएल र आइएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेटका लागि सम्झौता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र आइएमएस सफ्टवेयर प्रालिबीच आइएमएसको बिलिङ सफ्टवेयरमा डाइनामिक नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र आइएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे । यस साझेदारीपछि आइएमएसका ग्राहकहरूले आफ्नो बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गरी आफ्नो तोकिएको बैंक खातामा सोझै भुक्तानी प्राप्त गर्न सक्छन् । यस सेवाको सुरुवातसँगै आइएमएसका बिलिङ्ग सफ्टवेयर प्रयोग गरी मर्चेन्टहरुलाई नेपाल पे क्युआरमार्फत सहज रुपमा भुक्तानी प्राप्त गर्ने सुविधा हुनुका साथै भुक्तानीकर्ताले पनि सजिलै आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्न सक्नेछन् । आइएमएस सफ्टवेयर प्रालि नेपालको एक अग्रणी सफ्टवेयर कम्पनी हो । यसले आफ्ना ग्राहकहरुका लागि बिलिङ सफ्टवेयरका साथै सेल्स पिओएस सिस्टम पनि प्रदान गर्दै आएको छ । आइएमएसले विभिन्न क्षेत्र, रिटेल बिजनेस, मर्चेन्ट गरी नेपाल, भारत, मलेसिया र जापानलगायतका देशमा २०,००० भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । यस्तै, नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरूबाट क्यूआरमार्फत भुक्तानी प्राप्त गर्न आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् ।