सहकारी ठगी प्रकरणमा बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

स्याङ्जा । सहकारी ठगी प्रकरणमा मुछिएका स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाको निवेदनका अनुसार जिल्ला अदालत स्याङ्जाले कुँवरसिहत तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति दिएको हो । भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् । उनीहरूविरुद्धको पक्राउ पुर्जीलाई स्याङ्जा प्रहरीले भने सामान्य अनुसन्धानका लागि बोलाउन लागिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गत साउन ११ गते सहकारीको बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको थियो । यस सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए । त्यसकै आधारमा पक्राउ परेका वाग्लेले नै गाउँपालिका अध्यक्षको नाम पोलेपछि उनलाई पनि अनुसन्धानमा बोलाउन लागिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

स्वावलम्बन विकास केन्द्रले मनायो ३३औं वार्षिकोत्सव

काठमाडौं । स्थानीय श्रोत, सीप, साधन र श्रमको समुचित प्रयोग गरी गरीब तथा विपन्न वर्ग र दूरदराजका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले एक समारोहका बीच ३३औँ वार्षिकोत्सव मनाएको छ । शताब्दी पुरुष तथा वरिष्ठ चिकित्सक डा. गौरीशंकर लाल दासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको सभापतित्व केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै डा. दासले लघुवित्त सेवा पछिल्लो समय सहर र धनीवर्ग केन्द्रित भएको आरोप लागेको सन्दर्भ उल्लेख गर्दै लघुवित्तलाई गरीब र विकट कर्णाली जस्तो दुरदराजमा पुगेर सेवा दिन आग्रह गरे । साथै, उनले सेवा भावले गरेको कार्यले पछिसम्म सन्तुष्टि दिने धारणा राख्दै आफ्नो प्रयासमा २०४८ सालताका स्थापना गरेका वीपी नेत्र प्रतिष्ठान, प्रौढ कल्याण संघ, पूर्वकर्मचारी सेवा परिषद् आदि जस्ता सेवामूलक संस्थाहले अहिले समाजमा निकै राम्रो काम गरेको कारण आफूलाई निकै सन्तुष्टि मिल्ने गरेको जानकारी दिए । सो अवसरमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तलाई सही बाटोमा हिँडाउन र सामाजिक रूपान्तरणको अस्त्रको रूपमा प्रभावकारी बनाउन स्वावलम्बन विकास केन्द्र लागि परेको उल्लेख गरे । यसका साथै पछिल्लो समय लघुवित्तलाई एउटा सामाजिक व्यवसायको अभियानका रूपमा अंगाल्न पहल गर्ने र धनी झन्झन् धनी बन्ने र गरीब झन् गरीब बन्ने अहिलेको अवस्थाको अन्त्य हुने गरी नयाँ सभ्यता विकासमा काम गर्न प्रेरित गर्न सुरुवात गरेको जानकारी दिए । सो अवसरमा उनले चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले पारित गरेको घोषणापत्रको अक्षरशः पालना गरे लघुवित्त पुरानै सुनौलो युगमा फर्कन सक्ने धारणा राखे । सो अवसरमा उनले केन्द्रको ३३ वर्षे यात्राका सहयात्री, सहकर्मी, सहयोगी र साझेदार संस्था तथा व्यक्तिहरुलाई आभार व्यक्त गरे । सो अवसरमा केन्द्रका उपाध्यक्ष महेन्द्रकुमार गिरीले केन्द्रको ३३ वर्षे यात्रा सस्मरण गरेका थिए । सो अवसरमा उनले सुरुका दिनमा कर्णालीका विकट जुम्ला, कालिकोट लगायतका जिल्लाबाट स्वावलम्बन सामुदायिक विकास कार्यक्रम सुरु गरेको, केही पछि पूर्वी तराई तीनवटा जील्लाबाट लघुवित्त कार्यक्रम सुरु गरेको र लघुवित्त कार्यक्रमको सबै दायित्व स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरी हाल केन्द्रले लघुवित्तको विकास र प्रवद्र्धनको लागि राष्ट्रिय सञ्जालको रूपमा काम गरी रहेको जानकारी दिए । समारोहमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाहीक विवरण पनि विमोचन गरिएको थियो । विसं.२०४८ साल साउन २८ मा स्थापना भई पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट सामुदायिक स्वावलम्बन विकास परियोजना सञ्चालन गरेर लघुवित्तको सुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुर जिल्लामा स्वावलम्बन बैकिङ कार्यक्रम सुरुवात गरेको थियो । विपन्न र पिछडिएका महिलाहरूमा वित्तीय पहुँच पुर्याउने उद्देश्यका साथ परीक्षणको रूपमा सुरु गरिएको यो कार्यक्रमको सफलतापछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । २०५१ सालमा सुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम २०५८ मा ८ जिल्लाका ३५ हजारभन्दा वढी सदस्य र २९ हजार ऋणी सदस्यहरु सहित स्वावलम्बन विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि.) प्रवद्र्धन गरी कर्जा सँगै सम्पति दायित्व एवं जनशक्ति हस्तान्तरण गरियो । यसको करिब एक दशकपछि थप १४ जिल्लाका ५८ हजार ४ सय ४१ सदस्य सहित जिन्सी, नगद तथा जनशक्ति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको थियो । केन्द्रको पहलमा विसं.२०४९ सालमा जुम्लामा ६१ वटा आत्मनिर्भर समूह गठन भएका थिए । त्यसपछि कालिकोट, दाङ, सल्यान र ओखलढुङ्गा जिल्लामा पनि कार्यक्रम विस्तार गरिएको थियो । लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेपछि केन्द्रले आफ्नो कार्यदिशा परिवर्तन गरेको हो । यसले लघुवित्त संस्थाहरूमा स्वच्छ लघुवित्त प्रवद्र्धन र शुद्धिकरणको लागि सक्षम र सकारात्मक जनशक्ति निर्माणमा लागेको छ । साथै, लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता तथा वित्तीय साक्षरता विकास गर्ने कार्यको पनि संयोजन गर्दै आएको छ । लघुवित्त तथा सहकारी संस्थाहरुसँगको सहकार्यमा केन्द्रले ‘स्वच्छ लघुवित्त निर्माणको अभियान, घरघरमा उद्यम फैलाउने अभियान, साथै स्वरोजगार सृजना गर्ने जस्ता अभियानहरु चलाउदै आएको छ । पछिल्लो समय उद्यमशीलता विकास अभियान, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास अभियान, सामाजिक व्यवसाय तथा युवा उद्यमशीलता विकास लगायतका अभियान पनि सुरु गरेको छ । हाल केन्द्रले गरीबी र बेरोजगारी सँगै वातावरण तथा जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ । यसका लागि लघुवित्त तथा सहकारी संस्थाहरू, विभिन्न स्कुल, कलेजहरू एवं अन्य साझेदार संस्थाहरू सँग सहकार्य गरी तीन शून्य क्लबको गठन तथा प्रवद्र्धन गर्ने, विद्यालयस्तरमा वातावरणीय शिक्षा प्रदान गर्ने जस्ता कार्यको पनि थालनी गरेको छ । साथै, बंगलादेशको यूनुस सेन्टर सँगको सहकार्यमा नेपालमा पनि सामाजिक व्यवसाय प्रवद्र्धनका लागि जनवकालत तथा पैरवी पनि गर्दै आएको छ ।

३१ प्रतिशतले बढ्यो नेपाल लाइफको खुद नाफा, यस्ता छन् अन्य सूचकहरू

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा करिब ३१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३०.८१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवमा ५१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो । ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुँक्ता पुँजी भएको कम्पनीले गत आवमा ४० अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको अन्त्यसम्ममा कम्पनीको दीर्घकालीन लगानी १ खर्ब ९१ अर्ब २७ करोड ६० लाख रुपैयाँ रहेको छ भने अल्पकालीन लागनी १४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२६ रुपैयाँ, पीई अनुपात ९८.८८ र प्रतिसेयर नेटवर्थ १२९.१८ रुपैयाँ रहेको छ । कम्पनीले पुनर्बीमाबापत ७३ करोड ९२ लाख रुपैयाँ, अभिकर्ता कमिसनबापत ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खर्चिएको छ ।