एनबी इन्सुरेन्सको व्यापार २२६ प्रतिशतले बढ्यो, नाफा पनि १३६ प्रतिशतले वृद्धि

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम ६ महिनामा उच्चदरको प्रगति हासिल गरेको छ । कम्पनीको पुस मसान्तसम्ममा ३३ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२६.२८ प्रतिशतले बढी भएको कम्पनीको सहायक महाप्रबन्धक शरण रेग्मीले जानकारी दिए । त्यस्तै कम्पनीको खुद नाफा १३७.२७ प्रतिशतले वृद्धि गरी ३ करोड १२ लाख  रुपैयाँ छ । कम्पनीको प्रति शेयर नेटवर्थ १०६.६७ पुगेको छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता ९०० रुपैयाँमा कारोबार भईराखेको छ । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । गत मंसिर १७ गते सम्पन्न कम्पनीको साधारणसभाले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गरि चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

’क्रेडिट क्रन्च’ समस्या वाणिज्य बैंकबाट विकास बैंकमा सर्यो, कर्जाको व्याज १७ प्रतिशतसम्म

काठमाडौं, माघयता समय ’ख’ वर्गका विकास बैंकमा समेत लगानी योग्य पुँजीको अभाव हुन थालेको छ । वाणिज्य बैंकहरूमा मंसिर देखिनै  यस्तो पुँजीको अभाव भए पनि विकास बैंकमा माघ पहिलो साताबाट असर देखिन थालेको विकास बैंक एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए । ‘५५ वटा विकास बैंकमा भएको पौने तीन खर्ब लगानीयोग्य पुँजी रित्तिएको छ,’ उनले भने ‘थप लगानी गर्न सक्ने अवस्थामा विकास बैंकहरू छैनन् । वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदा विकास बैंक र वित्त कम्पनीलाई चुनौती थपिएको छ ।’ वाणिज्य बैंकले नै विकास बैंक र वित्त कम्पनीको जति ब्याजदरमा निक्षेप लिन थालेपछि उनीहरूलाई कर्जा प्रवाह गर्ने रकमको अभाव हुन थालेको हो । ‘६ महिना अघि विकास बैंकले मुद्दती खातामा ६/७ प्रतिशत व्याज दिएका थिए । वाणिज्य बैंकले ५ प्रतिशतभन्दा कम दिएका थिए’ सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल भन्छन्–‘अहिले मुद्दती खातामा वाणिज्य बैंक र विकास बैंकले दिने व्याजदर समान छ ।’ यसैसाता देखि फाइनान्स कम्पनीहरुले मुद्दती खातामा १३ देखि १४ प्रतिशत व्याज दिन थालेपछि विकास बैंकहरुलाई व्याज बढाउन दवाव पर्न थालेको छ ।  गुडविल फाइनान्सले १३.५ प्रतिशत र प्राेगेसिभ फाइनान्सले १४ प्रतिशत व्याज दिएर निक्षेपक संकलन गरिरहेका छन्र । ४ महिनाअघिसम्म बचत खातामा पाँच प्रतिशत ब्याजदर दिँदै आएका विकास बैंकहरूले अहिले ब्याजदर वृद्धि गरेर ६ देखि ७ प्रतिशत व्याज दिन थालेका छन्  । एनसीसी बैंकले बचत खातामा ६ प्रतिशत व्याज दिने योजना ल्याएपछि एभरेष्ट बैंकले मुद्दती प्रकृतिको विशेषता राखेर ९ प्रतिशत व्याजमा बचत खाता योजना ल्याएको छ । बचत खाता भनिए पनि यो बैंकले ५ वर्षसम्म पैसा झिक्न नमिल्ने सर्त राखेको छ । अहिले विकास बैंकले कर्जा प्रवाह प्रडक्टअनुसार १३ देखि १६ प्रतिशतसम्म उपलब्ध गराइ रहेका छन् । पुराना ऋणीलाई पनि दुई प्रतिशसम्ममात्र ब्याजदर बढाएको लामिछानेले बताए । वित्त कम्पनी पनि अहिले लगानी गर्न सक्ने अवस्थामा छैनन् । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधार भन्छन्–‘फाइनान्स कम्पनीहरु सञ्चालनमा समस्या छैन, तर नयाँ कर्जा विस्तार गर्न फाइनान्स कम्पनीहरुसँग पनि लगानी योग्य पुँजी छैन ।’ वित्त कम्पनीले १४ प्रतिशतमा निक्षेप लिन थालेकोले उनीहरुले कर्जा प्रवाह गर्ने नयाँ कर्जाको व्याज १५ देखि १७ प्रतिशत पुगेको छ ।

सूर्या लाईफले ५ प्रतिशत बोनस सेयर दिने, बैंकले दिने व्याजभन्दा सेयरमा गरिएको लगानीको प्रतिफल ६० प्रतिशत कम

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ । माघ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ । बीमा समितिले स्वीकृत गरेपछि र साधारणसभाले अनुमोदन गरिपछि सेयरधनीले लाभांश पाउने छन् । जीवन बीमा कम्पनीहरु मध्ये कमजोर पर्फमेन्स देखाउँदै आएको यो कम्पनीले सेयरधनीलाई पनि थोरै लाभांश प्रस्ताव गरेको छ । यतिबेला सेयरधनीलाई ५ प्रतिशत लाभांश दिनु भनेको बैंकले दिने व्याजभन्दा ६० प्रतिशत कमप्रतिफल हो । पछिल्लो समय वाणिज्य बैंकहरुले मुद्दती खातामा बचतकर्तालाई १२ प्रतिशत व्याज दिइरहेका छन् भने वित्त कम्पनीहरुले १४ प्रतिशत व्याज दिएका छन् । यस कम्पनीको दोस्रो बजारमा सेयर किन्नेले रियल भ्यालुमा १ प्रतिशतभन्दा कम प्रतिफल पाउने भएका छन् । यस कम्पनीको सेयर पुँजी ६२ करोड ५० लाख रुपैयाँ छ । बजारमा प्रतिकित्ता ६१७ रुपैयाँमा सेयर कारोबार भईराखेको छ ।