सर्टिफिकेट अफ मेरिट अवार्डबाट एनसीएचएल सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेश्नल वेस्ट प्रिजेन्टेड अवार्ड’ पाएको छ । आईक्यानले आयोजना गरेको वार्षिक कार्यक्रममा एनसीएचएलले सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ पाएको हो । एनसीएचएलले आर्थिक वर्ष २०७९–८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षहरूमा समेत एनसीएचएलले आईक्यान तथा दक्षिण एसियन फेडेरेसन अफ अकाउन्ट्स (साफा) बाट वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्टस अवार्ड पुरस्कार पुरस्कार प्राप्त गरेको थियो । एनसीएचएल नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । एनसीएचएलले हरेक वर्ष पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजर तर्फको प्रतिबद्धताको सम्मान स्वरूप उक्त अवार्डलाई लिएको छ ।

नेरुडे मिर्मिरे लघुवित्तका देशभरिका शाखामा तालाबन्दी (फोटो फिचरसहित)

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्थाका कर्मचारीहरू आन्दोलित बनेका छन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरू आन्दोलित हुँदै देशभरिका शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् । आफूहरूको मनोबल खस्किने गरी पद घटुवा गरेपछि कर्मचारीहरू आन्दोलित बनेका हुन् । लघुवित्तमा कार्यरत फिल्ड कर्मचारीहरूले संस्थालाई उचाइको शिखरसम्म पूर्याएर बलियो बनाएका छन् । तर, आफूहरूले गरेको योगदान र खेलेको भूमिकालाई बेवास्ता गर्दै पद घटुवा गराएको उनीहरूको भनाइ छ । साविक नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जपश्चात् साविक मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक (ख) पदमा कार्यरत कर्मचारीलाई कनिष्ठ सहायकमा बढुवा गर्ने सहमति थियो । तर, मर्जरपश्चात् केन्द व्यवस्थापक पद सिर्जना गरी कार्यालय सहयोगी भन्दा पनि तल्लो दर्जामा राखेको महसुस भएको उनीहरूले बताएका छन् र त्यसैले केन्द्र व्यवस्थापक पद खारेज गरी कनिष्ठ सहायकमा बढुवा गर्नुपर्ने मागसहित देशभरिका शाखामा तालाबन्दी गरेका हुन् ।

कर्जा चुक्ता गर्न समस्याग्रस्त घोषित सिभिल सहकारीको ताकेता, नतिरे कारबाही गर्ने

काठमाडौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ऋण तिर्न ताकेता गरेको छ । सहकारी संस्थाले ऋणीहरूलाई ३५ दिनभित्र ऋण तिर्ने ताकेता गरेको हो । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार सूचना प्रकाशन गरी सावाँ ब्याज तिर्न भनेको हो । ‘प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ ब्याज सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र यस संस्थाको बैंक खातामा जम्मा गरी सोको भौचर यस समितिको कार्यालयमा पेस गरी कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । साथै समयभित्र ऋण कर्जाको दायित्व राफसाफ नगरेमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी दिएको छ ।