निओ मनि ट्रान्सफरको सेवा कुवेतबाट पनि सुरु

काठमाडौं । निओ मनि ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरूले सुरक्षित र सहजरूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरूको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ । हाल कुवेतमा हजारौँ नेपालीहरू आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन् । कुवेतमा रहेका नेपालीहरूले अब अल–एक्तसाद युनाइटेड एक्सचेन्जको १२ वटा शाखाबाट छिटो र प्रभावकारीरूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोबारहरू निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुने कम्पनीले जनाएको छ । साथै, नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभरि रहेका १५,००० भन्दा धेरै शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिनेछ । नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हामी अब अल–एक्तसाद युनाइटेड एक्सचेन्ज सँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरूको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच महासंघसँग आबद्ध घरेलु तथा साना उद्योगहरूलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पुर्‍याउने उद्देश्यसहित सझौता भएको छ । एक कार्यक्रमबीच भएको उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघका तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताबमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताका लागि सहकार्य गर्ने छ । महासंघकी अध्यक्ष शोभा ज्ञवालीले यस सम्झौता भएपछि महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई आर्थिक विकास गर्न र व्यवसायिक तथा वित्तीय साक्षारताको क्षेत्रमा थप टेवा पुग्ने कुरामा विश्वास व्यक्त गरिन् । साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

लघु बीमकलाई बाइपास गरेर वैदेशिक रोजगार बीमा पुल प्रणालीमा लैजाने तयारी

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई पुल प्रणालीमा लैजाने सहमति भएको छ । हिजाे आइतबार नेपाल बीमा प्राधिकरणमा भएको छलफलमा उक्त बीमालाई पुल प्रणालीमा लैजाने सहमति भएको हो । छलफलमा जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, संघका पदाधीकारी तथा जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  र प्राधिकरणका उच्चस्थ कर्मचारी उपस्थित थिए । वैदेशिक रोजगार बीमालाई पुलमा लैजाने विषयमा भएको उक्त छलफलमा लघु जीवन बीमा कम्पनीका सीईओहरूलाई बाइपास गरेको पाइएको छ । आइतबार १ बजे प्राधिकरणमा छलफल हुने पूर्वकार्यसूची थियो । प्राधिकरणमा १ बजे छलफल हुन्छ भन्ने कुरा जीवन बीमक संघका पदाधीकारीहरूलाई अघिल्लो दिन नै जानकनरी थियो । तर, लघु जीवन बीमकका सीईओहरूलाई भने जानकारी नदिएको स्रोतले बताएको छ। स्रोतका अनुसार दिउँसो १ बजो हुने कार्यक्रमक लागि लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारीलाई दिउँसो १२ बजेर ४५ मिनेटमा मात्र जानकारी दिइएको स्रोतले जनाएको छ । पूर्वनिर्धारित छलफल कार्यक्रममा कार्यक्रम सुरु हुनुभन्दा १५ मिनेट अगाडि मात्र जानकारी दिँदा जो कोही पनि सो कार्यक्रममा उपस्थित हुन नसक्ने अवस्था हुन्छ । लघु बीमकलाई बाइपस गर्न यसरी ढिला जानकारी दिइएको हुनसक्ने केही लघु बीमकका सीईओहरूले विकासन्युजलाई बताए । १२ बजेर ४५ मिनेटमा जीवन बीमक संघका एक पदाधीकारीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारीलाई फोन गरेर जानकारी दिइएको बुझिएको छ । यसबारे लघु बीमक रुष्ट भएको स्रोतले जनाएको छ । यस बारेमा जानकारी लिन खोज्दा जीवन बीमक संघका अध्यक्ष पौडेल भने बोल्न चाहेनन् । यता प्राधिकरणले भने सबैलाई समेटर अघि बढ्ने प्रयास भइरहेको जनाएको छ । पुलमा जानुपर्ने कारण ? वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय हात पार्न बीमा कम्पनीहरूले म्यानपावर कम्पनीहरुलाई ३० प्रतिशतसम्म कमिसन दिने गरेका थिए । प्रायः सबै कम्पनीहरूले यसरी कमिसन दिन थालेपछि बजार नै अस्वस्थय प्रातिस्पर्धामा धकेलिएको थियो । यति मात्र होइन कम्पनीहरुले कानुनविपरीत काम गर्न थालेका थिए । वैदेशिक रोजगार म्यादी जीवन बीमाको बीमाशुल्क ट्यारिफ रेटअनुसार निर्धारण हुन्छ । ट्यारिफ रेटलाई घटाएर वा बढाएर बेच्न नपाइने कानुनी प्रावधान रहेको छ । सोही कानुनी प्रावधानको खिल्ली उडाउँदै कम्पनीहरूले ३० देखि ५० प्रतिशतसम्म कमिसन म्यानपावर कम्पनीहरूलाई दिने गरेका थिए । सोही विकृति रोक्ने प्रयास प्राधिकरणले गरेको हो । जसको उत्तम विकल्प भनेको पुल प्रणली हो । अब बन्ने पुलको व्यवस्थापन बीमा प्राधिकरणले गर्ने जनाइएको छ ।