एनबी इन्स्योरेन्स बन्यो आइएमई जनरल, रि-ब्राण्डिङ र आक्रामक बजार विस्तारको योजना

काठमाडौं । एनबी इन्स्योरेन्स अब आइएमई जनरल इन्स्योरेन्स कम्पनी बनेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत एनबीले आइएमई जनरल इन्स्योरेन्स कम्पनीका नामबाट कारोबार आरम्भ गरिएको घोषणा गरेको हो ।   ‘आजबाट एनबी इन्स्योरेन्सले विधिवत रुपले आइमएइ जनरल इन्स्योरेन्सका नामबाट कारोबार आरम्भ गरेको छ, तीन महिनासम्म रि-ब्राण्डिङ र आक्रामक बजार विस्तार गर्नेछौं’, आइमएइ समूहका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले भने । ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले ८० प्रतिशत हकप्रद जारी गरेर चालु आर्थिक बर्षमै ९५ करोड २० लाख चुक्ता पुँजी पुर्याउने र थप ५ प्रतिशत बोनस सेयर दिने योजना बनाएको छ । कम्पनीले असोज मसान्तसम्ममा २२ करोड प्रीमियम संकलन गरेर २ करोड ५५ लाख नाफा कमाएको छ । कम्पनीको जगेडा कोषमा २२ करोड रुपैंयाँ रहेको छ । कम्पनीले १८ वटा नयाँ शाखा थप्ने योजना अघि सारेको छ । हाल कम्पनीले २५ शाखा र १० वटा सेवा काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । १६६ जना कर्मचारीको संख्यालाई पनि बढाएर २५० जना पुर्याउने योजना बनाएको छ । १ अर्ब २० करोड प्रिमियम संकलन गरेर २० करोड नाफा कमाउने योजना अनुसार कम्पनीले बजारीकरण गरिरहेको जनाएको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. विगत बर्षमा झै यस वर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आयकर तर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा सो संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो । ललितपुरको आन्तरिक राजश्व कार्यालयले छैठौं राष्ट्रिय कर दिवस २०७४ को उपलक्ष्यमा सम्मान गरेको हो । संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरेका हुन् । यस संस्थाले २०७४ असोज मसान्तसम्म २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा २ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । सो अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद सेयर र गत आवको बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ ।

बीमा संस्थानमा प्रशासक बन्न ५ जनाको आवेदन

  काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक बन्न ५ जनाले दरखास्त दिएका छन् । प्रशासन हुन दरखास्त दिनेमा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापा रहेका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ताका लागि बोलाएको छ ।