सूर्योदय वोमी लघुवित्तको एफपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन पाइने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आज (साउन ४ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि साउन १८ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले एफपीओमा सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

कार्यकाल दोहोर्‍याउने लबिङमा गभर्नर अधिकारी, बाधक बन्न सक्छ ओली-चौधरीको सम्बन्ध

काठमाडौं । गत सोमबार नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयको सचिवालयबाट बैंकरहरूलाई एउटा सूचना आयो । सूचनामा मौद्रिक नीतिको विषयमा छलफल तथा बैंकरबाट सुझाव माग गर्ने उल्लेख थियो । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि लिखित सुझाव दिइसकेका बैंकरहरू एकछिन अलमलमा परे । पछि सचिवालयमा सम्पर्क गरेर सोध्दा गभर्नरको सचिवालयका व्यक्तिले भने, ‘यो अनौपचारिक छलफल नै हो, कुनै छुटपुट सुझावहरू छन् भने लिनका लागि सबैलाई डाकिएको हो ।’ त्यसपछि नेपाल बैंकर्स संघको कार्यसमिति, डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष र उपाध्यक्षसहितको समूह मंगलबार साढे १२ बजे राष्ट्र बैंक पुग्यो । गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू पनि उपस्थित भएको उक्त छलफल कार्यक्रम करिब दुई घण्टासम्म चल्यो । छलफलमा बैंकरहरूले गभर्नरको अन्तिम मौद्रिक नीति भएकाले लचिलो र कर्जा विस्तार हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने माग गरे । बैंकरहरूको भाव थियो, ‘गभर्नरको अन्तिम कार्यकाल भएकाले पनि बजार विस्तार हुने मौद्रिक नीति आओस् ।’ मौद्रिक नीतिको सुझाव दिन आयोजना गरिएका अधिकांश कार्यक्रममा गभर्नर अधिकारीले सुन्न परेको शब्द हो ‘अन्तिम कार्यकाल’ । विभिन्न उद्योगी व्यवसायी तथा बैंकरहरूले पनि हरेक कार्यक्रममा यही शब्द उफार्ने गरेका छन् । तर, त्यो शब्दप्रति उनी सन्तुष्ट छैनन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धन आउनुअघि उनले त्यो सहज रूपमा स्वीकारे पनि पछिल्लो समय भने उनी आफ्नो अन्तिम कार्यकाल मान्न तयार छैनन् । किनकि गभर्नर अधिकारीले पृथक रणनीति र योजना अगाडि सारिसकेका छन् । मंगलबार बैंकरहरूसँगको छलफलमा पनि उनले त्यो संकेत देखाए । एक बैंकका सीईओले गभर्नरको अन्तिम कार्यकाल भन्दा उनले त्यसको ‘ट्याकल’ गरे । अर्थात् उनले त्यो शब्दलाई स्वीकार गर्न चाहेनन् । र, उनले हँसिलो मुहारमा भनेको कुरा उदृत गर्दै एक बैंकरले भने, ‘सबैले मलाई अन्तिम मौद्रिक नीति ल्याउँदै भनिरहनुभएको छ, तर मेरो अन्तिम मौद्रिक नीतिभन्दा पनि पहिलो कार्यकालको अन्तिम मौद्रिक नीति हुन सक्छ भन्नुभयाे ।’ ती बैंकरका अनुसार गभर्नर अधिकारीले छलफलमा गभर्नरका रूपमा दोहोरिन चाहेको संकेत व्यक्त गरेका थिए । विसं २०७६ चैतमा राष्ट्र बैंकको गभर्नर बनेका अधिकारीको कार्यकाल आगामी चैतमा सकिँदैछ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा अघिल्लाे कार्यकालमा प्रधानमन्त्री ओली हुँदा उनले ने अधिकारीलाई गभर्नरमा नियुक्त गरेका थिए । र, अहिले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकार भएकाले अधिकारले गभर्नरमा दोहोरिने चासो राखेको बुझिएको छ । कार्यकाल दोहोर्‍याउने लबिङमा गभर्नर अधिकारी कार्यकाल दोहोर्‍याउने मनस्थितिमा पुगिसकेको बुझिएको छ । नेपाल राष्ट्र बैंकको नेतृत्व लिनका लागि पूर्वकार्यकारी निर्देशकहरू, डेपुटी गभर्नर तथा बैंकिङ क्षेत्रका विज्ञहरूको ठूलो तछाडमछाड हुन्छ । अधिकारी पनि त्यही भुमरीबाट गभर्नर बनेका हुन् । उनी पुनः गभर्नर बन्ने लबिङमा लागेको बुझिएको छ । उनको गभर्नर बन्ने रणनीति नयाँ बनेको सत्ता गठबन्धनले थप मलजल गरेको हो । उनकै ट्युनिङ मिल्ने व्यक्ति विष्णु पौडेल अर्थमन्त्री छन् भने ओली प्रधानमन्त्री छन् । यी दुवै व्यक्ति गभर्नर अधिकारीका लागि फराकिलो हात गर्ने व्यक्ति हुन् । गभर्नर अधिकारीले पदमा बस्दा कुनै राजनीतिक दलको गन्ध आफ्नो कार्यशैली र व्यवहारमा नदेखाए पनि उनी एमाले निकट हुन् भन्ने बुझाइ धेरैको छ । एकताका उनी एम अधिकारीको नामले पनि चर्चित पनि बने । अहिले ओली नेतृत्वको सत्ता गठबन्धनले उनलाई गभर्नरमा दोहोर्‍याउन सक्ने सम्भावना पनि देखिन्छ । किनकि उनले आफ्नो कार्यकालमा सन्तोषजनक काम पनि गरेका छन् । उसो त अहिलेको प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि राष्ट्र बैंकको नेतृत्व आफूले पाउनुपर्ने माग गर्न सक्छ । यसअघि नै कांग्रेस र माओवादी केन्द्रको गठबन्धन हुँदा कांग्रेस निकट केही व्यक्तिहरू गभर्नरको लबिङमा लागिसकेको बुझिएको थियो । त्यतिखेर हाल नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना गभर्नर बन्ने लबिङमा रहेको विषय बाहिरिएको थियो । ढुङ्गानाका दाजु आनन्द ढुङ्गाना नेपाली कांग्रेसका नेता हुन् । यदि नेपाली कांग्रेसले राष्ट्र बैंकको गभर्नरमा दाबी गरेमा माहोल पृथक बन्न सक्छ । किनकि नबिल बैंककै मुख्य लगानीकर्ता विनोद चौधरी र प्रधानमन्त्री ओलीको सम्बन्ध अहिले निकै राम्रो छ । ओली र चौधरीको अहिले नियमित भेटघाट हुने गरेको पनि स्रोत बताउँछ । त्यसैले पनि कांग्रेस निकटकै व्यक्ति राष्ट्र बैंकको जिम्मेवारी लिएमा चौधरी निकटको व्यक्तिले पाउन सक्ने अड्कलबाजी पनि बैंकिङ बजारमा हुुन थालेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटी अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक र मर्सी सिटि अस्पतालबीच समझदारी भएको छ । बैंक र बुटवलस्थित मर्सी सिटी अस्पतालबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी सिटी अस्पतालमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।